शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

बुधबार, २४ असार २०७७, २१ : ५२
बुधबार, २४ असार २०७७

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा खाना पकाउने क्रममा विद्युत् चुहावट हुँदा आज एक महिलाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–४ जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घरमा खाना पकाउने क्रममा करेन्ट लागी घाइते चौधरीलाई उपचारको लागि राजविराजस्थित अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

लागुऔषधसहित दुई जना पक्राउ
मोटरसाइकलमा लागुऔषध लुकाइछिपाई ओसारपसार गरिरहेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सप्तरीको अग्निसाइर कृष्णसावरन गाउँपालिका–१ जण्डौलस्थित सडक खण्डमा स४प ४१०० नम्बरको मोटरसाइकल जाँच गर्दा लुकाइछिपाई लैजाँदै गरेको एक सय मिलिलिटरको १० बोतल डाईलेक्स नामक लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीले जनाएको छ ।

लागुऔषधसहित सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका २२ वर्षीय विनोद मेहता र अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ जण्डौलका ३२ वर्षीय शिखर गुप्तालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी  दिए । 

मदिरा भट्टी नष्ट 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ बलाटीमा अवैध रुपमा सञ्चालन भइरहेको घरेलु मदिरा भट्टी पसलहरुबाट प्रहरीले आज मदिरा तथा कच्चा पदार्थहरु नष्ट गरेको छ । तयारी घरेलु मदिरा एक सय लिटर र कच्चा पदार्थ एक हजार लिटर, प्लाष्टिकका भाँडाहरु १५ थान र मदिरा बनाउने मेशिन पाँच थान बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार इलाका प्रहरी कार्यालय पातोबाट खटिएको टोली र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको सादा पोसाकको प्रहरीसमेतको संयुक्त टोलीले अवैध मदिरा र कच्चा पदार्थहरु बरामद गरी नष्ट गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप