शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पानी परेपछि काठमाडौंमा फोहर व्यवस्थापनको समस्या

शनिबार, २७ असार २०७७, १४ : ४६
शनिबार, २७ असार २०७७

काठमाडौं । पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकलाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ । अन्य समयमा भन्दा वर्षात्को समयमा फोहर बढी उत्पादन हुने र समय–समयमा बाटो बिग्रने हुँदा समस्या भएको कामपाको भनाइ छ ।
  
समस्या फोहर लानका लागि मात्रै होइन, व्यवस्थापनको पनि उत्तिकै छ । हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल भ्याली टुमा अहिले काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन हुँदै आएको छ ।

कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा पनि वर्षात्को समयमा समस्या हुने गरेको थियो । अहिले झन् सिसडोल भरिएकाले फोहर राख्ने स्थानको पनि अभाव भएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा विसर्जन गरिर्दै आएको छ । जुन स्थान दुई वर्षको लागि लिएको थियो ।
 
सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करिब रु तीन अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ । यही असारदेखि फोहर उठाउने कार्य शुरु गर्ने भने पनि कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ । विभिन्न कारणले काम अघि नबढेपछि प्रत्येक वर्ष वर्षात्को समयमा फोहर विसर्जन कार्य समस्याको विषय बन्दै आएको छ । 

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडीमा फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्डो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन ।

उपत्यकाको १८ स्थानीय तहबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप