
तनहुँ पहिरो अपडेट– ७ जनाको मृत्यु, ५ बेपत्ता, ३ घाइते

तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिराले पुरिएर व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उहाँका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको निधन भएको छ । ऋषिङ–८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा र १९ वर्षीया मनिसरा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पहिराले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा, ऋषिङ–८ पल्ट्याङका २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा, व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन् ।
त्यस्तै पहिराले पुरिएर घाइते भएका ऋषिङ–८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा, व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ