मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

क्लिन फिड नीति साउन १ गतेदेखि नै लागू गर्न माग

आइतबार, २८ असार २०७७, २१ : २८
आइतबार, २८ असार २०७७

सरोकारवाला सङ्घसंस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन सङ्घ, ब्रोडकाष्टिङ एसोशिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घले आज सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै देश र जनताका हितमा रहेको सो नीति विलम्ब नगरी कार्यान्वयन गर्न माग गरेका हुन् ।
 
धेरै वर्षदेखि नेपाली मिडियाले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०७३ साउन ७ गतेकोे बैठकद्वारा नेपालमा वितरण भइरहेका विदेशी टिभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । वर्तमान सरकार बनेपछि विज्ञापनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने स्पष्ट कानूनी व्यवस्था गरेकामा ती सङ्घसंस्थाले स्वागत गरेका थिए ।

विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रसारण, वितरण हुने विदेशी टिभी च्यानल पूर्णरुपमा विज्ञापनरहित हुनुपर्दछ भन्ने हो । स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवद्र्धन गर्नुका साथै परनिर्भरतालाई समेत कम गर्न सघाउ पु¥याउने भनेर आफूहरुले बारम्बार पैरवी गर्दै र नीति लागू गर्न माग गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ । 
 
केही समययता नेपालले आफ्नो परिमार्जित नक्सा जारी गरेपछि केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर कपोलकल्पित र भ्रामक समाचार  प्रसारित गरेको कार्यलाई समेत धेरै हदसम्म रोक्नका लागि पनि सो नीति नयाँ आर्थिक वर्षदेखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने उक्त संस्थाको ठहर छ । विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेकोे आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम पनि भएको ज्ञापनपत्रमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप