बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छोराको काजकिरियामा जुटेका युक्तबहादुरलाई पनि पहिरोले लग्यो

मध्यरातको त्यो त्रासदी– भूकम्प गएको जसरी ‘ड्याङ्ग’ आवाज आयो, क्षणभरमै बाढीले तहसनहस बनायो
शनिबार, २७ असार २०७७, ०७ : ३७
शनिबार, २७ असार २०७७

सिन्धुपाल्चोक । गत १४ असारमा बाह्रबिसे नगरपालिका–८ मानेश्वरका–१९ वर्षीय सुरेश तामाङले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरे । उनले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धानकै क्रममा रहेको प्रहरी बताउँछ । 

बिहीबार अर्थात असार २५ गते सुरेशले आत्महत्या गरेको १२ दिन पुगेको थियो । उनको तामाङ परम्पराअनुसार काजकिरियाको काम थियो ।  सुरेशको काजकिरियाको लागि ठूलोबुबा युक्तबहादुर तामाङ पनि व्यस्त थिए । 

युक्तबहादुर कहिले बाह्रबिसे नगरपालिका–५ जम्बु बजारमा रहेको आफ्नो घरमा पुग्थे त कहिले मानेश्वरमा रहेको सुरेशको घर । जम्बु बजारमा युक्तबहादुरको सानो पसल पनि थियो । 

बुधबार अर्थात असार २४ गते पनि सुरेशको घरबाट साँझतिर जम्बु बजार फर्किएका थिए, युक्तबहादुर । साँझ छिट्टै खाना खाएर उनको परिवार सुत्ने तयारी गर्दै थियो । 

बुधबार नै युक्तबहादुरलाई अन्तिम दिन भन्ने के थाहा ? युक्तबहादुरको परिवारलाई बज्रपात माथि बज्रपात थपियो । एकातिर छोरा (भाइकाे छोरा )ले झुण्डिएर आत्महत्या गरेको पीडा थियो नै । 

बुधबार नै युक्तबहादुरको परिवारमा फेरि अर्को दुःखद घटना घट्यो । अचानक मध्यरातमा जम्बु गाउँमा भीषण बाढीपहिरो गयो । मडारिएर लाटो खोलामा आएको बाढीपहिरोले युक्तबहादुरलाई मात्र होइन, श्रीमती, छोराबुहारी, जेठी छोरीलाई पनि चुँडेर लग्यो । 

छोराको काजकिरिया गर्नु पाउनु त कता अहिले युक्तबहादुर किरियाकर्म पनि कसले गर्ने भन्ने पनि अन्यौलमा छ । छोराको काजकिरियामा व्यस्त रहेका युक्तबहादुरलाई मध्यरातमा आएको भीषण बाढीपहिराले चुँडेर लगेको आफन्त कान्छाराम तामाङ बताउँछन् । 

पहिरोमा पुरिएका उनीहरु सबैको शव वेपत्ता छ । उनीहरु कसैको पनि शव फेला परेको छैन । यतिबेला जम्बु बाढीपहिरोले तहसनहस हुँदा खण्डहर बनेको छ । स्थानीयको उठिबास हुने गरी आएको पहिरोले सिंगो गाउँ नै खण्डहर भएको हो ।

बाढीपहिरोमा युक्तबहादुरका कान्छी छोरी र दुई नाति भागेर बाँच्न सफल भएका छन् । पहिरोमा भागेर बाँच्न सफल भएका उनीहरुलाई स्थानीय कान्छा तामाङले घरमा लगेर राखेका छन् । 

पहिरोमा परी युक्तबहादुरकी कान्छी छोरीको खुट्टामा सामान्य चोट समेत लागेको कान्छाले रातोपाटीलाई बताए । उनले भने, ‘भागेर ओढारमा लुकेर बाँचेका उनीहरुलाई मेरो घरमा लगेर राखेको छु ।’

पहिरोमा परी युक्तबहादुरको परिवारसँगै १८ जना बेपत्ता छन् । २ जनाको शव भेटिएको छ । बेपत्ता भएका १८ जनाको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन । 

पहिरोले २० घर परिवार बिचल्लीमा परेका छन् । बाँकी परिवारले समेत बास स्थान छाडेर स्कुल र सहकारीका भवनमा आश्रय लिएका छन् । 

इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर नवराज न्यौपानेका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ जम्बु बजारमा भीषण बाढीसँगै पहिरो जाँदा १८ जना बेपत्ता छन् । 

अविरल वर्षासँगै बुधबार राति लाटो खोलामा उर्लेर आएको बाढीसँगै माथिबाट पहिरो खस्दा १८ जना बेपत्ता भएको र २ जनाको शव फेला परेको इन्सपेक्टर न्यौपानेले बताए । 

मध्यरातमा त्रासदी
जम्बु गाउँका स्थानीयका अनुसार बुधबार राति करिब १२ बजे बाढी आएको हो । स्थानीयका अनुसार बुधबार दिनभरि घाम लागेपनि साँझ ५ बजेदेखि पानी पर्न सुरु भएको थियो । 

मुसलधारे पानी परेको भएर जम्बुवासीहरू बेलुकाको खाना खाएर सुत्ने तयारीमा थिए । कोही सुतिसकेका थिए । करिब १२ बजेको समयमा भूकम्प गएको जसरी ‘ड्याङ्ग’ आवाज आयो । जमिन थर्किदै ठूलो आवाज आएको स्थानीयको भनाइ छ । 

पहिरोले एकैछिनमा जम्बु बजार ध्वस्त भयो । लाटो खोलामा मडारिएर आएको बाढीले मस्त निन्द्रामा रहेका १८ जनालाई पुर्यो । ‘ड्याङ्ग’ आवाज आएको सुनेर हल्ला गर्दै कोही नजिकैको झोलुङ्गे पुलमा पुगे । कोही ओढार खोज्न थाले । 

कति हल्लाले उठेर भागे । जुन ठाँउतिर भाग्न खोजे त्यहीँ ठाँउबाट फेरी अर्को बाढी आयो र त्यहीँ पनि केही मानिस पुरिए । भाग्न खोज्दा पनि कतिले ज्यान जोगाउन सकेनन् । 

स्थानीय कान्छा तामाङका अनुसार जमिन नै थर्कने गरी ‘ड्याङ्ग’ आवाज आएको बताउँछन् । उनले भने, ‘कोही चिच्याइरहेको आवाज सुनिन्थो । त्यो रात त्यहाँका स्थानीयहरु सुत्न सकेनन् । हामी पनि जान सक्ने अवस्था थिएन ।बाढीमा भागेर ज्यान गुमाएकाहरुको भोलिपल्ट अर्थात बिहीबार बिहान मात्र उद्दार गरिएको हो ।’

बाह्रबिसेबाट १ घण्टा पैदल दुरीमा रहेको जम्बुमा बुधबार राति बाढीले १८ जना बेपत्ता पारेपछि स्थानीयहरु शोकमग्न छन् । भारी मात्रामा परिरहेको वर्षाबाट उनीहरु त्रसित बनेका छन् ।  

पहिरोका कारण विस्थापित भएकाहरु समस्यामा 
बुधबार मध्यराती गएको पहिराका कारण विस्थापित भएकाहरु अहिले समस्यामा परेका छन् । विस्थापित भएकाहरु अन्यत्र जानुपरेको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री उपलब्ध गराएको छ । 

बाढीले वितण्ड मच्चाएपछि शुक्रबार बिहानैदेखि उद्धारका लागि प्रयास भएको थियो । तर प्रतिकुल मौसमका कारण काम हुन सकेको छैन । 

बाढीका कारण विस्थापित भएकाहरुलाई ब्यवस्थापन गरिन थालिएको छ । खोज, उद्धार, राहतलगायतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, रेडक्रस तथा स्थानीयबासी सक्रिय छन् ।

बाह्रबिसे बजार पनि जोखिममा
निरन्तरको वर्षा र भोटेकोशी खोलामा बढेको बाढीले बाह्रबिसे बजार समेत उच्च जोखिममा परेको छ । बजारलाई नै छुनेगरी भोटेकोसीमा बाढी बगिरहेको छ । 

बजार भन्दा अति पर राजर्माग पूरै कटान गरेर सम्पर्कविच्छेद भएको छ । बजारका कतिपय स्थानीय बाढीले बजार कटान गर्ने हो कि वा माथिबाट पहिरो झर्ने हो कि भन्ने चिन्तामा छन् । स्थानीय मोहन श्रेष्ठले खोलामा लगाइएको पर्खाल नाघेर बजारमा बाढी पस्न खोजेकोले बजार बस्ति जोखिममा रहेको बताए । 

निरन्तरको वर्षाले के कति क्षत्रि पुग्यो यकिन हुन सकिरहेको छैन । बाह्रबिसे बजार आसपास रहेका गाँउहरुमा धेरै जसो ठाँउमा पहिरो गएका कारण घरहरु उच्च जोखिममा छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप