मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका कारण तराई डुब्यो : गृहमन्त्री थापा

सोमबार, २९ असार २०७७, १५ : ४९
सोमबार, २९ असार २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका छन् । 

 सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था  तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताए । 

उनले भने, ‘भारतले एकतर्फी रुपमा बाँध बनाएको छ । बाँध बनाएपछि त्यसको निकास पनि दिनुपर्छ, उनीहरुले आफ्नो हितमा रहेर बाँध बनाएका छन् ।’

मन्त्री थापाले सरकारले निरन्तर पहल गरेपनि समस्या समाधानमा सार्थकता नदेखिएको बताए । भारतीय प्रधानमन्त्री नेपाल आएका बेला कार्यदल बनाए पनि उनीहरूले त्यसको कार्यान्वयन नगरेको उनको भनाइ छ । 
उनले नेपालको डुबान रोक्न भारतले निकास दिन आवश्यक रहेको बताए । 

यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले बाढीपहिरो र डुबान रोक्नका लागि सरकारले उपयुक्त नीति योजना बनाउन आवश्यक रहेको बताए । 

विपत्तिबाट आत्मरक्षा गर्ने नागरिकको पनि पूर्णदायित्व भएकाले यसतर्फ जनचेतना जगाउन पनि आवश्यक भएको उनले बताए ।  पहाडमा बाढी पहिरोबाट क्षति हुनुको मुख्य कारण अव्यवस्थित बसोबास रहेको उनको भनाइ छ ।  जोखिमयुक्त स्थानमा एकीकृत बस्ती बसाउन आवश्यक रहेको मन्त्री थापाले बताए । 

मन्त्री थापाले प्रकृतिको नियमलाई रोक्न नसक्ने बताउँदै मानवीय कारणबाट उत्पन्न विपत्तिबाट क्षति पुग्ने बताए । 

उनले भने, ‘भूकम्प आउँछ त्यसलाई रोक्न सकिँदैन तर भूकम्पप्रतिरोधी घर बनाउनुपर्छ । सरकारले यस किसिमको नीति बनाउन आवश्यक छ । हाम्रो अज्ञानताका र कमजोरीका कारण पनि प्राकृतिक विपत्तिबाट क्षति हुने गरेको छ । बाढीमा बगेको दाउरा लिन जाँदा बगाउँछ भन्ने अज्ञानताको कारण पनि क्षति हुने गरेको छ ।’ 

यस्तै अवैज्ञानिक विकास नीतिका कारण पनि प्राकृतिक विपत्ति निम्त्याउने गरेको उनले बताए  । 

मनसुन उच्च अवस्थामा पुग्ने भएकाले पहिरोको डर रहेको र कहाँ क्षति हुनसक्छ भन्ने बारेमा सरकारले अध्ययन गरिरहेको बताए ।  विपत व्यवस्थापनका लागि स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउने मन्त्री थापाको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप