बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकभित्र ‘विभेदकारी’ सरुवा, असन्तुष्टि बढ्यो

आइतबार, २८ असार २०७७, ११ : २६
आइतबार, २८ असार २०७७

काठमाडौं । नेपाल राष्ट्रमा एकैपटक प्रथम तहका २६ जना कर्मचारीको जिम्मेवारी फेरिएको छ । राष्ट्र बैंकको यही असार बिहीबारको निर्णय अनुसार निर्देशक तहका ती कर्मचारीहरुको सरुवा र पदस्थापन गरिएको हो । 

त्यसमध्ये २३ जनाको सरुवा गरिएको हो । ३ जना भने उपनिर्देशक तहबाट बढुवा भएकालाई पदस्थापन गरिएको हो । ती सबैलाई साउन १ गतेभित्र सम्बन्धित कार्यक्षेत्रमा हाजिर भइसक्न भनिएको छ ।

राष्ट्र बैंकमा प्रथम तहका लागि ४७ जनाको दरबन्दी छ । त्यसमध्ये ४१ जना निर्देशक पदमा रहेकोमा बुधबारमात्रै थप ३ जनालाई निर्देशक पदमा बढुवा गरिएको छ । बाँकी ३ जनाले भने निमित्त निर्देशकको जिम्मेवारीमा छन् ।

 त्यसमध्ये आधा भन्दा बढीलाई एकैपटक सरुवा गरिएको हो । तर त्यस्तो सरुवा कार्यक्षमता वा अवसरको आधारमा भन्दा पनि पार्टीगत निकटताको आधारमा तय गरिएका छन् । शक्तिशाली र महत्पवूर्ण भनिएका पदहरुमा छानीछानी निटकहरुलाई ल्याइएको छ । क्षमतावान र तटस्थहरुलाई भूमिकाविहिन बनाइएको छ । 

को कहाँ पुगे ? 
राष्ट्र बैंकभित्रकै शक्तिशाली स्थान मानिने गभर्नर कार्यालयमा रहेका गोविन्द नागिलालाई सबैभन्दा भूमिकाविहीन मानिने मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखामा पठाइएको छ । उनीसँगै गभर्नर कार्यालयमा रहेका सत्येन्द्र तिमिल्सिनालाई विराटनगर कार्यालय र सुभाषचन्द्र घिमिरेलाई धनगढी कार्यालय पठाइएको छ । सो ठाउँमा विराटनगर कार्यालयका रोशनकुमार सिग्देल, विदेशी विनिमय विभागका नारागण पोख्रेललाई ल्याइएको छ । तिमिल्सिनालाई केही समय अघि मात्रै सह–प्रवक्ताको जिम्मेवारी दिइएको थियो । तर, त्यस्तो जिम्मेवारी दिइएको दुर्ईै साता नबित्दै उनलाई विराटनगर पठाइएको हो । 

अर्को शक्तिशाली मानिने नियमन विभागका निर्देशक वीरेन्द्र अवस्थीलाई बैंकिङ कार्यालयमा पठाइएको छ । एक वर्षअघि मात्रै नियमन विभागमा पदस्थापन भएका उनलाई फेरि सरुवा गरिएको हो । उनको ठाउँमा नेपालगञ्ज कार्यालयका मुक्तिनाथ सापकोटालाई ल्याइएको छ । 

विवादित पृष्ठभूमि भएकालाई यो पटक ‘पुरस्कृत’ गर्ने हिसाबले सरुवा गरिएको छ । यसअघि आन्तरिक कारबाहीमा परेका टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यलाई कानून महाशाखाको जिम्मेवारी दिइएको छ । यसअघि कानून महाशाखामै रहेका उनलाई सूचना चुहाएको आरोपमा राष्ट्र बैंकले कारबाही गरेको थियो । 

यसपटक उपत्यकाबाहिर रहेका धेरैजना काठमाडौं आएर महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । पोखरा कार्यालयका डिल्लीराम पोख्रेल अनुसन्धान विभागमा आएका छन् । उनको ठाउँमा अनुसन्धान विभागका इश्वरीप्रसाद भट्टराई गएका छन् । धनगढी कार्यालयका निश्चल अधिकारी भुक्तानी प्रणाली विभागको जिम्मेवारी पाएका छन् । त्यस्तै, जनकपूर कार्यालयका हिमप्रसाद न्यौपाने बैंक सुपरिवेक्षण विभागमा आएका छन् । बीरगञ्ज कार्यालयका राजेन्द्रविक्रम थापालाई विकास बैंक सुपरिवेक्षणमा पठाइएको छ । 

राष्ट्र बैंकका कर्मचारी उपत्यका बाहिरको पदस्थापनलाई खासै रुचाउँदैनन् । तर, सिद्धार्थनगर कार्यालयका हकमा भने त्यस्तो हुँदैन । सो कार्यालयमा पदस्थापन हुनेले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक हुने भएकोले सो संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्तिदेखि अन्य विभिन्न विषययमा समेत आफ्नो भनसुन चल्ने भएकोले यो कार्यालयलाई शक्तिशाली मानिन्छ । 

हाल सो कार्यालयमा रहेका राजेन्द्र भट्टराईलाई सामान्य सेवा विभागमा सरुवा गरिएको छ भने उनको ठाउँमा विकास बैंक सुपरिवेक्षणका सुदीप फुँयाललाई पठाइएको छ । 

कर्मचारी युनियनहरु असन्तुष्ट
राष्ट्र बैंकको पछिल्लो सरुवा निर्णयप्रति राष्ट्र बैंककै कर्मचारी युनियनहरु सन्तुष्ट छैनन् । काम गर्नेलाई उचित स्थान नदिइएको तथा कार्यसम्पादन भन्दा पनि राजनीतिक निकटताका आधारमा सरुवा र पदस्थापन गरिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । 

बिहीबार पदस्थापन हुनेबित्तिकै उनीहरुले यसबारे विरोध जनाउन गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न चाहेका थिए । तर, गभर्नरले भेट नदिएपछि जनशक्ति व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र कार्यकारी निर्देशक रामु पौडेललाई भेटेर उनीहरुले असन्तुष्टि जनाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप