केन्द्रीय संस्करण
जात्राको तयारी

कोरोना भाइसरको जोखिमका बीच यसरी निर्माण गरिँदैछ रातो मच्छिन्द्रनाथको रथ (फोटो/भिडियो)

person explore access_timeअसार २३, २०७७ chat_bubble_outline0

पाटनको प्रसिद्ध रातो मच्छिन्द्रनाथको जात्राका लागि धमाधम रथ निर्माण थालिएको छ । ललितपुरको पुल्चोकमा गत असार १० गतेदेखि रथ निर्माण थालिएको हो ।

कोरोना संक्रमणको जोखिमका बीच पञ्जा, स्यानीटाइजर लगाउनुका साथै ज्वरो नापेर रथ निर्माणको काम भइरहेको रथ निर्माणको काममा खटिएका ज्ञानबहादुर महर्जनले जानकारी दिए । 

पुल्चोकको पोखरीमा बेत भिजाएर राखिएको छ । रथका लागि आवश्यक पर्ने काठ सडक छेउ राखिएको छ । बेतले काठ बाँध्दै रथ अग्ल्याउने काम भइरहेको हो ।

यस्तै रथको पाङ्ग्रामा भैरवको चित्र कोर्ने काम पनि भइरहेको छ । पाटन मंगलबजारका सुमन चित्रकारले पाङ्ग्रामा भैरवको चित्र कोरेका छन् । १२ वर्षको उमेरदेखि चित्र कोर्न थालेका उनले यसरी चित्र कोर्न थालेको ५० वर्ष भएको उल्लेख गरे ।

रथ निर्माणका लागि झन्डै १५ दिन हाराहारी लाग्ने र प्रत्येक दिन ४० जनाजति खटिने गरेको ज्ञानबहादुर महर्जनले बताए ।

चैत शूक्ल पूर्णिमाको दिन विधिपूर्वक पूजा गरेपछि रथ निर्माणको काम थालनी हुने गरेको छ । 

यसरी रथ निर्माणका लागि छुट्टाछुट्टै पाँच समूह खटिने गरेका छन् । रथमा काठको काम बाराहीले गर्ने गर्दछन् । २४ जनामा रहने उनीहरुको समूहले रथको तला थप्ने, चक्का राख्ने गर्दछन् । १२ जना यँवालहरूले रथको जोर्नीहरूमा बेत बाँध्ने गर्छन भने बोसी समुदायले रथका लागि काठको व्यवस्था गर्नुका साथै आकार प्रकार मिलाइदिने गर्छन् । उनीहरुको पनि १२ जनाको समूह रहने गर्छ ।

रथ वनाउन ललितपुरको गोदावरी र हेटौँडाको मनहरीबाट सान्दानको काठ ल्याइन्छ । बोसी थरका नेवारहरूले साइत हेराएर जंगल जाने, काठ काट्ने र तबहालस्थित गुठी संस्थानको कार्यालयअघि ल्याएर त्यसलाई आकार दिने गर्छन् ।

यस्तै २ जना चित्रकारले रथको पाङ्ग्रामा चित्र कोर्ने गर्दछन् । यस्तै घकु समुदायबाट रथलाई बाटो देखाउने र तान्ने काम हुन्छ ।

पाटनको रातो मच्छिन्द्रनाथको रथयात्राको इतिहास १६ सय वर्ष पुरानो रहेको छ ।

यो रथयात्रा वैशाख शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भइ असारशुक्ल चौथीमा समाप्त हुन्छ ।

यो जात्रामा रातो मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथको पनि रथ बनाएर परिक्रमा गर्ने चलन रहेको छ ।

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राष्ट्राध्यक्षले भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान मानिन्छन् । बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिने गरिएको छ ।

यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण भक्तपुरको विष्केट जात्रा रोकिएपनि मच्छेन्द्रनाथको जात्रा भने अगाडि बढाइदैछ । यो जात्राका लागि गुठी संस्थानबाट ५० लाख रुपैयाँ बजेट उपलब्ध गराइएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले रातोपाटीलाई जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर जात्राको काम गर्न निर्देशन दिएको थपलियाले जानकारी दिए । उनले अहिलेको अवस्थामा क्षमा पूजा गरेर अर्को बर्ष जात्रा गरेको हुने भन्दै स्थानीयको भावना विपरित जान पनि नसकिने बताए ।

उनले भने, ‘संस्कृति रोक्ने भन्ने कुरा हुँदैन । क्षमा पूजा गरेर पछि गर्न पनि सकिन्थ्यो । यस्तो बेलामा जबरजस्ती नगरिदिएको भए राम्रो हुन्थ्यो । ज्यापु समाजले निर्णय गरी जिल्ला प्रशासन कार्यालयमा चिठी दिएर गरेको भन्ने आएको छ । जिल्ला प्रशासन कार्यालयको सहमति अनुसार गर्दा राम्रो हो । नभए यसले भोली समस्या हुन सक्छ । बरु रथ नतानेर कुनै खटमा राखेर परिक्रममा गरेर बुङमति लैजान पनि सकिन्छ । दश पन्ध्र जना भएर यसरी गर्दा पनि हुन्थ्यो । हामीले यसरी गर्नु नगर्नु भनेर हुने कुरा पनि भएन, यो जनताको भावनासँग जोडिएको कुरा हो ।’

निकै मिहेनत गरेर बनाइएको मच्छिन्द्रनाथको रथ अग्लो र सन्तुलित हुन्छ । ललितपुरको पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेल हुँदै जाउलाखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा सकिने गरेको छ ।

हेर्नुहोस् भिडियो :

हेर्नुहोस् थप फोटोहरु

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.