बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एउटा बेनामी उजुरी जसले खोल्यो गैरकानुनी मिर्गौला प्रत्यारोपणको र्‍याकेटको पोल

डाक्टर र जनप्रतिनिधिदेखि बहालवाला प्रहरीसम्म पक्राउ
आइतबार, २८ असार २०७७, १९ : १४
आइतबार, २८ असार २०७७

काठमाडौँ । प्रहरीमा परेको एउटा बेनामी उजुरीको मद्दतले गैरकानुनीरुपमा गरिने मिर्गौला प्रत्यारोपण गर्ने र्‍याकेटको पोल खुलेको छ । गत कार्तिक ३ गते परेको सो उजुरीकै आधारमा चितवनस्थित कलेज अफ मेडिकल साइन्स (सीएमएस) मा नक्कली कागजात खडा गरी विदेशमा रहेको व्यक्तिको विवरण प्रयोग गरेर तेस्रो मानिसको मिर्गौला झिकी प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

मानव बेचविखन अनुसन्धान व्यूरोका अनुसार पक्राउ पर्नेमा डाक्टरदेखि बहालवाला प्रहरीसम्म रहेका छन् । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदाफा–१ (ग) को कसुर गरेको देखिएकोले सोही ऐन बमोजिम पक्राउ गरेर हिरासतमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कलेज अफ मेडिकल साइन्सेस टिचिङ हस्पिटल भरतपुरका प्रमुख सञ्चालक ५५ वर्षीय डा. सुप्रभात श्रेष्ठ, सोही अस्पतालमा कार्यरत ५० वर्षीय डा. बालकृष्ण कालाखेती, नोबेल अस्पतालका ६५ वर्षीय डा. राकेश कुमार वर्मा र अस्पतालका कानुनी सल्लाहकार ४० वर्षीय रमेश काफ्ले रहेका छन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनमा प्रकासकीय अधिकृतमा कार्यरत ५४ वर्षीय रामचन्द्र ढकाल, काठमाडौँको टोखा नगरपालिका ३ निवासी प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, काठमाडौँ महानगरपालिका ३ रानीवारी बस्ने निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया, भक्तपुर निवासी रेश्मा राई, सोही जिल्ला निवासी जमुना राज भण्डारी, ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ५७ वर्षीय गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तात्कालिन खरिदार (हाल अवकाश प्राप्त) ५८ वर्षीय नवराज केसी र कार्यालयका सहायक रामकुमार केसी रहेका छन् ।

यस्तो छ घटना विवरण

५५ वर्षीय एक पुरुषलाई प्रत्यारोपणका लागि मिर्गौला आवश्यक पर्छ । उनले मिर्गौलाका लागि आफन्तहरुसँग सोधखोज गर्छन् । सोधपुछकै क्रममा नाताले दिदी पर्ने जमुना राज भण्डारीलाई उनको साथी रेश्मा राईले अहिले पैसा तिरेर सेटिङ मिलाएर अन्य व्यक्तिको पनि मिर्गौला पाउन सकिने कुरा सुनाउँछिन् । जमुनाले पनि बिरामीलाई त्यो अफर सुनाउँछिन् । यता, आफन्त कतैबाट पनि मिर्गौला दान गर्ने व्यक्ति नपाएपछि उनी पनि नक्कली व्यक्ति खडा गरेर मिर्गौला प्रत्यारोपण गर्न तयार हुन्छन् ।

यसमा मध्यस्तता गरेकी रेश्माले पहिले खोटाङ घर भएका २७ वर्षीय पुरुषलाई डोनरको रुपमा तयार गर्छिन् । अािर्थक अवस्था कमजोर भएका उनलाई १० लाख रकम दिने प्रलोभन देखिाइन्छ । रेश्माले नै निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया र प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनालसँग मिलेर बाँकी सेटिङ गराउँछिन् । थपलिया यसअघि पनि गैरकानुनी मिर्गौला प्रत्यारोपरणमा परेर कारवाहीमा परेका व्यक्ति हुन् । उनी आफै पनि मिर्गौलाको बिरामी हुन् ।

थपलियाले नक्कली कागजात मिलाउने काम गर्छन् भने खनालले मानव अंग प्रत्यारोपण केन्द्रमा पनि कार्यरत डा. राकेश कुमार वर्मासँग प्रत्यारोपणको सेटिङ मिलाउँछन् । डा. वर्माले नै यो काठमाडौँ सम्भव नहुने र यसलाई चितवनमा गर्न सुझाव दिन्छन् ।

यता, बिरामीको अस्ट्रेलियामा रहेको भाञ्जा नाता पर्ने व्यक्तिको नाममा सक्कल तस्विर राखेर सबै दस्तावेजहरु तयार गरिन्छ । तर, अस्पतालमा बुझाउने बेलामा भने नक्कली फोटो टाँसेर रंगिन फोटोकपी गरेर बुझाइन्छ । नियमअनुसार सक्कल कागजात बुझ्नुपर्नेमा अस्पतालले फोटोकपीलाई नै मान्यता दिन्छ ।

२०७६ जेठ २२ गते बिरामीलाई अस्पतालमा भर्ना गरिन्छ र ५ दिनपछि उनको मिर्गौला प्रत्यारोपण गरिन्छ । यहाँ अस्पतालको बोर्डले निर्णय गर्नुभन्दा अघि नै बिरामीलाई प्रत्यारोपणमा अस्पतालमा भर्ना गरेको पाइएको छ । जबकि बिरामी भर्ना भएपछि मात्र उनको कागजातलाई रुजु गर्नका लागि वडा र प्रशासन कार्यालय पठाएको देखिन्छ । यता, फोटो परिवर्तन गरिएको कागजातलाई दुवै कार्यालयले नियतवस सक्कल भनी प्रमाणित गरेको र सक्कल कागजातलाई नै गायब पारेको पाइएको छ ।

बिरामीको आर्थिक हैसियत राम्रै रहेको र यसका लागि उनले करिब २८ लाख रुपैयाँ खर्च गरेको प्रहरीको भनाइ छ । यसमा थपलियाले १० लाख लिएको र बाँकी रकम कसले कति लिए भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मिर्गौला दान गर्ने व्यक्तिलाई १० लाख रुपैयाँ दिने आश्वसन दिए पनि उनले अहिलेसम्म दुई लाख रुपैयाँ मात्र प्राप्त गरेको प्रहरीले जनाएको छ ।

मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई स्वास्थ्य स्थितिका कारण पक्राउ नगरिएको तर प्रहरीको निगरानीमा रहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक गोविन्द थपलियाले रातोपाटीलाई बताए । यसरी १२ जनाको नियोजित मिलेमतोमा मिर्गौला प्रत्यारोपण भएको प्रहरीको निष्कर्ष छ ।

थपलियाका अनुसार मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदाफा–१ (ग) को कसुर भएकाले सोही अनुसार कानुन बमोजिम अनुसन्धान हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप