शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुरानो साथी स्टोनको कैद अवधिमा कटौती

शनिबार, २७ असार २०७७, १६ : २२
शनिबार, २७ असार २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुराना साथी रोजर स्टोनलाई तोकिएको कारागार सजाय अवधिमा कटौती गरिदिएका छन् । ट्रम्पका पूर्व सल्लाहकार समेत रहेका स्टोनलाई सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाइएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएर सजाय घोषणा गरिएको थियो । 

एक पुनरावेदन अदालतले स्टोनको ४० महिने हिरासत सुरु हुने समयपछि सार्न अस्वीकार गरेलगत्तै ट्रम्पले शनिबार समयावधि कटौतीको घोषणा गरेका हुन् । उनलाई आगामी मङ्गलबार जर्जियाको एउटा सङ्घीय जेलमा उपस्थित हुन आदेश दिइएको थियो । 
 
उनलाई अमेरिकी कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोग पनि लगाइएको छ ।  तर राष्ट्रपति ट्रम्पले भने ६७ वर्षीय स्टोन पहिले नै धेरै पीडित भइसकेकाले जेल सजाय अवधि घटाउनु परेको बताएका छन् ।
“रोजर स्टोन रुसी छलकपटको शिकार भएका पीडित हुन् । ट्रम्पको राष्ट्रपतीय कार्यकाललाई कमजोर पार्न वर्षौँदेखि वामपन्थी र त्यसका सहयोगी सञ्चारमाध्यमहरूले निरन्तरको मुद्दा बनाएका छन्’ ट्रम्पले भनेका छन् ।  राष्ट्रपति निर्वाचनमा रुसको संलग्नताबारे छानबिन गर्ने मुख्य छानबिनकर्ता रोबर्ट मुलर मातहतका अभियोजनकर्ताहरूले ट्रम्पको चुनावी अभियानमा रुसको संलग्नता पुष्टि गर्न नसकेपछि स्टोनमाथि प्रतिशोषपूर्ण व्यवहार गरेको ट्रम्पको आरोप छ ।

तर विपक्षी डेमोक्र्यटिक पार्टीका नेताहरूले भने ट्रम्पको यस निर्णयको आलोचना गर्दै शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् ।  सन् १९७० देखि रिपब्बलिकनहरूसँग काम गर्दै आएका स्टोनले सन् १९९० को दशकमा ट्रम्पको क्यासिनो व्यवसायका लागि लबीकर्ताको रूपमा काम गरेका थिए । त्यही पुरानो सम्वन्ध र चुनावका बेला सघाएकाले उनलाई राष्ट्रपति ट्रम्पले सल्लाहकारमा मनोनित गरेका थिए । तर अभियोग लागेपछि उनी सल्लाहकारबाट हटेका थिए ।

स्टोन सजाय पाउने ट्रम्पका तत्कालिन सल्लाहकारमध्ये छैटौँ सल्लाहकार हुन् । यसअघि ट्रम्पका अरु पाँच सल्लाहकारहरुले पनि सजाय पाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप