शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेस्सीले आफ्नो करियर बार्सिलोनामा नै अन्त्य गर्नेछन्’

सोमबार, २९ असार २०७७, १२ : ५७
सोमबार, २९ असार २०७७

बार्सिलोनाका अध्यक्ष जोसे मारिया बार्टोमेउले क्लबका स्टार खेलाडी लियोनेल मेस्सीले आफ्नो करियर बार्सिलोनामा नै अन्त्य गर्ने आशा व्यक्त गरेका छन् । ३३ वर्षीय अर्जेन्टिनी खेलाडी क्लबसँग यो सिजनको अन्त्यसम्मका लागि मात्र अनुबन्धित छन् तर करार अवधि थप गर्ने बारे छलफल यतिबेला रोकिएको छ ।


मेस्सी आफू र क्लबको नेतृत्वसँग असन्तुष्ट रहेको समाचारहरु बाहिर आइरहेको बेला बार्टोमेउले खेलाडी र क्लबबीच भएको शुरुवाती छलफल सकारात्मक रहेको र मेस्सीले चाँडै करार सम्झौता थप गर्ने आशा व्यक्त गरेका हुन् ।  ‘हामीबीच छलफल भएको छ, त्यो जारी छ र यो जारी रहनेछ,’ उनले टीभी३ सँग कुराकानी गर्दै भने, ‘उनी यहाँ नै आफ्नो करियर अन्त्य गर्न चाहन्छन् । हामी अवश्य करार थप गर्नेछौँ । उनी यहाँ नै रहनेछन् भन्ने मलाई कुनै शंक छैन ।’

मेस्सीले हालसम्म यो सिजनमा उत्कृष्ट प्रदर्शंन गरिरहेका छन् । हालै मात्र उनी ला लिगाको एउटै सिजनमा २० वा सोभन्दा बढी गोल तथा एसिस्ट गर्ने पहिलो खेलाडी बनेका थिए । रियल भालाडोलिडविरुद्धको खेलपछि म्यानेजर क्वीके सेटिनले मेस्सीलाई अहिले आराम चाहेको स्वीकार गर्दै ला लिगाको उपाधि दौड अन्तिम चरणमा पुगिरहेको अवस्थामा मेस्सीलाई आराम भने दिन नसकिने बताए ।


सबै प्रतियोगितामा मेस्सीले २७ गोल गरेका छन् भने २५ वटा गोलको अवसर सिर्जना गरेका छन् । एकपछि अर्को कीर्तिमान भंग गरिरहेका मेस्सीले सन् २०२५ सम्म सक्रिय रुपमा फुटबल खेलिरहने लुइस गार्सियाले बताएका थिए ।

स्रोतः गोल डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप