बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्षाका कारण अधिकाँश ठुला राजमार्ग अवरुद्ध

आइतबार, २८ असार २०७७, १९ : ००
आइतबार, २८ असार २०७७

काठमाडौं । नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । 

अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका छन् । यीमध्ये अधिकांश सडक गत बिहीबारदेखि परेको नियमित वर्षाका कारण अवरुद्ध बनेका थिए । अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करिब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको छ । सो सडक खुल्न कम्तीमा १० दिन लाग्नसक्ने अनुमान गरिएको छ । 

त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको छ । खग्दोल पुलमा माथिबाट आएको पहिराका कारण अवरुद्ध भएको छ । बिहीबार बिहान अवरुद्ध सडक र पुल खुल्न अझै कति दिन लाग्छ भनी यकिन गरिएको छैन । डिभिजन सडक कार्यालय चरिकोटले सो सडकको निरीक्षण गर्न नसकिएको जनाएको छ । 

सोही राजमार्गमा जम्बुस्थित ६० मिटर सडक वर्षाले बगाएको छ भने झ्यालेमा पुल बगाएको छ । चाकुमा १८० मिटर सडक पहिराका कारण अवरुद्ध भएको र डाक्लाङ्गस्थित सडक पहिराका कारण अवरुद्ध रहेको विभागले जानकारी दिएको छ । 

बेनी जोमसोम कोरोला सडकमा म्याग्दीको दाना र गलेश्वर सडक पनि वर्षाका कारण अवरुद्ध भएको छ । सो सडकमा माथिबाट आएको पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको थियो । साँफेबगर–मार्तडी सडकको अम्कोट द्वारी खण्डमा बूढीगङ्गा नदीको बहाव बढ्दा पाँच सय मिटर सडक क्षतिग्रस्त बनेको थियो । अछामको साँफेबगर–मार्तडी सडक बिहीबारदेखि बूढीगङ्गा नदीको बहावका कारण ५०० मिटर सडकमा क्षति पुगेको थियो । बिहीबारदेखि अवरुद्ध सडक खुलाउन नसकिएको विभागले जनाएको छ । 

विभिन्न स्थानका सडक आंशिकरुपमा सञ्चालनमा आएका छन् । महेन्द्र राजमार्गस्थित बाँके भन्सार सडकखण्डमा चपुरदेखि तीन किमी पूर्वजुडवेला कजवेमा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि अवरुद्ध सडक आज आंशिकरुपमा खुलाइएको छ । सो सडक पूर्णरुपमा खुलाउन कति दिन लाग्छ भनी वर्षामा निर्भर रहने पनि विभागले जनाएको छ । बिपी राजमार्गको नै कमेरेफाँटमा सडक पहिराका कारण अवरुद्ध छ । सो सडकमा रहेको केही पहिरो हटाएर आंशिकरुपमा सञ्चालनमा ल्याइएको छ भने व्याकहोल्डर र टिपरले पहिरो हटाउने काम भइरहेको छ । 

त्यस्तै, कोशी राजमार्गको भेडेटार मूलघाट खण्डमा पनि गर्जुवा खोलामा बाढी आउँदा सडक अवरुद्ध थियो । हाल सो सडक आंशिकरुपमा सञ्चालनमा छ । चन्द्रनिगाहपुर गौर सडकमा निरन्तरत वर्षाका कारण अत्यधिक पानीको बहावले गर्दा सडक अवरुद्ध सडक हाल आंशिकरुपमा सञ्चालनमा छ । विभागले यसअघि अवरुद्ध विभिन्न सडक भने खुलाइसकेको छ । कणाली राजमार्गको राचुली क्षेत्रमा सडक हाल सञ्चालन छ । 

त्यस्तै डिभजन सडक कार्यालय तुम्लिङटारले विभिन्न स्थानमा अवरुद्ध सडक खुलाइसकेको छ । डिभिजन सडक कार्यालय कास्कीले पोखरा भ्यूपोइन्ट नजकै दुई ठाउँमा अवरुद्ध सडक खुलाइसकेको छ । महेन्द्र राजमार्गको नवलपरासीको गैँडाकोट र थुन्सी सडक अवरुद्ध छ । नारायणी पुलबाट छ किमी बुटवलतर्फ डाभर्सन नदीको बाढीले बगाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप