बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपेन्द्र र बाबुरामलाई प्रश्न :  पञ्चायतकालीन निकृष्ट कार्य कसरी गर्नुभयो ?

बुधबार, २४ असार २०७७, २० : ४४
बुधबार, २४ असार २०७७

काठमाडौं । समाजवादी पार्टीले आफ्ना पार्टीका सांसद सरिता गिरीलाई कारवाही गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । समाजवादी पार्टीको हिजो बसेको कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टीबाट कारवाही गरेपछि उनको संसदको पद स्वतः खारेज हुने पुगेको छ । सांसद गिरीलाई कारवाही गरेको बारेमा संसद सचिवालयलाई आज जानकारी गराएको छ । 
तर पार्टीले गिरीलाई यसरी कारवाही गरेपछि तराई मधेशमा त्यसको आलोचना भइरहेको छ । सो कारवाही फिर्ता लिन आग्रह गरिरहेका छन् भने कसैले यो खालको निर्णयले तराई मधेशको अपमान पनि भएको भनेका छन् । 

सरिता गिरीमाथि कारवाही गरेर समाजवादी पार्टीले अक्षम्य अपराध गरेको टिप्पणी राजनीतिक विश्लेषक तुलानारायण साहले गरेका छन् । पार्टीलाई गिरीले जसरी कारवाही गरेको छ, त्यसले गर्दा मधेशी समाजवादीले उचित समयमा यसको मूल्यांकन गरिने पनि बताएका छन् । 

मधेश मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णले सरिता गिरीलाई पार्टीले गरेको कारवाहीप्रति आपत्ति प्रकट गरेका छन् । उनले यस्तो अलोकतान्त्रिक, अनैतिक र जनविरोधी पंचायतकालिन निकृष्ट कार्य कसरी गर्नुभयो भनि अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवलाई प्रश्न पनि गरेका छन् । 

उनले अध्यक्षद्वय भट्टराई र यादवलाई यो दलको लोकतान्त्रिक औचित्यमाथि प्रश्न उठ्ने र उनीहरु नैतिक र लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठ्ने पनि धारणा राखेका छन् । 

राजनीतिक विश्लेषक चन्द्रकिशोरले समाजवादी पार्टीले सरिता गिरीलाई कारवाही गरेर ठूलो गल्ति गरेको प्रतिकृया दिएका छन् । उनले संसदमा अभिव्यक्ति स्वतन्त्रता हुनुपर्ने बताउँदै कसैले आफ्नो अन्तरआत्माको कुरा त्यहाँ बोल्न पाउनुपर्छ, कुनै प्रकारको रोकटोक हुनु नपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने उनले बताए ।

उनले यसअघि तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साह र काँग्रेसका नेता प्रदीप गिरीले पनि संविधानसभामा पार्टीको ह्वीप उल्लंघन गरेका थिए । उनीहरु संविधान निर्माणका दिन संसदमा उपस्थित थिए तर पार्टीले कुनै कारवाही गरेको नसुनिएको बताए । विश्वमा यस्ता थुप्रै उदाहारणहरु छन् जहाँ संसदमा नेताहरुले पार्टीको निर्णय विपरित बोलेका छन् तर यसखालको कारवाही भएको नसुनिएको उनले बताए । 

प्रदेश २ सरकारका प्रमुख न्यायधिवक्ता दीपेन्द्र झाले समाजवादी पार्टीले सरिता गिरीको हकमा एग्रेसिभ निर्णय लिएको आफूलाई अनुभूति भएको बताएका छन् । संसदमा बोले वापत पद नै जानुले भविष्यमा अन्यका लागि पनि राम्रो नजिर नबसेको बताउँदै पार्टीको ह्वीप उल्लघंन हुँदा समान्यत कारवाही भनेको आन्तरिक र अनुशासनको हुने बताएका छन् । 

ह्वीप उल्लघंनले गर्दा पार्टीबाट निष्काशन वा संसद पदबाट निलम्बन होइन, त्यस्तालाई आन्तरिक र अनुशासनको कारवाही वा चेतावनी जस्ता कारवाही हुने गरेको र संसारभरीका दलीय व्यवस्थामा यही हुने गरेको उनको भनाइ छ ।

नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । 

सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिए पनि उनले फिर्ता लिएकी थिइनन् । उल्टै विधेकमाथि चुनाव भएको दिन संसदको बैठक नै बहिष्कार गरेर निष्केकी थिइन् । प्रस्ताव फिर्ता नलिए कारवाही गर्न बाध्य हुने संसदीय दलले पठाएको पत्रमै उल्लेख थियो । 

पार्टीको अनुशासन तथा ह्वीप उल्लघंन गरेको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण मागेको थियो । तर उनले पार्टीलाई सन्तोषजनक जवाफ नदिएको भन्दै पार्टीले उनलाई हिजो कारवाही गर्ने निर्णय गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप