शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढीबाट जोगाउन पूर्वसतर्कता

शनिबार, २७ असार २०७७, १५ : ५४
शनिबार, २७ असार २०७७

मनसुन सक्रिय भएसँगै बाँकेमा बाढी तथा डुबानको खतराबाट जोगाउन पूर्वसतर्कता अपनाइएको छ । राप्ती नदी आसपासको तटीय क्षेत्रमा बाढी तथा डुबानका कारण मानवीय र धनमालको क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्क रहन स्थानीय बासिन्दा र सम्बद्ध सबै निकायलाई आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

उनका अनुसार, सुरक्षा संयन्त्र, रेडक्रस तथा विपद् व्यवस्थापन समितिहरुलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार तथा राहतकार्यमा जुट्न सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउँदै सुरक्षा निकायसहित विपद् व्यवस्थापनमा खटिने निकायलाई तयार रहन आग्रह गरिएको छ ।

उनले आगामी केही दिन अविरल वर्षा हुने बाढी आउने सम्भावना उच्च रहेकाले आ–आफ्नो पूर्वतयारी गर्न आमनागरिकलाई अनुरोधसमेत गरिएको बताए ।
 विपद्को समयमा विशेष सतर्क रही आ–आफ्नो स्थान र स्तरबाट सहयोगी बन्न सुरक्षा एवं स्वास्थ्य क्षेत्रमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसलाई उद्धार तथा सहायताका लागि हरदम तयारी अवस्थामा रहन आग्रह गरिएको छ । 

उनले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिलाई रोक्न शुक्रबार राप्ती नदीमा बाढी विपद् कृत्रिम अभ्यास गरिएको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा बाँके खण्ड भएर बग्ने राप्ती नदीमा उक्त अभ्यास गरिएको हो । सुरक्षा फौजको टोलीले सजिलै उद्धार गर्न सक्ने गरी पूर्वतयारी र अभ्यास गरिएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप