मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

१ सय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको पनि नविकरण हुने

शुक्रबार, २६ असार २०७७, १५ : ३७
शुक्रबार, २६ असार २०७७

काठमाडौं । एकसय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण हुने भएको छ । कोभिड–१९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउमार्फत एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नविकरण गर्ने व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताए ।

संघीय संसद प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री यादवले कानूनमा न्यूनतम एकसय जना कामदार पठाए मात्र नविकरण हुने व्यवस्था रहेको र अहिलेको परिस्थितिका कारण कानून मन्त्रालयको सल्लाह बमोजिम बाधा अडकाउ फुकाउबाट नविकरण गर्ने गरी प्रस्ताव मन्त्री परिषद्मा पठाउन लागिएको बताए ।

उनले यसअघि दुई पटकसम्म मन्त्री परिषदमा प्रस्ताव राखेको तर छलफल नभएपछि कानून मन्त्रालयको सहमति लिएर काम गर्न लागेको बताए । वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण दिने संस्थाहरुको नविकरण गर्ने सम्बन्धमा भने कानून मन्त्रालयको सहमति नभएकाले नविकरण के गर्ने भन्ने अन्योल भएको बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैह्रेले सबै म्यानपावर कम्पनीको नविकरणको प्रक्रियाको सुरुवात गर्न माग गरे । उनले असार मसान्तभित्र नविकरण भइसक्नुपर्ने व्यवस्था भएकाले अहिले नै नविकरणको प्रक्रियाको सुरुवात गर्नुपर्ने बताए । सरकारबाट निर्णय ढिलो हुँदा ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी बन्द हुने अवस्था आउन लागेको र असार मसान्त सकिन ४ दिन मात्र बाँकी रहेकाले छिटो निर्णय गरी कम्तिमा नविकरणको प्रक्रियामा जान दिन आग्रह गरे ।

छलफलमा सांसदहरुले एकसय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नविकरण गर्नुपर्छ भन्ने पक्षमा आफुहरु नरहेको तर अहिलेको परिस्थितिका कारण एउटा आर्थिक वर्षका लागि नविकरण गर्ने व्यवस्था छिटो मिलाउन आग्रह गरेका छन् । कानूनमा भएको व्यवस्था परिवर्तन गर्न नसकिने भएकाले सकेसम्म लचकता अपनाएर सहज बनाउन मन्त्रालयले नै अग्रसरता लिनुपर्ने सांसदहरुले बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति रोकिएको बताए । उनले पुनः श्रम स्वीकृति लिनेहरुका लागि भने अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने र तोकिएको दिन र समयमा आएर श्रम स्वीकृति नविकरण गर्न सक्ने व्यवस्था गरिएको बताए । उनले सातवटै प्रदेशका कार्यालयबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको समेत बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि वैदेशिक रोजगार क्षेत्र प्रभावित भएको छ । सबै अन्तर्राष्ट्रिय उडान बन्द रहेको र श्रम स्वीकृति पनि बन्द भएका कारण म्यानपावर कम्पनी पूर्ण रुपमा बन्द भएका छन् । व्यवसायीहरुले न्यूनतम एकसय जना कामदार नपठाए नविकरण नहुने अवस्था आएपछि सहजिकरण गरी एक वर्षका लागि नविकरण गर्न दिन माग गर्दै आएका छन् । यस्तै अभिमुखीकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप