शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना विशेष अस्पतालः व्यवस्थापन खर्च अभाव, स्वास्थ्यकर्मीले अझै पाएनन् जोखिम भत्ता

बिहीबार, २५ असार २०७७, १८ : १७
बिहीबार, २५ असार २०७७

बुटवल । प्रदेश ५ मा रहेका कोरोना विशेष अस्पालहरुलाई प्रदेश सरकारले खर्च दिन आनाकानी गरेको छ । शुरुमा प्रदेश ५ का ४ वटा कोरोना अस्पतालहरुको भौतिक पूर्वाधार र कर्मचारी खर्चका लागि २ करोड रुपैयाँका दरले रकम प्रदान गरे पनि कोरोना संक्रमित बिरामीहरुका लागि आवश्यक खर्च, त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुलाई आवश्यक रकम पठाउन पछिल्लो समय आनाकानी गरेको अस्पतालका प्रशासकहरुको गुनासो छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रदेश अस्पतालबाट खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन खर्चबापत रकम प्रदान गर्न प्रदेशको सामाजिक मन्त्रालयले आनाकानी गरेको छ ।

बुटवल, दाङ र भैरहवाका कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि हुने खर्चको रकम दिन प्रदेशको सामाजिक मन्त्रालयले आनाकानी गरेको अस्पतालका अधिकारीहरुले रातोपाटीलाई बताए ।

सामाजिक मन्त्रालयले बुटवलको कोरोना अस्पतालमा व्यवस्थापनका लागि हालसम्म २५ लाख रुपैयाँमात्र प्रदान गरेको छ । तर अस्पतालका खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खाना तथा बस्न, बिरामीको खाना तथा अन्य विविध काममा ४५ लाख रुपैयाँभन्दा धेरै रकम खर्च भईसके पनि अस्पताललाई सो रकम उपलब्ध गराइएको छैन । 

अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई होटल क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ । कोरोना अस्पतालमा काम गर्ने सबैलाई कहाँ र कसरी राख्ने भन्ने कार्यविधि स्वास्थ्य मन्त्रालयले बनाएको छ । यसरी राख्दा एक जनाको लागि कति खर्च गर्ने भन्ने विषयमा स्वास्थ्य नीतिसँगै प्रदेशका कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षता बसेको बैठकले पारित गरेको कार्यविधि नै छ ।

चैत १९ गतेबाट बुटवलको धागो कारखानमा संचालन गरिएको बुटवल कोरोना विशेष अस्पतालका स्वास्थ्यकर्मीहरुले सिफ्ट अनुसार काम गर्दै आएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

३६ बेडको आइसोलेसन वार्ड र ८ बेडको आईसियु वार्ड रहेको अस्पतालमा १४ दिन काम गरेपछि स्वास्थ्यकर्मीले अर्को १४ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । आईसियु भएका कारण पनि धेरै जनशक्ति चाहिने डा. गौतमको भनाइ छ ।

प्रादेशिक अस्पताल बुटवलले कोरोना व्यवस्थापनका लागि आवश्यक रकम पठाउन आनाकानी गरेको प्रादेशिक अस्पताल बुटवलका मेसु डा .राजेन्द्र खनालले बताए । उनले भने, ‘काम गर्ने बेला फुल स्पीडमा गरेका छौँ तर मन्त्रालयले पैसा पठाउन आनाकानी गरेको छ, खर्च भएको रकम छिटै प्रदान गर्नुपर्छ ।’

जोखिम भत्ताबाट पनि वञ्चित

संघीय सरकारले कोरोनाको उपचारका लागि खटिने स्वाथ्यकर्मीहरुलाई सय प्रतिशतसम्म जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको थियो । तर प्रदेश ५ का कोरोना अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले अहिलेसम्म जोखिमभत्ता पाएका छैनन् ।

सरकारले जोखिम भत्ता दिने निर्णय गर्दा उत्साहित बनेका स्वास्थ्यकर्मीहरु अहिले निराश बनेका छन् । कोरोना अस्पतालका एक जना स्वास्थ्यकर्मीले रातोपाटीसँग भने, ‘यस्तो महामारी छ, घरबाट काम गर्न नजाउ भन्दै रोक्दा पनि कोरोना संक्रमितहरुको उपचारका लागि खटियौँ, तर सरकारले तोकेको जोखिम भत्ता पनि दिएको छैन ।’

वैशाख ३१ गतेबाट कोरोना उपचार गर्न थालेको भिम अस्पताल भैरहवामा पनि रकम पठाउन मन्त्रालयले आनाकानी गरेको छ । कार्यविधि अनुसार नै भिम अस्पतालमा ३ जना डाक्टर, ६ जना नर्स, ४ जना कार्यालय सहयोगी कोरोना उपचारको लागि खटिएका छन् ।

सो अस्पतालका मेसु डा. नविन दर्नालले कार्यविधि अनुसार १३ जनालाई प्रत्येक १४ दिनमा होटल क्वारेन्टिनमा राख्नुपर्ने भए पनि जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले रकम नपठाएको बताए ।

दाङको बेलझुन्डीमा रहेको कोराना विशेष अस्पतालमा पनि स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको अस्पतालका निर्देशक डा. सुदेश शर्माले रातोपाटीलाई बताए ।

प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले संघीय मन्त्रालयले पठाएको गाईडलाईनमा जोखिम भत्ता अलि अस्पष्ट भएकोले रकम पठाउन ढिला भएको बताए । प्रदेशमा एउटा कार्यविधि बनिसकेकोले अब छिटै रकम प्रदान गर्ने उनको भनाइ छ ।

‘उहाँहरुले शुरुदेखि काम गरेको जोखिम भत्ता पाउनुहन्छ, केही ढिलामात्र भएको हो,’ चिकित्सक एवं स्वास्थ्यकर्मीलाई लक्षित गर्दै उनले भने, ‘ढुक्क भएर काम गरे हुन्छ ।’

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.उमा शंकर चौधरीले अस्पतालहरुले दावी गरेको रकम सबै प्रक्रिया पुरा भएपछि मात्र पाउने बताए । अस्पतालले कुन कुन शीर्षकमा खर्च गरेका छन्, तोकिएको शीर्षकमा छ कि छैन, विस्तृत अध्ययन गरेपछि स्वास्थ्य निर्देशकको नेतृत्वमा गठन भएको एउटा टिमले सिफारिस गरेपछि मन्त्रलायले रकम दिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप