शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् नवनियुक्त प्रहरी महानिरीक्षक थापा ?

'एकलौटी निर्णय गरेर अगाडि बढ्दिन'
मङ्गलबार, २३ असार २०७७, २० : ३६
मङ्गलबार, २३ असार २०७७

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री संगठनमा इमान्दार र शालिन स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । 

भक्तपुरको कटुन्जेका थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन् । २०४९ वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थापाका बुबा शम्भु थापा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हुन् । 

थापा २०५८ मा डीएसपी, २०६७ मा एसपी, २०७४ मा एसएसपी र २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए । त्यस्तै २०७६ फागुन १५ गते दोस्रो नम्बरमा एआईजी बढुवा भएका थिए । 

२८ औं आईजीपीमा नियुक्त भएका थापाले प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारी हुन् । 

नीतिगत निर्णय गर्न रुचाउने थापा शिष्ठ शालिन प्रहरी अधिकारीको पहिचान बनाएका व्यक्तित्व हुन् । एआईजी बढुवा हुनुपूर्व थापा महानगरीय प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत थिए । 

एआईजी बढुवामा एक नम्बर रहेका थापासँग फिल्डमा कम काम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर क्षमता रहेको बताइन्छ । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा पनि गएका छन् ।  

उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् । इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोकमा काम गरेका छन् ।

त्यस्तै डीएसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड सम्हाले भने एसपी हुँदा कास्की र झापाको कमाण्ड सम्हाले ।

एसपी हुँदै उनी प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । एसएसपी भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । त्यस्तै डीआईजीमा पनि थापा प्रहरी प्रधान कार्यालयको प्रवक्ता भएका थिए ।

एआईजी हुँदा मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थापामाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्यो । प्रहरीको पछिल्लो बढुवामा रोलक्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको

बढुवा निस्केसँगै निवर्तमान आईजीपी ज्ञवाली र थापामाथि संगठनमा न्याय गर्न नसकेको पनि केहीको आरोप छ ।  

चुनौती के–के ?
नवनियुक्त प्रहरी आईजीपी थापाले संक्षिप्त कुरा गर्दै कानून कार्यान्वयमा दत्तचित्त भएर प्रहरी सङ्गठनलाई अगाडि बढाउने बताए । ‘नेपाल प्रहरीले गर्ने भनेको, गृह मन्त्रालयको नीति तथा कार्यक्रम लागू गर्ने हो, त्यसमा कुनै कसर बाँकी रहने छैन,’ थापाले भने । 

आईजीपीको मात्र होइन, प्रहरी हेडक्वार्टरको सामूहिक निर्णयबाट संगठन चलाउन सके कार्यकाल सफल हुने थापाको बुझाइ छ । थापा भन्छन्, ‘एकलौटी निर्णय गरेर अगाडि बढ्दिन ।’

अहिले प्रहरीमा नेतृत्व परिवर्तन हुँदैपिच्छे नयाँ सांगठानिक प्राथमिकता ल्याउने गरिएको छ । थापाले २२ महिने कार्यकालका लागि कसरी प्राथमिकता र कार्ययोजना तय गर्छन् भन्ने त्यो हेर्न बाँकी छ ।

साढे ३३ किलो सुनकाण्डदेखि निर्मला हत्या प्रकरणसम्ममा अनुसन्धान अधिकृत नै आरोपित बनेका छन् । यो स्थितिमा प्रहरीको गिरेको मनोबल उकास्नुपर्ने चुनौति पनि थापासामू छ ।

इमान्दार छविका आईजीपी थापाले अब आफ्नो कार्यकाललाई सरुवा–बढुवामा मात्र सीमित राख्छन् वा सम्झनलायक व्यवसायीक काम गरेर घर जान्छन् भन्ने चाहिँनिकट भविश्यले बताउला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप