मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युएईबाट पहिलो चरणमा ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किए

सोमबार, २९ असार २०७७, १२ : ३६
सोमबार, २९ असार २०७७

युएई । कोरोनाका कारण युएईमा समस्यामा परेका मध्य ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किएका छन्।

युएईस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा विभिन्न एयरलाइन्सको ३५ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्।

कोरोना भाइरस (कोभिड-१९) कारण विदेशमा अलपत्र परेका  नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो।
गत जुन १९ देखि जुलाई १२ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज,एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।
सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा पोहिलो चरणमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका,बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु हुन्।

यसैगरी युएईस्थित नेपाली दूतावासले नेपाल फर्कने ३८ हजार ९ सय ९१ जनाको एकीकृत नामावली सार्वजनिक गरेको छ।

दूतावासका अनुसार गत २८ अप्रिलदेखि खुल्ला गरिएको नेपालीहरुको विवरण संकलन फारम जुलाई १० सम्म ३७ हजार २ सय ३० जनाले भरेका जनाएको छ भने कसैले दूतावासमानै उपस्थित भई फारम भरेका थिए।सोही फारम अनुसार जुलाई १० सम्मको नामावाली सार्वजनिक गरिएको हो।

यसअघि पनि दूतावासले दुई चरणमा नामावली सार्वजनिक गरेको थियो । दूतावासले ४ सय १० जनालाई पहिलो प्राथममिकतामा राखेर १४ हजार १ सय १० जनाको नामावली यसअघि नै सार्वजनिक गरेको थियो ।

चार महिनामा युएईमा ८९ जनाको मृत्यु
गएको चार महिनामा युएईमा विभिन्न कारणले ८९ जना नेपालीको ज्यान गएको नेपाली दूतावासले आबुधावीले जनाएको छ।मार्च महिनाको अन्तिम सातादेखि जुलाई पहिलो सातासम्म (लकडाउन अवधिभर) युएईमा ८९ जना नेपालीको ज्यान गएको हो।त्यसमध्ये २९ जनाको कोरोनाका कारण ज्यान गएको हो।कोरोनाका कारण ज्यान गुमाउनेमध्ये १ जना महिला र बाँकी २८ जना पुरुष रहेका छन् ।

ज्यान गुमाएका मध्य ४२ जनाको अन्त्येष्टि युएईमा नै गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको छ।युएईमा नै अन्त्येष्टिका लागि नो अब्जेक्सन जारी गरेका ४२ जना कोरोनाबाहेक अन्य बिबिध कारणले ज्यान गुमाएका हुन्।

त्यस्तै कोरोनाको कारण ज्यान गुमाउने २९ जनाको पनि अन्त्येष्टि भइसकेको छ।बाँकी १८ जनामध्ये ११ जनाको शव नेपाल पठाइएको र बाँकी ७ जनाको शव अझै पनि  युएईकै विभिन्न अस्पतालको शवगृहमा राखिएको दूतावासले जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप