शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भानुजयन्तीमा सार्वजनिक बिदा

आइतबार, २८ असार २०७७, २१ : २०
आइतबार, २८ असार २०७७

तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा सोमबार (असार २९ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले गत वर्षदेखि भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले बताए । भानुजयन्तीका अवसरमा नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, वडा कार्यालय बन्द रहनेछन् । 
    
भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिने प्रचलन शुरु गरिएको नगरपालिकाले जनाएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । 

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप