शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको सत्ता सङ्घर्षमा ‘पर्ख र हेर’को रणनीतिमा विपक्षी

बिहीबार, २५ असार २०७७, १३ : १९
बिहीबार, २५ असार २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सत्ता सङ्घर्ष उत्कर्षमा पुगेका बेला विपक्षीबीच मोर्चा कसिलो बनाउने सहमति भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नवगठित जनता समाजवादी पार्टीबीच पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रमका विषयमा मङ्गलबार छलफल भयो । 

सोमबार साँझ जसपाका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस उपसभापति विमलेन्द्र निधिलाई फोन गरेर छलफलका लागि आग्रह गरेका थिए । 

निधिले मङ्गबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि वातावरण तय गरे ।

छलफलमा काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापति निधि, नेता कृष्णप्रसाद सिटौला र जसपाबाट अध्यक्ष महन्थ ठाकुर, यादव, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राईको सहभागिता थियो ।

सोमबार केन्द्रीय समिति बैठकबाट पछिल्लो घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको काँग्रेसले मङ्गलबार जसपासँग छलफल गरेर विपक्षी दृष्टिकोण तय गरेको हो ।

विशेषतः हठात बजेट संसद् अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा काँग्रेस र जसपा एक ठाउँमा उभिने निष्कर्ष छ । सभामुख र संसदमा रहेका राजनीतिक दलहरुको परामर्शविपरीत प्रधानमन्त्री ओलीले असार १८ गते संसद् अधिवेशन अन्त्य गरेका थिए । 

कोरोना, सलह, बाढी, पहिरोबाट सिर्जित चुनौती सामना गर्न प्रस्तुत सङ्कल्प प्रस्ताव, एमसीसी, नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्तसम्बन्धी विधेयक र नेपाल विशेष सेवा विधेयकबारे निश्चित टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिएमा काँग्रेस जसपाबीच छलफल भएको थियो ।

सङ्कल्प प्रस्ताव विधेयक यही अधिवेशनमा छलफलका लागि दर्ता गराइएको थियो भने एससीसी र उक्त विधेयकहरु पनि यही अधिवेशनबाट पारित गर्ने तयारी थियो ।

नेकपाको आन्तरिक कलह र दम्भले प्रधानमन्त्रीले हठात् संसद् अधिवेशन अन्त्य गरिएको उनीहरुको निष्कर्ष छ । तर सरकारको कदमको विरोध गरेको काँग्रेस र जसपाबीचको बैठकले आफूले चाल्ने कदमबारे भने निर्णय लिएन । केही दिनमा अर्को बैठक बस्ने उपसभापति निधिको भनाइ छ । 
उनले भने, ‘यस्तो बेलामा संसद् अन्त्य गरिनु आपत्तिजनक हो । यो लोकतान्त्रिक संसदीय प्रणालीको खिलाप हो । प्रतिपक्षीहरुले समसामयिक राजनीति घटना क्रम, अन्तर्राष्ट्रिय सम्बन्धमा ओली सरकारको अपरिपक्व भूमिकाबारे छलफल भएको हो । 
यसले देशभित्रको राजनीतिक परिस्थितिलाई पनि गम्भीर तुल्याइदिएको छ । कोरोनाको अवस्था पनि गम्भीर छ । अर्थतन्त्र पनि गम्भीर छ । भ्रष्टचार अनियन्त्रित अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध पनि जटिल मोडमा पुर्याइएको छ । बढो गम्भीर अवस्था भयो भनेर हामीले चिन्ता व्यक्त गर्यौँ । फेरि भेटघाट गर्ने समझदारी छ ।’

समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार छलफलमा पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो ।

सरकारका कारण सबै क्षेत्र डामाडोल हुने अवस्थामा पुगेको छलफलको निष्कर्ष रहेको उनको भनाइ छ ।
विषम परिस्थितिमा जनताका मुखमा ताला लगाउने काम भएको माहतोको बुझाइ छ  । अब के गर्ने भन्ने विषयमा गम्भीर रूपमा छलफल गरेर कदम चालिने उनले बताए । 

उनले भने, ‘सरकारी पक्षले यस्तो वितन्डा मच्चाएपछि प्रतिपक्षी बसेर समीक्षा गर्नुपर्छ भन्ने हामीलाई भयो । काँग्रेसले पनि छलफल गर्न खोजको रहेछ । हामी दुईवटैको एउटै विचार मिल्यो ।’ दुवै पक्षले छलफलको महसुस पनि गरेका थिए ।

महतोका अनुसार नेकपा विवादमा जोडिएको चिनियाँ राजदूतको सक्रियताको विषयलाई पनि विपक्षीले गम्भीरताका साथ हेरिरहेको छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पनि ठीक ढङ्गले विकसित हुन नसकेको काँग्रेस र जसपाको बुझाइ छ ।

यता काँग्रेस नेता सिटौलाले समसामयिक राजनीतिक परिस्थितिबारे सामान्य छलफल भएको बताए ।

देउवाको भनाइ उद्धृत गर्दै नेता सिटौलाले भने, ‘केही दिनअघि प्रधानमन्त्रीजीले मेलाई बोलाउनु भएको थियो । भेटमा एमसीसी पनि पास गर्नका लागि कार्यव्यवस्था बसेर निर्णय गर्ने भन्नुभएको थियो । अचानक संसद् अन्त्य गरिदिनुभयो । मलाई यसमा आश्चर्य लागेको छ ।’ 

मुलुक कतातिर जान लाग्यो भन्नेबार छलफल विपक्षी दलका नेताहरु गम्भीर बनेको सिटौलाले बताए । 

उनले भने, ‘नेकपाको आन्तरिक सत्ता सङ्घर्ष, झगडाले मुलुकको राजनीति कतातिर लैजाँदैछ भनेर छलफल भयो ।’ यस्तो अवस्थामा प्रतिपक्षी छलफलमा बस्नु स्वाभाविक भएको सिटौलाको बुझाइ छ ।
नेकपाको सत्ता सङ्घर्षमा एकअर्काको विचार बुझ्न खोजिएको थियो । 

यसमा काँग्रेस र जसपा निरपेक्ष रहेको साझा मत प्रकट भएको छ ।

उनले भने, ‘अब प्रधानमन्त्रीको कदम कस्तो रहन्छ, त्यहीअनुसार प्रतिपक्षी एक्सनमा जान्छ । सरकार जनताप्रति जिम्मेवार देखिएको छैन । नेपालीले धेरै दुःख पाउने भयौँ । थप छलफलका लागि फेरि बस्ने सहमति भएको थियो ।’
देउवाका स्वकीय सचिव भानु देउवाले अर्को छलफलबारे अहिलेसम्म कुनै तयारी नभएको बताए । अब नेकपा विवाद वार–पार भएपछि मात्र काँग्रेस र जसपाबीच छलफल हुने बुझिएको छ ।

जसपाले संसदको विशेष अधिवेशन बोलाउन जोड गरे पनि नेकपाको विवादका बीच बैठक बेलाउँदा गलत सन्देश जानेमा काँग्रेस सचेत देखिएको छ । अहिले विशेष अधिवेशन नबोलाइदिन नेकपा उपनेता सुवासचन्द्र नेम्वाङले गरेको आग्रहका कारण पनि काँग्रेस निर्णयमा पुग्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप