बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डबीचको टक्करले अनिश्चित बन्दै स्थायी कमिटी बैठक

आइतबार, २८ असार २०७७, १४ : ४४
आइतबार, २८ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अन्योलमा परेको छ । साउन २ गते बस्ने गरी स्थगित बैठक उक्त मितिमा पनि बस्छ भन्ने ग्यारेन्टी नदेखिएको हो । पार्टीभित्र देखिएका विवादका बारेमा दुई अध्यक्षबीच एकमुष्ठ सहमति खोजेर स्थायी कमिटी बैठकमा राख्ने गरी एक साताका लगि बैठक स्थगित गरिएको भए पनि यसबीच दुई अध्यक्षबीच छलफल नै हुन नसेकेका कारण घोषित मितिमा बैठक बस्नेमा आशंका बढेको हो ।

देशमा आएको बाढी पहिरोको कारण देखाउँदै बैठक स्थगित गरिएको भए पनि नेकपाका अधिकांश स्थायी कमिटी सदस्यहरु काठमाडौं मै छन् । बाढी पहिरोबाट पीडितको उद्धार तथा राहतमा खटिन नेकपा केन्द्रीय कार्यालयले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको थियो । 

तर पार्टीको शीर्ष नेतामध्ये नेकपाका अध्यक्ष प्रचण्डमात्र आफ्नो चुनावी क्षेत्र चितवन गए, अरु अधिकांश नेताहरु काठमाडौं बाहिर गएका छैनन् । एक दर्जनभन्दा बढी जिल्ला अहिले बाढी–पहिरोबाट प्रभावित छन् । तर पार्टीका सबैजसो नेताहरु काठमाडौंमै छन् । साउन २ गतेसम्मका लागि बैठक सार्नका लागि बाढी–पहिरोको प्रकोपलाई एउटा बाहनामात्र बनाइएको तथ्य यसबाट पनि प्रष्ट हुन्छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच कुरा नमिलेका कारण सहमति खोज्नका लागि एक सप्ताह समय लिएको हो भन्ने बुझ्न कठिन छैन । 

अध्यक्षद्वयबीच कुरा मिलेपछि मात्र स्थायी कमिटीको बैठक बस्ने सहमति भएको छ । तर दुईजना अध्यक्षको बीचमा पटक पटक वार्ता भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । दुवै अध्यक्ष आ–आफ्नो अडानमै छन् । अध्यक्ष प्रचण्ड निकट एकजना स्थायी कमिटी सदस्यले भने, ‘स्थायी कमिटीबाट प्रधानमन्त्री ओली पन्छिरहनु भएको छ । उहाँले नै भनेर साउन २ गतेसम्मका लागि बैठक सारिएको हो ।’

दुईजना अध्यक्षको बीचमा कुरा नमिल्दा पटक पटक बैठक सर्दै आएको छ । स्रोतका अनुसार बैठक पटक पटक सार्दा गलत सन्देश जाने भएकाले एक हप्ताको समय लिएर दुई अध्यक्षबीच वार्ता र छलफल गर्ने सहमतिअनुसार नै साउन २ गतेसम्मका लागि बैठक सारिएको हो । तर बैठक सारिए यता दुई अध्यक्षको बीचमा छलफल नै भएको छैन । दुईजना अध्यक्षको बीचमा वार्ताको वातावरण नबनेकै कारण अध्यक्ष प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न चितवन पुगे । 

दुई अध्यक्षबीचको वार्ता छाडेर प्रचण्ड चितवन पुगे भन्ने चर्चा पनि नचलेको होइन । तर प्रचण्डले आफू प्रधानमन्त्री ओलीलाई सोधेरै आएको प्रतिकृया दिएका छन् । पछिल्ला दुई दिन प्रचण्डले पार्टीभित्रको विवादबारे पनि टिप्पणी गरेका छन् । उनले पटक पटक टिप्पणी गरे पनि ‘वार्ता सकारात्मक भएको छ’ भनेर कहीँ भन्न सकेका छैनन् । बरु उनले देश र पार्टीलाई दुर्घटनामा जान नदिनका लागि आफूले अन्तिम समयसम्म प्रयास गर्ने धारणा राखे । उनले लहडमा समर्थन र विरोधमा नहिँड्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अहिले देशैभरी प्रधानमन्त्री ओलीको समर्थनमा नारा जुलुस भइरहेको छ । तर यस्ता गतिविधिले पार्टीभित्र एकता कमजोर हुने भएर नै प्रचण्डले कार्यकर्तालाई कसैको समर्थन र विरोधमा उत्रिन जरुरी नरहेको बताएका हुन् । ‘केही समस्या भए हामी बसेर मिलाउँछौ, तपाईहरु पार्टीको विधि र विधानबाहेक केही नगर्नुस्,’ उनले कार्यकर्तालाई भन्ने गरेका छन् ।

पार्टीभित्र देखिएको विवादका सन्दर्भमा दुवै अध्यक्ष आआफ्नै अडानमा छन् । अध्यक्ष वा प्रधानमन्त्री पदमध्ये एउटाबाट ओलीले राजीनामा दिनैपर्ने प्रचण्डको अडान छ । प्रधानमन्त्री ओलीले अहिले कुनै पनि पदबाट राजीनामा नदिने बरु पार्टीको कार्यविभाजनमा कहाँ कसरी संशोधन गर्न सकिन्छ, त्यो गर्न आफू तयार रहेको बताएका छन् । 

अध्यक्ष प्रचण्ड अझै दुई दिन काठमाडौं नफर्किने अवस्थामा छन् । प्रचण्डको सचिवालयका अनुसार उनी असार ३० या ३१ गते मात्र काठमाडौं फर्किने कार्यक्रम छ । उनी फर्केपछि पनि प्रधानमन्त्री ओलीसँग वार्ता हुन्छ या हुँदैन भन्ने यकिन छैन । 

असार १० गते बसेको स्थायी कमिटीको बैठकमा सातवटा कार्यसूची प्रस्तुत भइ छलफल शुरु भएको थियो । दुई दिनसम्म कार्यसूचीमै छलफल भइरहे पनि बैठकको पहिलो दिनदेखि नै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठ्यो ।

असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्नका लागि भारतीय राज्य संयन्त्र नै सक्रिय भएको अभिव्यक्ति दिए । मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरुले पनि त्यसमा साथ दिएको टिप्पणी गरे ।

नेताहरुले स्थायी कमिटी बैठकमै प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र त्यसको भोलिपल्टै प्रधानमन्त्री ओलीबाट त्यस्तो प्रतिकृया आउनुले अध्यक्ष प्रचण्डलगायतका नेताहरु आक्रोशित भएका थिए । त्यसपछि कार्यसूची छाडेर बैठक प्रधानमन्त्री ओलीकै राजीनामातिर केन्द्रित भयो । दुई दिन त्यसमा पनि छलफल भयो । छलफलमा अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीको उक्त धारणाको विरोध गरेका थिए । 

त्यसलगतै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मार्फत संसद अधिवेशनलाई अन्त्य गर्ने निर्णय गरे । पार्टीभित्र कुनै छलफल नै नगरी अचानक संसद अधिवेशन अन्त्य गरेको घटनालेसमेत अनेक आशंकालाई बढायो भने पार्टीभित्रको विवादलाई अझ चर्को तुल्यायो । त्यस यता चार पटक स्थायी कमिटी बैठकको मिति तोके पनि दुई अध्यक्षबीच गृहकार्य नपुगेको भन्दै बैठक सारिएको छ । सोही क्रममा असार २६ गते बस्ने भनिएको बैठकलाई साउन २ गतेका लागि सारिएको छ । यो बीचमा दुईजना अध्यक्षको बीचमा खुलेर कुराकानी हुनेछ र विवाद समाधान हुने गरि टुङ्गोमा पुगिन्छ भन्ने विश्वासमा कार्यकर्तापङ्क्ति ढुक्क नहुँदै अध्यक्ष प्रचण्डा काठमाडौं उपत्यकाबाट बाहिरिए । त्यसैले पनि यो अवधिमा दुई अध्यक्षबीच वार्ता हुने सम्भावना कम रहेको जानकारहरु बताउँछन् ।

यद्यपि दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीच संवादका लागि दवाव दिँदै आएका छन् । बैठक स्थगित गर्नुअघि अध्यक्ष प्रचण्डसँग ओली पक्षका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरु इश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल उनकै निवासमा पुगेर भेट गरेका थिए । बैठक स्थगित गर्ने प्रस्ताव उनीहरुले नै गरेको बताइन्छ । ‘बरु समय लागोस्, तर दुई अध्यक्षले विवाद समाधान निस्किने गरि निष्कर्ष निकाल्नुपर्छ,’ उनीहरुको भनाइ थियो ।

दुई अध्यक्षबीच यस बीचमा सहमति नभए स्थायी कमिटीको बैठक फेरि पनि अनिश्चित हुने एक नेताले बताए । ‘साउन २ गते पनि बैठक बस्छ कि बस्दैन, निश्चित छैन,’ उनले भने, ‘नेताहरुको बीचमा कुरा नमिलेसम्म बैठक बस्दैन ।’
कुरा ओली र प्रचण्डको मात्र होइन, त्यहाँ माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमका कुरा पनि छन् । उनीहरु सबैबीच एक खालको सहमति नभएसम्म बैठक नबस्ने स्रोतको भनाइ छ ।

दुईजना अध्यक्षका बीचमा पटक पटक वार्ता भए पनि सहमति जुट्न नसक्दा स्थायी कमिटीको बैठक पनि पटक पटक सार्नु परेको हो । बैठक पटक पटक स्थगित गर्दा कार्यकर्तापङ्क्तिमा राम्रो सन्देश नजाने हुनाले एकैपटक लामो ग्याप लिएर भए पनि नेताहरुलाई आपसमा छलफल गर्न र सहमति जुटाउन दोस्रो तहका नेताहरुले प्रस्ताव गरेका थिए । सोही प्रस्ताव अनुसार २६ गते बसेको बैठक साउन २ सम्मका लागि सारिएको छ ।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच असार २५ गते छलफल भएको थियो । छलफलमा कुनै निष्कर्ष निस्केको  थिएन । असार २६ गते बिहान पुनः छलफल गर्ने अनिमात्र स्थायी कमिटीको बैठक बस्ने भनिएको थियो । तर ओली पक्षधर नेताहरुसँग प्रचण्डको छलफल भइसकेपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप