शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६ वर्षपछि दाङको पत्रे खोलामा पुलको ‘डिजाइन’ स्वीकृत

बुधबार, २४ असार २०७७, १२ : ४८
बुधबार, २४ असार २०७७

घोराही ।  करिब ४ वर्षपछि दाङको तुलसीपुर सडकखण्डको पत्रेखोलाको अलपत्र पुलको डिजाइन स्वीकृत भएको छ । पुल निर्माणकै क्रममा २०७३ सालमा सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुलको डिजाइन गर्नुपर्ने भन्दै पुल निर्माणको काम रोकिएको थियो । डिजाइन स्वीकृत भएपछि विगत ६ वर्षदेखि अलपत्र रहेको पुल निर्माणको बाटो खुलेको छ ।

डिजाइन फाइल स्वीकृत नहुँदा पुल निर्माणको जिम्मा पाएको शंकर माली निर्माण सेवाले काम गरेको थिएन । करिब लामो समयपछि असारको १९ गते पुल डिजाइन काम स्वीकृत भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए ।

पुल डिजाइनको काम स्वीकृत भैसकेकाले अब पुल निर्माणको काम अघि बढ्ने समेत उनले बताए । ‘पुलको सुपरस्ट्रक्चर परिवर्तन गर्नुपर्ने भएपछि पत्रेखोलामा पुल निर्माणको काम रोकिएको थियोे, अहिले सडक विभागबाट डिजाइन स्वीकृत भएको छ’, कार्यालय प्रमुख शाक्यले भने– ‘अब पुल निर्माणको बाटो खुलेको छ, निर्माण कम्पनीले छिट्टै पुल निर्माणको कामलाई शुरु गर्नेछ ।’

पुल डिजाइन रिभ्यूका लागि पटक–पटक फाइल पेश भएपनि निर्माण कम्पनीले आवश्यक कागज पूरा गर्न नसक्दा फाइल स्वीकृत हुन सकेको थिएन । जसले गर्दा पुल निर्माणमा ढिलाई हुँदै आएको थियो । ‘पुलको डिजाइन रिभ्यूको फाइल सडक विभागमा पटक–पटक पुगे पनि विभिन्न कागज नपुगेको पस हुन सकेको थिएन’, प्रम्ख शाक्यले भने– ‘म कार्यालय प्रमुखका रुपमा आएपछि यसलाई प्राथमिकता दिएर लागेको थिए, अहिले बल्ल डिजाइन स्वीकृत पास भएको छ ।’ अब डिजाइन स्वीकृत भैसकेकाले म्याद थप गरिने र समयमै पुल निर्माण सम्पन्न हुने दाबी उनले गरे ।

दुई वर्षमा पुल निर्माणको काम सक्ने गरी २०७१ साल असोज ११ गते सडक डिभिजन कार्यालय र पुल निर्माणको जिम्मा पाएको शंकरमाली निर्माण कम्पनीका बीच सम्झौता भएको थियो । मूल्यवृद्धि करसहित ४ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप