शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरिता गिरीको कारवाहीमा उपेन्द्र यादवको छोराले गरे विरोध

मङ्गलबार, २३ असार २०७७, १८ : ४२
मङ्गलबार, २३ असार २०७७

काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई गरेको कारवाहीलाई उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले आपत्ति जनाएका छन् ।

राजपा नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले सांसद गिरीलाई गरेको कारवाहीप्रति अमरेन्द्र यादवले आपत्ति जनाएका हुन् । 

उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव विराटनगरपालिकाका पार्टी अध्यक्ष पनि हुन् । राष्ट्रवादी बन्ने चक्करमा आफ्नो सांसद घटाउँदै र भूमिकाविहिन फेसबुकियाले ठाउँ पाउने संकेत गर्दै उनले कहिले रेशम चौधरी त कहिले हरिनारायण चौधरी त कहिले सरिता गिरीलाई कारवाही हुने गरेको तर जग्गा घोटलामा मुछिएका तथा ७० करोड घोटाला गरेका गोकुल बास्कोटाहरु कसरी राष्ट्रवादी भएको प्रश्न गर्दै उनले आफ्नै सांसद सरिता गिरीको फरकमत राख्ने अधिकारको जवाफको सट्टा नश्लीय राष्ट्रवादको अगाडि आत्मसर्पण जस्तै भएका टिप्पणी गरेका छन् ।

समाजवादी पार्टीको आज बसेको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ ।

नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ । 


नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।

सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण न खुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् । सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलबाट सो विधेयक फिर्ता लिनका लागि उनलाई निर्देशन दिएको थियो ।

फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो विधेयक फिर्ता लिन नमाने पछि उनलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै उनलाई कारवाही गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप