मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यौन दुर्व्यवहारको अभियोग लागेलगत्तै आत्महत्या गरेका सोलका मेयरको सुसाइड नोट भेटियो

शुक्रबार, २६ असार २०७७, २३ : १९
शुक्रबार, २६ असार २०७७

एजेन्सी । दक्षिण कोरियाको राजधानी शहर सोलका मेयर पार्क वोन सुनको सुसाइड नोट सार्वजनिक भएको छ । अधिवक्ता  पार्क वोन सुन १० वर्षसम्म सोल शहरको मेयर थिए र बिहीबार बेपत्ता भएपछि सयौं प्रहरी अधिकारी उनको खोजीमा जुटेका थिए । मध्यराती १२ बजे सोलको माउन्ट बुकक क्षेत्रमा उनको शव फेला परेको थियो । 

तत्कालै प्रहरी प्रवक्ताले उनको मृत्युबारे छानविन भइरहेको तर हत्याको संभावना नदेखिएको जनाएका थिए । त्यसपछि उनको कार्यालयमै एक चिट्ठी भेटियो । ‘म सबैसँग माफी माग्छु र ती सबैलाई धन्यवाद् दिन्छु, जो मेरो जीवनमा मेरो साथमा थिए । म मेरो परिवारसँग माफी माग्छु, जसलाई मैले दुःखमात्रै दिए । मलाई जलाउनुस् र मेरो खरानी मेरा बाबु आमाको चिहानमा फैलाउनुस्, सबैलाई अलविदा,’ उनले लेखेका छन् । 

६४ वर्षीय पार्ककी छोरीले बिहीबार दिउँसोदेखि बाबु हराएको भन्दै प्रहरीमा उजूरी गरेकी थिइन् । छोरीका अनुसार बाबुले आत्महत्याको लक्षण देखाएका थिए र बिहान ११ बजे घर छाडेका थिए । छोरीले उजूरी गरेको ७ घण्टापछि पार्कको शव भेटिएको थियो । 

उनको शवलाई सोल राष्ट्रिय विश्वविद्यालय अस्पतालमा लगियो, जहाँ सयौं राजनीतिज्ञहरुले शुक्रबार दिउँसो श्रद्धान्जली अर्पण गरे । आफ्नै पूर्व सेक्रेटरीले यौन दुर्व्यवहारको आरोपमा आपराधिक मुद्दा दर्ता  गराएको दुई दिनपछि पार्कको मृत्यु भएको हो । प्रहरीकाअनुसार पूर्व सेक्रेटरी र उनका वकिलले बुधबार दिउँसो प्रहरी परिसरमा मुद्दा दर्ता गराएका थिए । ती महिलाले २०१७ देखि पार्कसँग सेक्रेटरीका रुपमा काम गरेकी थिइन् । 

पार्कको मृत्युसँगै झन्डै १ करोड जनसंख्याको सोल शहरमा शोकमग्न बनेको छ । कुनै समय आफैं महिला अधिकारवादी अभियन्ता रहेका पार्कलाई धेरैले सम्भावित राष्ट्रपतिको उम्मेदवारका रुपमा हेरेका थिए ।  दक्षिण कोरियामा सोल शहरका मेयरलाई राष्ट्रपति पछिको दोस्रो शक्तिशाली व्यक्तिका रुपमा हेरिन्छ । महिला अधिकारवादी समूहहरुले पार्कको मृत्युका बाबजुद यौन दुव्यवर्हार आरोपमा छानविन भएरै छाड्नुपर्ने बताएका छन् । 

दक्षिण कोरियामा पछिल्लो समय यौन दुव्यर्सनका घटनामा वरिष्ठ व्यक्तिहरु मुछिने क्रम बढेको छ । यसअघि दक्षिण चुङचिओङका गर्भनर आन हि जुङ र बुसान शहरका पूर्व मेयर ओ कियो डनमाथि पनि यौन शोषणको मुद्दा परेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप