बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीबीच यमनमा हवाई हमला, ७ बालबालिका र २ महिलाको मृत्यु

मङ्गलबार, ३० असार २०७७, ०९ : ५६
मङ्गलबार, ३० असार २०७७

उत्तरपश्चिम यमनमा भएको हवाई हमलामा ७ बालबालिका र दुई महिलाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ । यमनमा पछिल्लो समय भड्किएको द्वन्द्वले हजारौं सर्वसाधारणको ज्यान लिएको छ र ठूलो मानवीय संकट सिर्जना गरेको छ ।

साउदी अरेयिबा नेतृत्वको गठबन्धनले यस्तो आक्रमण रचेको हुथी विद्रोहीहरुले आरोप लगाएका छन् । आक्रमणमा २ वर्षका बालक समेत परेको उनीहरुले जनाएका छन् ।

यमनस्थित संयुक्त राष्ट्रसंघ मानवीय सहयोग कार्यालयले स्थलगत अध्ययनका क्रममा हिजाह प्रान्तमा ९ जनाको मृत्यु भएको देखिएको र  अन्य दुई बालबालिका तथा दुई महिला घाइते भेटिएको जनाएको छ ।

साउदी नेतृत्वको गठबन्धनले दुर्घटनावस् घटना निम्तिएको हुनसक्ने भन्दै यसबारे अध्ययन गरिने जनाएको छ ।  ‘हुथी विद्रोहीको भेलालाई लक्षित गरेर गरिएको अपरेशनका दौरान सर्वसाधारणको मृत्यु भएको संभावनाबारे जे कुरा उजागर भएको छ, यसबारे सबै दस्तावेज जोइन्ट इन्सिडेनट असिसमेन्ट टिम फर कन्सिडरेशनलाई हस्तान्तरण गरिएको छ,’ गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले भने ।

विद्यालय, अस्पताल, विवाह पार्टीलगायत सार्वजनिक क्षेत्र तथा कार्यक्रममा  हवाई हमला गरेर हजारौं मानिसको ज्यान लिएको भन्दै निरन्तर साउदीको आलोचना हुने गरेको छ । यमनमा कोरोना भाइरस महामारीका कारण चाडैं शान्ति कायम गर्नुपर्ने अवस्था छ, यहाँ पहिल्यैदेखि कमजोर अवस्थामा रहेको स्वास्थ प्रणाली थप कमजोर बनेको छ ।

साउदी गठबन्धनसहित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार र ईरान समर्थित (हुथी विद्रोही) बीच युद्धविराम गराउने प्रस्तावलाई संयुक्त राष्ट्रसंघले अघि बढाएको थियो, तर यो सफल हुन सकेन । ‘कोरोना महामारीको मध्यमा युद्धबिरामको प्रस्ताव टेबुलमा हुँदाहुँदै सर्वसाधारणहरु निरन्तर यमनमा मारिनु बुद्धिसम्मत छैन,’ लिसे ग्रान्डे, यमनका लागि मानविय संयोजकले भने ।

हुथी विद्रोहीले सान्ना र देशको उत्तरी क्षेत्रका अधिकांश भूभाग कब्जा गरेपछि २०१४ देखि द्वन्द्व सुरु भएको थियो । त्यसपछि अमेरिकाको समर्थनप्राप्त साउदी नेतृत्वको गठबन्धनले यहाँ हुथी विद्रोहीको कब्जामा रहेका भूभाग फिर्ता गरेर त्यहाँ अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारकै शासन चलाउनेगरी हस्तक्षेप गरे  । त्यसयता अहिलेसम्म जारी युद्धमा १ लाख १२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार अहिले यमनका २ करोड ४० लाख जनतामध्ये झन्डै ८० प्रतिशतलाई राहतको खाँचो छ । द्वन्द्व र कमजोर स्वास्थ प्रणालीका कारण यमनले पर्याप्त व्यक्तिमा कोरोना परीक्षण गर्न सकेको छैन । पछिल्लो आँकडाअनुसार यहाँ १४ सय ९८ जनामा कोरोना भेटिएकोमा ४ सय २४ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप