शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राज्यले आपूर्ति गर्न नसक्ने, किसानले ल्याएको मल तस्करी भन्दै सशस्त्रले समात्ने !

आन्दोलन गर्ने किसानको चेतावनी
बुधबार, २४ असार २०७७, ११ : १४
बुधबार, २४ असार २०७७

रौतहट । रोपाइँको सिजनमा आवश्यक मल राज्यले आपूर्ति गर्न सकिरहेको छैन । कृषि सामग्री कम्पनीमार्फत् आउने अनुदानसहितको रसायनिक मलखाद सहज आपूर्ति हुन नसकिरहेको समय जसोतसो भारतीय क्षेत्रबाट ल्याउँदा सशस्त्र प्रहरीले तस्करीको भन्दै बरामद गर्न थालेपछि किसानहरु थप पीडामा परेका हुन् ।

राज्यबाट पनि आपूर्ति नहुने र भारतीय क्षेत्रबाट ल्याउँदा तस्करीको भन्दै सशस्त्र प्रहरीले धमाधम बरामद गर्न थालेको कारण अहिले किसानहरु दुुई गुणा मूल्य तिरेर मलखाद खरिद गर्न बाध्य भएका छन् ।

जिल्लाभरको कूल ३८ हजार ७ सय ५० हेक्टर क्षेत्रफल जग्गामा यसपटक धान खेती भइरहेको कृषि ज्ञानकेन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले जानकारी दिएका छन् । प्रति हेक्टर धान रोपाइँमा एकसय ५० किलो डिएपी, दुुईसय १० किलो युरिया र ६० किलो पोटास लाग्दछ । खेतीको अनुपातमा यसपटक राज्यले अनुदानको मल उपलब्ध गराउन नसकेको ज्ञानकेन्द्रका प्रमुख झाले जानकारी दिएका छन् ।

राज्यबाट सहज आपूर्ति हुन नसक्दा पहिल्यै कालोबजारी भइरहेको र हाल सशस्त्रले बलपूर्वक मलखाद बरामद गर्न थालेपछि भाउ थप आकासिएको कटहरियाका नगरप्रवक्ता चन्दन कुश्वाहाले गुनासो गरेका छन् ।

भारतमा मात्र ४ सय भारु अर्थात ६ सय ४० मा पाउने युुरिया १२ सय र मात्र १५ सय भारु अर्थात २४ सयमा पाउने पारस कम्पनीको डिएपी प्रति बोरा ३५ सयमा किसानहरु खरीद गर्न बाध्य भएको प्रवक्ता कुुश्वाहाले दुुःखेसो पोखेका छन् ।

कृषि प्रधान देशमा बिउ तथा मलखाद राज्यले किसानलाई सहज उपलब्ध गराउनुुपर्ने थियो । किसानले ल्याउने मलखाद पनि कमिसन पाउने लोभमा सशस्त्र प्रहरीले समातेर भन्सार बुुझाउनुु दुःखद भएको नेकपा प्रदेश २ कमिटी सदस्य त्रिभुवन साहले टिप्पणी गरेका छन् ।

यता, सशस्त्र प्रहरीबल प्रदेश २ का प्रमुख डिआईजी राजुु अर्यालले लकडाउनको कारण राज्यले माग अनुसारको मलखाद आपूर्ति गर्न समस्या भएको समय किसानले ल्याउँदा कुनै बाधा नगर्न प्रदेशभरीनै निर्देशन दिने प्रतिबद्धता गरेका छन् ।

रौतहटस्थित सशस्त्र प्रहरीले हिजोमात्र एक सय ७६ बोरा मलखाद बरामद गरेको छ भने केहीदिन अघि कैयौँ मोटरसाईकल, साईकलसहित सैयौँ बोरा रसायनिक मलखाद तस्करीको भन्दै बरामद गरेर भन्सार पुुर्याएको किसानहरुले गुुनासो गरेका छन् ।

राज्यले सहज आपूर्ति पनि नगर्ने र भारतीय क्षेत्रबाट जेनतेन ल्याउँदा सशस्त्रले समात्ने काम गलत रहेको भन्दै यस्तो गतिविधि तुरुन्त नरोकिए सशस्त्र प्रहरीको विरुद्धमा कडा आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप