शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीमा यसरी मृत्युलाई जिते टेकबहादुरले, युएईबाट ४ लाख २० हजार सहयोग

मङ्गलबार, २३ असार २०७७, १८ : ३६
मङ्गलबार, २३ असार २०७७

युएई । कोरोनाका कारण हवाई उडान बन्द भएसँगै विगत ४ महिना देखि युएईमा अलपत्र परेका गोरखा नगरपालिका-१३ देउरालीका टेकबहादुर तामाङ ब्रेन ट्युमर रोगी थिए । लामो समयदेखि युएईको फुजेरामा रहेको इमिरेट्स सेक्युरिटी कम्पनीमा गार्डको रुपमा कार्यरत तामाङ गत मार्चमा कार्यकक्षमै एक्कासि ढलेपछि साथीभाईले उनलाई अस्टेर अस्पताल दुवई पुर्याए । तर रिपोर्ट सोचेजस्तो आएन, चिकित्सकले ब्रेन ट्युमर भएको बताए।

अस्पतालले ब्रेन ट्युमरको अप्रेशन गर्ने बतायो । अप्रेशनको लागि एक लाख दिराम अर्थात् करिब (३२ लाख रुपियाँ) खर्च लाग्ने अस्पताल स्रोतले जानकारी दियो। सोही कम्पनीका सुपरभाइजर नवलपरासीका गिरिराज भण्डारीले भने, ‘तामाङसँग भएको हेल्थ इन्सुरेन्सले ठुलो रकम कभर गर्न सकेन । उनी समस्या परे।’

कोरोनाका कारण गत मार्च तेस्रो हप्तादेखि सबै हवाई उडानहरु बन्द भयो।उडान बन्द भएसँगै तामाङ न नेपाल फर्कन सके, न उनको यतै उपचार भयो।उनलाई झनै समस्या थपिदै गयो। दैनिक २–३ पटकसम्म ब्लड सर्कुलेसन पर्याप्त नहुँदा उनि ढल्ने गर्थे, सुपरभाइजर भण्डारीले भने, ‘यस्तो अवस्थामा हामीले केही गर्न सक्थेनौं। केही मिनेटपछि उनी आफै उठ्थे । उनको सुरक्षाको लागि एक जना छुट्टै सेक्युरिटीको आवश्यकता पर्थ्यो।

करिब तीन महिनाको कष्टकर समयपछि गत जुन २४ गते तामाङ नेपाल फर्के ।  नेपाल सरकारको विदेशमा अलपत्र परेका नेपालीहरु फर्काउने योजना अन्तर्गत उनको नाम नेपाल फर्कने दूतावासको सूचिमा आएको थियो। अन्ततः उनी नेपाल एयरलाइन्सको चार्टर फ्लाइटमार्फत कम्पनीमा काम गर्ने साथीभाईहरुको सहयोगमा हवाई टिकट काटेर नेपाल फर्किए । युएईमानै कोरोना परीक्षण (पीसीआर) नेगेटिभ रिपोर्ट लिएर फर्किएका तामाङलाई नेपालमा पुगेपछि केही समय होल्डिङ सेन्टरमा राखेर नेपाली सेनाले उनलाई आफ्नै परिवारको जिम्मा दिएका थिए।

नेपाल फर्किएको १ दिनपछि तामाङ फेरि एक्कासी ढले, तत्काल उनलाई बासबारीस्थित न्युरो अस्पताल पुर्याइयो । ब्रेन ट्युमर रिपोर्ट युएईको अस्पतालले दिएकोले चिकित्सक हरुलाई रोग पत्ता लगाउन सहज भयो । न्युरो अस्पतालका डा. शेखर श्रेष्ठको नेतृत्वमा चिकित्सक टोलीद्वारा उनको शल्यक्रिया गरिएको पारिवारिक स्रोतले बतायो । पारिवारिक स्रोतका अनुसार अहिले उनको शल्यक्रिया सफल भएको छ,  शल्यक्रिया पछि उनलाई केहि दिन आइसियूमा राखेर उपचार गरिएको थियो।

अहिले अवस्था नर्मल हुँदै गइरहेको तामाङकी श्रीमती चन्दा तामाङले बताइन् ।उनले भनिन्, ‘शल्यक्रियापछि अवस्था राम्रो भएको छ । आजबाट बिरामी वार्डमा सारिएको छ। सामान्य बोल्ने र आफन्त चिन्न सक्ने अबस्थामा हुनुहुन्छ।’ उनलाई पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले अस्पतालमानै गई भेट गरेका छन्।

४ लाख २० हजार सहयोग
ब्रेन ट्युमर रोगको उपचार गराइराखेका तामाङलाई युएईबाट ४ लाख २० हजार ३२ रुपियाँ सहयोग पठाइएको छ।

आफ्नै कम्पनीमा कार्यरत नेपाली साथीभाईहरुले संकलन गरेर उपचारको लागि उक्त रकम पठाइएको इमिरेट्स सेक्युरिटी कम्पनीका सुपरभाइजर सुनवल–११ नवलपरासीका गिरिराज भण्डारीले रातोपाटीलाई बताए। पीडित तामाङकी श्रीमती चन्दा तामाङको खैरेनीस्थित प्रभु बैक खातामा उक्त रकम जम्मा गरेको भण्डारीले बताए।

६ वर्ष पहिले सब इन्टरनेश्नल ह्युमेन रिसोर्सेस म्यानपावर काठमाडौंबाट रोजगारीको लागि युएई आएका तामाङ विगत ४ वर्षदेखि इमिरेट्स सेक्युरिटी कम्पनी फुजेराका कार्यरत थिए। तामाङको परिवारमा श्रीमती, २ छोरा र आमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप