शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा डुबानको डर

शुक्रबार, २६ असार २०७७, १४ : ३४
शुक्रबार, २६ असार २०७७

चितवन । वर्षातका कारण जिल्लामा एक लाख २८ हजार ६६५ जना प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको बैठकले सातवटा स्थानीय तहमा गरी सो सङ्ख्यामा जनता प्रभावित हुने अनुमान गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका आनुसार जिल्लामा वर्षातका कारण ८८ स्थानमा कटान र ७१ स्थानमा डुबान हुने अनुमान गरिएको छ । यसले २५ हजार ७३३ घर परिवार प्रभावित हुने उनले बताए । माडी नगरपालिकामा–९ स्थानमा कटान र ११ स्थानमा डुबान हुँदा तीन हजार ९४६ घरधुरीमा रहेका १९ हजार ७३०  प्रभावित हुने अनुमान गरिएको छ ।

यस्तै कालिका नगरपालिकामा पाँच स्थान कटान, ६ स्थान डुबानमा पर्दा एक हजार पाँच घरधुरीका पाँच हजार २५, रत्ननगरको ८ स्थान कटान र १० स्थान डुबानमा पर्दा दुई हजार ३८१ घरधुरीका ११ हजार ९०५ प्रभावित हुने अनुमान गरिएको छ । खैरहनी नगरपालिकाको २ स्थान कटान र ७ स्थान डुबानमा पर्दा ३२० घरधुरीका एक हजार ६००, राप्ती नगरपालिकामा ३० स्थान कटान र ९ स्थान डुबानमा पर्दा १० हजार १९० परिवारका ५० हजार ९५०, भरतपुर महानगरपालिकाको २८ स्थान डुबानमा र १६ स्थान कटानमा पर्दा ६ हजार ६३५ परिवारका ३३ हजार १७५ जना प्रभावित हुने अनुमान विपद् व्यवस्थापन समितिले गरेको छ । 

इच्छाकामना गाउँपालिकामा १८ स्थानमा कटान हुँदा एक हजार २५६ परिवारका ६ हजार २८० प्रभावित हुने स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । यसबाट बच्नका लागि सम्भावित क्षेत्रका जनतालाई अग्रिम जानकारी गराउने, सार्वजनिक स्थानको खोजी गर्ने, उद्धारका लागि हेलिकप्टर बस्न सक्ने स्थानको पहिचान गर्ने, उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्ने जस्ता काम भइरहेको भट्टराईले बताए । सम्भावित क्षेत्रमा रहेका रेडक्रसलाई विपत्का समयमा उद्धार र राहतका लागि तयारी रहन आग्रह गरिएको उनले जानकारी दिए । मुख्य रुपमा जिल्ला हुँदै बग्ने नारायणी, राप्ती र रिउ खोलाले कटान र डुबान गर्ने गर्दछन् । पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको छ । 

पहिरो भरतपुर महानगरपालिकाको वडा नम्बर २९, इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा खस्ने जोखिम रहेको छ । दुई दिनयता परेको निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेको छ । जिल्लाका सातवटा स्थानीय तहले बाढी र पहिराबाट बच्न उच्च सावधानी अपनाउन र सतर्क हुन अपिल गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप