बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लिलाको इहलीला : श्रीमानको प्रहारले टाउकोमा २० टाँका, दाहिने भाग प्यारालाइसिस, बोली गुम्यो

सोमबार, २९ असार २०७७, ०९ : ३९
सोमबार, २९ असार २०७७

असार । मुरी भित्र्याउने आशामा मानो रोप्ने महिना । स्वाभाविक हो, असारको महिना किसानलाई रोपाईंको चटारो हुन्छ । असार १३ गते शनिबार नेपालगञ्जको खजुरा गाविस वडा नम्बर – ३ धौलागिरी गाउँ निवासी ४० वर्षीया लिला बुढाथोकी (मगर) पनि रोपाईंका लागि धानको बिउ उखेल्न गएकी थिइन् । त्यही मानो रोपेर मुरी भित्र्याउने आशामा कर्म गरिरहेकी उनलाई केही घण्टापछि आफू जीवन–मरणको दोसाँधमा पु¥याइदिने हमला हुन्छ भन्ने छनक नै थिएन । अन्यथा उनी श्रीमान् चेतबहादुर थापाले ‘सानो काम छ, घर आइजो’ भनेर बोलाउँदा गरिराखेको काम छोडेर किन जान्थिन् होला र ? 

दिउँसो करिब २ बजे । श्रीमती घरमा आउने बित्तिकै चेतबहादुरले तथानाम गालीगलौज गर्न थाले । लिला केही नबोली टाउको दुख्यो भनेर सुत्न खोजिन् । रिसले रन्थनिएका चेतबहादुरले काठ चिर्दा प्रयोग गर्ने बसुलाले श्रीमतीको टाउकोमा दुई पटक प्रहार गरे र आत्महत्या गर्छु भन्दै अर्को कोठामा गए ।

आमा रगतले लत्पत्तिएको देखेपछि छोरी आत्तिइन् र चिच्याइन् । खेतमा काम गरिरहेका अन्य व्यक्तिले सुने र तत्काल पुगे । सानो डोरीको सहारामा झुण्डिन प्रयास गरिरहेका चेतबहादुरलाई जोगाउनतिर कोही लागे भने कोही रगतको आहालमा भएकी लिलापट्टी लागे । 

लिलालाई मोटरसाइकलमा राखेर खजुराको एउटा मेडिकल लगियो । सामान्य उपचारपछि एम्बुलेन्स बोलाएर नेपालगञ्जको भेरी अस्पताल पु-याइयो । भेरी अस्पतालमा आइसीयू खाली थिएन । तसर्थ कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज रिफर गरियो । भोलिपल्ट अर्थात् १४ असारमा लिलाको शल्यक्रिया गरियो । टाउकोमा २० टाँका लगाइए ।

लिलाले २१ वर्ष अघि चेतबहादुरसँग प्रेम विवाह गरेकी थिइन् । सुरुमा त सम्बन्ध सुमधुर रह्यो । विवाह गरेको एक वर्षपछि छोरा जन्मिए । त्यसको चार वर्षपछि छोरी जन्मिइन् । छोरी जन्मिएपछि नै हो, लिलामाथिको घरेलु हिंसा अरुले पनि देख्न थालेको ।

श्रीमानको व्यवहारले आजित बनेकी लिलाले सुरुसुरुमा छोराछोरी सानै छन् भनेर श्रीमानसँग छुट्टिने आँट गरिनन् । त्यसैले चुप लागेरै घरेलु हिंसा सहिन् । खजुरा ३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, खजुरामा शिक्षिकाको रुपमा कार्यरत उनलाई आफ्नै श्रीमानले सोही स्कुलका शिक्षकसँग हिमचिम गरेको आरोपमा पछिल्लो समय शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए ।

करिब एक वर्षअघि दोस्रो विवाह गरेका श्रीमान्ले कहिले कुट्न नछोडेका कारण उनीविरुद्ध लिलाले घरेलु हिंसाको मुद्दा दर्ता गरेकी थिइन् करिब ६–७ महिनाअघि ।  प्रहरीले पक्राउ गर्छन् भनेर लिलाका श्रीमान् कान्छी श्रीमती लिएर गाउँबाट भागेका थिए । त्यसको एक महिनापछि उनी एक्लै गाउँ फर्किए । त्यतिबेला घरमा छिर्नेबित्तिकै ‘स्कूलको शिक्षकसँग लागिस् ?, किन मुद्दा हालिस् ? ’ भनेर कुटपिट गर्दै मोबाइलसमेत फुटाइदिएका थिए ।

यसबारे प्रहरीलाई जानकारी दिइयो । प्रहरीले उनलाई पक्राउ गर्यो ।  सोधपुछ गर्दै गर्दा चेतबहादुर ढले । प्रहरीले तत्काल अस्पताल लान सुझायो । चेतबहादुरका आफन्तले लिलालाई मुद्दा नहाल्न आग्रह गरे । त्यसपछि उनी पुनः गाउँबाट हराए । लकडाउन हुनु दुईचार दिन अघिमात्रै उनी घरमा आएका थिए ।

असार १३ गतेको घटनापछि प्रहरीले चेतबहादुरलाई पक्राउ गरेको छ । श्रीमती आफैंले पढाउने स्कूलको शिक्षकसँग लागेको हुँदा सम्झाउने क्रममा नमानेको र रिसको झोंकमा प्रहार गरेको उनले प्रहरीसमक्ष बताएका छन् । बात लगाइएका ती शिक्षकले आत्महत्या गरेका छन् ।   

लिला अहिले खतरामुक्त छिन् । तर अब उनको शरीरको दाहिने पाटो चल्दैन, अर्थात् प्यारालाइसिस भएको छ । बोली गुमेको छ । घरको आर्थिक स्थिति नाजुक छ । अहिलेसम्म साढे दुई लाख बढी खर्च भइसक्यो । तीमध्ये केही रकम आफन्तले सहयोग गरेका छन् ।

उनको परिवारले सहयोगका लागि अपिल समेत गरेका छन् । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक पुतलीसडक शाखाको खाता नम्बर ०१२०५०८०३७९२३६ मार्फत सहयोग पनि गर्न सक्नुहुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप