केन्द्रीय संस्करण

'पूर्वाधार विना आयुर्वेद विश्वविद्यालयको औचित्य छैन'

person explore access_timeअसार २४, २०७७ chat_bubble_outline0

आयुर्वेदका पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । संघीय संसद राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाहरुले आयुर्वेद अस्पताल, फर्मेसी लगायतको विकास र विस्तार नगरीकन विश्वविद्यालय खोल्नुको औचित्य नहुने बताएका छन् ।

पछिल्लो समय आयुर्वेद शिक्षामा आकर्षण कम हुँदै जानुको कारण पनि प्रयाप्त आयुर्वेद हस्पिटल र रिसर्च संस्थाहरु नहुनु नै रहेकाले सबैभन्दा पहिला पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका हुन् । 

आयुर्वेद विभागका महानिर्देशक बासुदेव उपाध्यायले नेपालमा अहिले सम्म ३ सय ८२ वटा आयुर्वेद स्वास्थ्य संस्था रहेको तर अझैपनि १ सय आयुर्वेद विशेषज्ञ चिकित्सकहरु नरहेको बताए । उनले देशभित्र प्रयाप्त आयुर्वेद अस्पताल नभएसम्म विश्वविद्यालय खोलेर मात्र आयुर्वेद शिक्षालाई अगाडि बढाउन नसकिने बताए । उनले नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद कलेज सञ्चालन गरेको तर प्रभावकारी नदेखिएको बताए ।

कलेज खोल्ने तर ओपीडी बाहेकको सेवा दिन सक्ने अस्पताल सञ्चालन नगरिने भएकाले योगमाया आयुर्वेद विश्वविद्यायल सञ्चालनका लागि पनि चुनौति रहेको बताए । आयुर्वेद शिक्षण अस्पतालका निर्देशक डा. राजकिशोर साहले पनि आयुर्वेद विश्वविद्यायल सञ्चालन गर्नका लागि सबैभन्दा पहिला आयुर्वेद अस्पताल, आयुर्वेद फार्मेसी, औषधी उत्पादन कम्पनी लगायतका पूर्वाधारको आवस्यकता पर्ने बताए ।

विश्व विद्यालय खोल्न अनिवार्य भएपनि सरकारले पूर्वाधारको तयारी नगरीकन खोल्न नहुने बताए । उनले अहिले सम्म आयुर्वेद नर्सिङको क्षेत्रमा पनि कुनै काम हुन नसकेको बताए । 

नरदेवी अस्पतालका निर्देशक डा. प्रदीप के.सी.ले आयुर्वेदबाट पनि उपचार हुन्छ र ? भन्ने दृष्टिकोण परिवर्तन गर्नका लागि पनि विश्वविद्यालय खोल्नुपर्ने बताए । उनले आयुर्वेद चिकित्सा शिक्षा प्रति अहिले भइरहेको दृष्टिकोण परिवर्तन गर्ने र अध्ययन अनुसन्धानलाई अगाडि बढाउने हो भने आयुर्वेद क्षेत्र धेरै माथि पुग्ने बताए ।

छलफलमा सांसदहरुले प्राचीन दर्शनमा आधारीत आयुर्वेद क्षेत्रको विकास र विस्तरका लागि विश्वविद्यालय आवस्यक रहेको बताएका छन् । सरकारले पनि प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यबहारिक तथा व्यवसायिक बनाउने उद्देश्यका साथ योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने गरी विधेयक ल्याएको हो ।

विधेयकले आयुर्वेदिक चिकित्सामा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय आवस्यक रहेको भनेको छ ।

विश्वविद्यालयले आयुर्वेद विषयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालयमा आवश्यकता अनुसार आयुर्वेद, आयुर्वेद नर्सिङ, जडिबुटि, योग शिक्षा, प्रकृतिक चिकित्सा लगायतका स्कुल कलेजहरु सञ्चालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ ।

यस्तै आयुर्वेद अनुसन्धान केन्द्र, आयुर्वेद शिक्षण अस्पताल लागयत पनि सञ्चालन गर्न पाउने छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.