मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी मन्त्रीको जिल्लामा एक करोडको अनुदान

शुक्रबार, २६ असार २०७७, १७ : २७
शुक्रबार, २६ असार २०७७

काठमाडौं । सहकारीको नाममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालकै जिल्लामा एक करोडको आर्थिक अनुदान प्रदान भएको छ । सहकारी क्षेत्रको वृद्धि विकास एवम् सहकारी मार्फत आम सर्वसाधारणको जीवन स्तर उकास्न भन्दै मन्त्रालय मार्फत मन्त्री अर्यालकै गृह जिल्ला स्याङ्जाका १४ वटा सहकारीहरुलाई सो अनुदान प्रदान गरिएको हो ।

उक्त अनुदान स्याङ्जास्थित पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिका र चापाकोट नगरपालिकाका विभिन्न १४ सहकारी संस्थाहरुलाई प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

संस्थाहरुको आफ्नो वृद्धि विकाससँगै सहकारी मार्फत सो क्षेत्रका सर्वसाधारणको जीवन स्तर माथि उकास्न सीपमूलक तालिम संचालका गराउने उद्देश्यले उक्त रकम अनुदानमा प्रदान गरिएको मन्त्री अर्यालको भनाई छ ।

जिल्लामा संचालित उक्त कार्यक्रमको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भिडियो संवादमार्फत् राजधानीबाटै सफलताको कामना गरेकी छन् । वर्तमान विशेष परिस्थितिले र जिम्मेवारीका कारण भौतिक रुपमा आफु जिल्लामा उपस्थित हुन नसकेपनि भिडियोमार्फत नै कार्यक्रमको पूर्ण सफलताको कामना गरेको सन्देश दिएकी छिन् ।

‘समृद्ध नेपाल,सुखी नेपाली’ को लक्ष्य भेट्नका निम्ती यस्ता कार्यक्रम निरन्तर रहन जरुरी छ ।’ मन्त्री अर्यालले भनिन्, ‘तपाइहरू उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुस्, त्यसका निम्ती आवश्यक बजारको व्यवस्थापन हामी गर्छौँ ।’

सोही क्रममा मन्त्री अर्यालले अब यस्ता कार्यक्रम मार्फत ‘एक घर–एक नयाँ रोजगार’को अभियानसँगै गाउँमा रोजगारीको सिर्जना गर्नुपर्ने बताएकी छिन् ।

सहकारी मार्फत गरिबी निवारणका लागि मन्त्रालयबाट शुरु गरिएको सो कार्यक्रम अब नरोकिने तर यस्ता कार्यक्रमहरुले जनताको आर्थिक जीवनस्तर बढाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेकी छिन् ।

यता, कोरोनाको महामारीकै बीच सामाजिक दुरी कायम गर्दै स्यानिटाइजर र मास्क समेत प्रयोग गरी उक्त कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा जिल्लामा उत्पादीत स्थानीय कृषि उपजबाट अचार बनाउने, च्याउ खेती गर्ने, ढाँका बुन्ने, मौरीपालन लगायतका उद्यमशीलता तालिमहरु सञ्चालन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप