शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा पहिरोबाट ७ को मृत्यु, ९ बेपत्ता

शुक्रबार, २६ असार २०७७, ०८ : ५९
शुक्रबार, २६ असार २०७७

बिहीबार सिन्धुपाल्चोकमा बाढीको बितण्डाबाट २ को मृत्यु र २० जना बेपत्ता भएकामा शुक्रबार फेरि गण्डकी प्रदेशका विभिन्न स्थानमा पहिरोले धनजनको क्षति भएको खबर छ ।   प्राप्त जानकारीअनुसार प्रदेशको म्याग्दी, कास्की र लमजुङमा पहिरोबाट ७ जनाको मृत्यु हुनुका साथै ९ जना बेपत्ता भएका छन् । यस्तै ठाउँठाउँमा पहिरोका कारण सडक अवरुद्ध बनेको छ । 

अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताए ।  प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभएपनि तीन वटा बाख्रा पुरिएका छन् ।

पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको  घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिए । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।

यसैगरी लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् । अबिरल वर्षाका कारण  बेंसीशहर नगरपालिका ७, सातबिसेका एकै परिवारका ३ जनाको मृत्यु भएको हो । बेंसीशहर नगरपालिका १० स्थित स्थायी ठेगाना भएका  दीपक तामाङ, उनको श्रीमति अन्दाजी बिमाया तामाङ र छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनका अनुसार बर्षाका कारण बिहीबार राति साढे १० बजेतिर उनीहरु बस्दै आएको घरलाई पहिरोले पुरेको थियो । मृतक ३ जनाको शव अहिले  लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

यस्तै लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा ९ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका ९ जना बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप