बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्लग : सागर आलेलाई रोल्पाली फ्यानको भावुक पत्र

आइतबार, २५ भदौ २०७४, १० : ४३
आइतबार, २५ भदौ २०७४

प्रिय सागर,
तिमी सागर हैनौँ महासागर हौ । अब तिमीले नेपाली म्युजिक इन्डस्ट्रीमा यस्तो सुनामी ल्याउनु जसले संसारै हल्लाओस् अनि दुनियाँ तिम्रो औँलामा नाचोस् । तिमी नेपाल आइडलको स्टेज छोडेर गए पनि तिमी सदा–सर्वदा मेरो मनको स्टेजमा नाचिरहने छौँ, गाइरहने छौँ ।

हिजो स्टेजबाट तिमी बाहिरिएपछि मैले आफ्नो सेल्फलाई कन्ट्रोल गर्न सकिन अनि म धेरै रोएको हुँ । तिम्रो आवाजको गुन्जायमानले झन् म पग्लिएको हुँ । तिम्रो कला र गलाको सम्मान नभएको जस्तो अनुभूति गरेर मनमनै खुबै गाली गरेको हुँ नेपाल आइडलका टिमलाई तर केही सीप लागेन । तिम्रो कला र गलासँगै तिम्रो जातले तिमीलाई पाखा लगाएको जस्तो अनुभूति पनि भयो मलाई । हुन त हामी सतीले सरापेका देशका नागरिक हौँ । यो खासै ठूलो कुरा हैन, तर मेरा लागि भने आकाश खसेको जस्तै भयो, पृथ्वी भासिए जस्तै भयो अनि मन खिन्न भयो ।

सागर, यहाँ तिमीलाई हराउन अनेक प्रपञ्च रचे । कहिले तिम्रो कला र गलाको पछाडि राजनीति बिल्ला भिराइदिए त कहिले तिम्रो जातसँग जातीयताको उपद्रो गरे । जे–जे उनीहरूले चाहे आखिर त्यो पूरा गरेरै छोडे । म भन्छु तिमी हारेका हैनौँ, हराइएका हौ । अनेक लाञ्छनाको बीचबाट आफू निखारिँदै तिखारिँदै जानू । तिम्रो कला र गलासँगै राजनीति यात्रा देख्ने अनि जातीयताको बिल्ला चढाएर उपद्रो गर्नेहरूको कहिल्यै भलो नहोस् ।

मलाई लाग्छ, अहिलेका तिम्रो जजहरू पनि जिन्दगीमा धेरै चोटि असफल भएका होलान् । यसको ज्वलन्त उदाहरण महिला जज हुनुहुन्छ । तिमी पनि जिन्दगीमा यसरी नै सङ्घर्ष गर अनि बन्नु पूरै विश्वको जज नै । मैले यति लेखिरहँदा मेरो आँखा रसाइरहेकोछ । परेली भिजिरहेको छ, अनि मन फुट्लाझै गरी दुखिरहेको छ । मलाई नै यति गाह्रो भएपछि तिमीलाई त्यहाँ गाह्रो नहुने कुरै भएन । तिम्रो दुःखमा म मात्रै हैन, तिम्रा हजारौँ हजार समर्थक हरू दुखी छौँ ।

मलाई यस्तो लाग्छ, तिमीबिनाको नेपाल आइडलका आगामी एपिसोडहरू पक्कै नुनबिनाको तरकारी जस्तै हुनेछन् । जो खाए पनि केही स्वादै हुँदैन अनि तिमीबिनाको नेपाल आइडल हेरे पनि नहेरे पनि केही महत्व हँुदैन मलाई । त्यसैले तिमी नेपाल आइडलबाट आउट भएर नेपाल आइडलको मन्च र स्टेज नछोड्दै मैले आफ्नो मोबाइलबाट नेपाल आइडलको एप्स नै हटाइदिएँ ।

तिम्रो शुभचिन्तक 
के पुन मगर ‘रोल्पा’
हाल : दुबई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप