बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाग्लुङमा वर्षाले बेलैमा रोपाइँ

बुधबार, २४ असार २०७७, १२ : ३३
बुधबार, २४ असार २०७७

बाग्लुङ । जिल्लामा ५५ प्रतिशत रोपाइँ सकिएको छ । वर्षाले साथ दिएपछि चाँडै रोपाइँ भएको हो । असारभित्र अधिकांश क्षेत्रमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । “मौसम अनुकूल पर्नाले यसपालि रोपाइँ छिटो भयो”, केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने । सिञ्चित र दुई बाली फल्ने खेतमा त जेठ दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको थियो ।

बढी धान उब्जाउ हुने मजुवा फाँटमा रोपाइँ सकिएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए । गलकोटका मजुवालगायत फाँट खोला आसपास भएकाले रोपाइँलाई समस्या नपर्ने उनको भनाइ छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् ।

आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिक जसो परेको वर्षाले किसानलाई राहत मिलेको छ ।  छिटो रोपाइँ हुने क्षेत्रमा गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायत पर्छन् । तीन बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । 

जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । ‘बागलुङमा प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुन्छ’, वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भने– ‘उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तारै बढ्दै छ ।’

बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन् । तुलनात्मक रुपमा भने अहिले पनि स्थानीय जातकै धान खेती बढी हुने गरेको केन्द्रले जनाएको छ । उन्नत धानको खेती बढाउन किसानका लागि बीउ वितरण, विज वृद्धिजस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने किसान बताउँछन् । 

जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ्रे, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १,२,३ लगायतका उन्नत धानको खेती हुँदै आएको छ । छिमेकी पर्वत जिल्लामा भने हालसम्म जम्मा २५ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । पर्वतमा झण्डै साढे आठ हजार हेक्टरमा धान खेती हुँदै अएको छ । केन्द्रको कार्यक्षेत्रमा बागलुङ र पर्वत पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप