बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनमा लगानी गर्नेहरु मालामाल, एक वर्षमै कमाए तोलाको २८ हजार १०० रुपैयाँ

बिहीबार, २५ असार २०७७, १४ : १४
बिहीबार, २५ असार २०७७

पछिल्लो समय सुनको मूल्यले हरेक दिनजसो नयाँ रेकर्ड कायम गरिरहेको छ । 

नेपालमा अहिले सुन इतिहासकै महंगो भएको छ । आजकै दिनलाई हेर्ने हो भने सुन तोलाको ९२ हजार ४ सय रुपैयाँ कायम हुँदै नयाँ रेकर्ड बनाएको छ । अहिले सुन महंगो भएपनि एक वर्ष अघिमात्र सुनमा लगानी गर्नेहरु भने मालामाल भएका छन् । 

मानौ ए भन्ने व्यक्तिले एक वर्ष अगाडि (२०७६ असार २५)  ५ तोला सुन जोडेको रहेछ भने उसले सो सुनको रकम ३ लाख २१ हजार ५ सय रुपैयाँ बुझाएको थियो । अहिले सो सुनको मूल्य ४ लाख ६२ हजार रुपैयाँ पर्छ । यस हिसाबले पनि उसले सुनको लगानीबाट  १ लाख ४० हजार ५ सय रुपैयाँ कमाएको छ । अर्थात एक तोला बराबर २८ हजार १०० रुपैयाँ कमाएको छ । यो प्रतिनिधि उदाहरणमात्र हो । कुनै व्यक्तिले एक वर्ष अगाडि गरेको सुनको लगानीले कति फाइदामा पुर्यायो भन्ने हो । 

तर, अहिले सुनमा लगानी गर्ने उपयुक्त समय भने होइन किनभने सुनको मूल्य अहिले आकाशिएको छ । सुनमा लगानी गरेर नाफा लिन चाहनेका लागि भने यो बेच्ने समय भएको विश्लेषकहरु बताउँछन् । 

नेपालमा फाइदा कमाउनकै लागि सुनमा लगानी गर्ने चलन खासै देखिँदैन । आवश्यकता तथा रहर पुरा गर्न सुन जोडेर राख्नेहरु भने प्रशस्तै छन् । २०७५ असार २५ गते सुन प्रतितोला  ५७ हजार ८ सय रुपैयाँ कायम थियो ।  २०७६ असार २५ गते ६४ हजार ३ सय रुपैयाँ कायम भयो । अहिले ९२ हजार ४ सय रुपैयाँ छ । 

कोभिड–१९ का कारण विश्व अर्थतन्त्र प्रभावित छ । यसकारण लगानीका क्षेत्रहरुपनि खुम्चिएको छ । लगानी गर्ने ठाउँ खुम्चिएपछि विश्व बजारमै सुनप्रतिको लगानी आकर्षित भएपछि सुनको मूल्य उकालो लागेको सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । 

५२ मुलुकका केन्द्रीय बैंकले धेरै परिणाममा सुन होल्ड गरेर राखेको  उनले बताए । यता विश्व नै बन्दाबन्दीको अवस्थामा रहेकाले धेरै मजदुर लगाएर सुनको उत्पादन गर्नुपर्ने भएकाले सो उत्पादन समेत हुन नसकेको उनको तर्क छ । 
सुन उत्पादन नहुनु, विश्वमै लगानीका अन्य क्षेत्रहरु नखुल्नु जस्ता कारणले सनुमा लगानी बढी मूल्य समेत आकाशिएको बताइँदै आएको छ । 

बैंकको मुद्दती निक्षेपमा भन्दा सुनको लगानीमा बढी नाफा
बैंकको मुद्दती निक्षेपमा आज भन्दा एक वर्ष अगाडी औषतमा १० प्रतिशत ब्याजदर कायम थियो ।  एक वर्षमा एक लाख कमाउन १० लाख रुपैयाँ  बैंकमा एक वर्षका लागि लगानी गर्नु पर्ने थियो ।

 त्यसमा कर काटेर बाँकी रहेको रकम निक्षेपकर्ताले पाउँथे । तर अहिले यस्तो ब्याजदर एकल अंकमा झरेको छ । अहिले बैंकहरुमा प्रशस्त तरलता छ । निक्षेप मात्र थुप्रने र कर्जा माग नहुँदा निक्षेपकर्ताले पाउँने ब्याजदर समेत घटाइएको छ । 

नेपालमा पैसाबाट पैसा कमाउँनका लागि बैंकमा मुद्दती निक्षेप, सेयर बजार लगायतमा लगानी गर्ने चलन बढी छ । अनौपचारिक माध्यमबाट धेरै रकम कमाएकाहरुले मात्र सुनमा बढी लगानी गर्ने गरेको केही विश्लेषक बताउँछन । तर नाफा कमाउनकै लागि घरजग्गा, सेयर बजारमा जस्तो सुनमा लगानी गर्नेहरु न्यून रहेको उनीहरुको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप