केन्द्रीय संस्करण

देशभक्त जनसंस्कृति निर्माणको अपील

person explore access_timeअसार २३, २०७७ chat_bubble_outline0

नेपालको संविधान –०७२ मा राष्ट्र र राज्य छ, तर देश छैन अथवा विस्थापित छ । धारा–३ मा राष्ट्र छ, तर बगरको ढुङ्गाजस्तो, जुन चिठनका लागि पटक्कै ताल नमिलेको, जसको प्रयोजन खाल्डाखुल्डी भर्नको लागि मात्र हुन्छ । धारा–४ मा राज्य छ, त्यो राष्ट्रकै हालतबाट गुज्रेको छ । तब देश बिनाको राष्ट्र र राज्यलाई यहाँ टाउकोले टेकाएर उभ्याइएको छ । त्यसैले देश निर्माण गर्दै राष्ट्र र राज्यलाई खुट्टाले टेकाएर उभ्याउने महान उद्देश्यमा नेकपा (माओवादी केन्द्र) ले पैदल यात्राको मेची–महाकाली देशभक्त जनसांस्कृतिक अभियान प्रारम्भ गरियो ।

२५ औं जनयुद्ध दिवसको अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी ०७६ फागुन २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको अभियान पैदल यात्रामा आधारिति थियो । रुक्साक झोलामा ओढ्ने ओछ्याउने  सामग्री बोकेर लौरो टेक्दै पूर्व–पश्चिम लोकमार्गमा सञ्चालित अभियानका अभियान्ताहरुले वास्तवमा सैनिक जीवन अभ्यास गरियो । गाडी प्रयोगबाट मेची–काली गर्ने अरु पनि छन्, पार्टी अध्यक्ष गोपाल किराती नेतृत्वमा हजार चालिस किलोमिटर पैदल यात्रा गर्ने माओवादी केन्द्र नै प्रथम रह्यो । यद्यपि, वन्यजन्तु आक्रमण जोखिमका कारण राष्ट्रिय निकुञ्ज इलाकामा अभियान टोलीले बस चढ्नु पर्‍यो ।

विभिन्न शहरमा चोकसभासहित हाते पर्चा वितरण मार्फत अभियान टोलीले जनसमक्ष आफ्ना मागहरु प्रस्तुत गरियो । त्यसमा अभियानको नामले नै प्रष्ट गर्दछ, उक्त राजनीतिक कार्यक्रम मुख्यतः देशभक्तिपूर्ण जनसांस्कृति निर्माणको अपीलमा केन्द्रीत थियो । भारत र अमेरिकी गठबन्धनको इण्डिो–प्यासिफिक सैन्य रणनीतिमा संलग्नता, त्यसैको अंग एमसीसी सम्झौता तथा नेपाली भूमि हडप्ने भारतीय सरकारको अन्यायपूर्ण हस्तक्षेप बिरुद्ध उपरोक्त अभियान जारी गर्‍यो ।

देश, राष्ट्र र राज्यवीच घनिभूत अन्तरसम्बन्ध छन्, तर यी एउटै भने होइनन् । नेपालको संदर्भमा राष्ट्र र राज्यको प्रश्नमा नेपाली जनतामाझ जटिल अन्तर्विरोध विद्यमान छ । देशको प्रश्नमा भने मतऐक्कता रहदै आएको छ र यही देशभक्त जनमतलाई सुदृढ गरी जनताको जागरणबाट वैदेशिक हस्तक्षेप विरुद्ध प्रतिरोध संघर्ष बढाउँदै नेपालको स्वाधीनता, सार्वभौमिकता र अखण्डता अक्षुन्ण राख्ने जनसंस्कृति निर्माण माओवादी अभियानको लक्ष्य हो ।

खोक्रो नै भए पनि सोभियत संघ ढलेपछि, २१ औँ शताब्दीको दोस्रो दशकसम्ममा विश्वका महाशक्ति मुलुकहरुमा चरम अन्धराष्ट्रवादीहरु सत्तासीन बन्न पुगेका छन् । यूरोपेली संघबाट छुट्टिने बेलायत, उग्र दक्षिणपन्थी डोनाल्ड ट्रम्प नेत्रुत्वको अमेरिका र रुस हुदै छिमेकी भारतमा भाजपा सरकार त्यही अन्धराष्ट्रवादका उत्कर्ष हुन् । पुजीवादी महाशक्ति जब अन्धराष्ट्रवादमा पतन हुन्छन्, तब आफ्नो आन्तरिक संकटको बोझ कमजोर मुलुकमाथि थोपर्ने धृष्टता गर्दछन् । अन्धराष्ट्रवादी हिंसामा आधारित पुजीको अन्तिम लुछाचुडीमा विश्वयुद्ध भड्कने गर्दछ । इण्डो–प्यासिफिक सैन्य रणनीति, एमसीसी सम्झौता तथा लिपुलेकमा भारतीय कब्जाका आक्रमणहरु यसकारण देखा पर्दछन् ।

दलाल पुजीवादी सत्ताको नेपालमा बैदेशिक हस्तक्षेप प्रतिरोध गर्नुको सट्टा बुर्जुवा कम्युनिस्ट पार्टीको सरकार देशद्रोही एमसीसी सम्झौता गर्ने लम्पसारवादी नीतिमा दलाली मात्र गर्दछ । जसले, सुगौली सन्धिको अन्तिम भड्खारोमा देशलाई जाक्ने खतरा उत्पन्न गरेको छ । ठिक यही अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिमा नेपालमा देशभक्त जनसांस्कृतिक अभियान प्रारम्भ गर्नु परेको हो । द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्लेषणमा नेपाली जनताको देशभक्तिपूर्ण  जनसंस्कृति निर्माणले मात्र नेपाल देशको रक्षासहित वैज्ञानिक समाजवादको मार्ग प्रशस्त गर्न सकिन्छ । राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविकाको ऐतिहासिक कार्यभार देशभक्त जनसंस्कृति निर्माणसँग नै अन्तर्हिहित रहन्छन् ।

नेपाली वस्तुस्थितिमा देश, राष्ट्र र राज्यवारे संक्षिप्त चर्चा गरौँ–

१. देशवारे

सार्वभौम जनताको सार्वभौम भूगोल नै देश हो । एक देशमा एक मात्र राष्ट्र, जस्तो कि जापान अथवा दुई कोरिया आ–आफ्नो ठाउँमा सार्वभौम भौगोलिक इकाई हुन् । जो देशको रुपमा छन् । एक देशमा अनेक राष्ट्रहरु हुन सक्छन् । तत्कालीन सोभियत संघ, संयुक्त राज्य अमेरिका, भारत वा चीन त्यस्ता बहुराष्ट्रिय देशहरु हुन् । बहुराष्ट्रिय मुलुक भएर पनि हान जातिको ९२ प्रतिशत जनसंख्या रहेको स्थितिले विभिन्न जातीय स्वायत्तताको नीतिमा चीन एकात्मक संरचनामा रह्यो भने भारत लगायतमा कुनै एक जाति अर्थात राष्ट्रको अधिकता नरहेको स्थितिले आन्तरिक राष्ट्रियता व्यवस्थापनमा संघीय संरचना अख्तियार गरेको देखिन्छ ।

२. राष्ट्रवारे

सामान्यतः राष्ट्र अर्थात जाति त्यो हो, जो निश्चित भूगोलसँग आबद्ध ऐतिहासिक समुदाय, जसको मौलिक भाषा, अर्थतन्त्र र सांस्कृतिक मनोविज्ञान रहदै आएको छ । वस्तुगत एवं ऐतिहासिक व्यवहारको यस वैज्ञानिक परिभाषामा नेपाल राष्ट्र नभएर देश हो । राष्ट्र नै मान्ने हो भने यो वस्तुतः बहुराष्ट्र हो ।

तर, नेपालको संविधान–०७२ को अंग्रेजी अनुवादमा ‘एथ्नीसिटी’ भनेर अनुवाद जो गरिएको छ, त्यो अन्यन्त गलत र  भ्रमपूर्ण छ । बहुराष्ट्रिय नेपालमा खसआर्य र मधेसी सबल राष्ट्रहरु हुन् । तसर्थ के खसआर्य र मधेसी समुदायलाई अंगे्रजीको ‘एथ्नीक’ स्वीकार्य छ ? जबकि एथ्नीक पदावलीले राज्यसत्ताको मूलप्रवाहमा नपरेको समुदायलाई जनाउँछ । अतः नेपालमा खसआर्य तथा मधेसीलगायत वैज्ञानिक परिभाषायुक्त दर्जनौँ राष्ट्रहरुको गुणवत्ता उपलब्ध छन् । कम्तिमा यी राष्ट्र उन्मुख समुदायहरु हुन् ।

३.  राज्यवारे

राज्य भनेको शासन अधिकार निहित राजकीय शक्ति हो । जससँग संसद, सरकार, अदालत, सेना–प्रहरी, कारागार, कर्मचारीतन्त्र, मुद्रा तथा विदेशनीति र निश्चित वर्गीय विचारधारा हुने गर्दछ । एक राष्ट्रका अनेक राज्य हुन सक्दछन्, जस्तो कि पहिलेको पूर्वी जर्मनी र पश्चिम जर्मनी तथा अहिलेको उत्तर कोरिया र दक्षिण कोरिया । दुई कोरियाली जनसमुह भूगोल, भाषा र एकल मनोवैज्ञानिक संरचनामुक्त ऐतिहासिक जनसमुह हुन् । तर, विचारधारात्मक विभाजनका कारण तीवीच आर्थिक जीवनपद्धतिको अन्तर छ र राज्य तथा देश पनि फरक बन्न पुगेका छन् ।

कतिपय सन्दर्भमा राज्यले राष्ट्रलाई निर्धारण गरी आएको छ भने कतिपय सन्दर्भमा राष्ट्रले राज्यलाई । कतिपय सन्दर्भमा देशले राष्ट्र र राज्यलाई त कतिपयमा राष्ट्र र राज्यले निर्धारण गरी आएको देखिन्छ , विचारधाराको हकमा पनि त्यही हो । जेहोस्, बहुजातीय मुलुकमा देश, राष्ट्र र राज्यवीच वैज्ञानिक समायोजनले मात्र जनताको अग्रगामी न्याय र  प्रगति व्यवस्थापन सम्भव हुने गरेको छ । यँहीनिर एकल राष्ट्र प्रधान मुलुकमा एकात्मक संरचनाको तथा बहुल राष्ट्र प्रधान मुलुकमा संघात्मक अथवा अधिकार सम्पन्न स्वायत्तताको राज्य संरचना वस्तुगत आवश्यकताा बनेर उभिन्छ ।

उपरोक्त तथ्य विश्लेषणका आधारमा नेपाल एक सार्वभौम जनसहुको सार्वभौम देश हो र सम्विधानको धारा–३ ले भने बमोजिम “नेपाली जनता समष्टिमा राष्ट्र हो ।” संविधानको धारा–३ मा राष्ट्रको परिभाषा गर्दै लेखिएको छ– “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रममा आवद्ध नेपाली जनता समष्टिमा राष्ट्र हो ।”

कुटिल भाषाशैली प्रयोग गर्दागर्दै पनि सम्विधानले नेपाललाई “एक मात्र राष्ट्र” चाहीँ भन्न सकेको छैन । बरु “एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता” र “समष्टिमा” लेख्न त्यो वाध्य बनेको देखिन्छ । तर, नेपालको वास्तविकता अभिव्यक्त गर्न भने त्यो सोह्रै आना चुकेको प्रष्ट छ  । “एकताको सुत्रमा” र “समष्टिमा” जस्ता कुट लेखन छाडेर सिधै– “बहुराष्ट्रिय देश हो” र “देशको एकता र अखण्डताप्रति सबै नेपाली दृढप्रतिवद्ध रहनुपर्छ” – सम्विधानमा यो व्यवस्था हुनु पर्दथ्यो, जसले वस्तुस्थितिको सही अभिव्यक्ति गर्दथ्यो । यद्यपि, नेपालको संविधान धारा–३ बमोजिम–“नेपाल समष्टिमा राष्ट्र हो न कि एक मात्र राष्ट्र ।”

अर्काे, उक्त संविधानमा “देश” हराएको छ अर्थात “देश” लाई विस्थापित गरिएको छ । धारा– ३ मा “राष्ट्र” को परिभाषालाई नै त्यसले “देश” भन्न खोजेको छ । जुन, बहुराट्रिय नेपालमा खसआर्य राष्ट्रको एकल प्रभूत्व कायम राख्ने दुश्प्रयास मात्र हो, भनिरहनु पर्दैन । भाषा, संस्कृति, उत्पति र धर्मका आधारमा पहाडी मूलका दलितहरु खसआर्य राट्र हुन् । परन्तु, ‘ ब्राम्हण, क्षेत्री, ठकुरी, दशनामी’ लाई मात्र ‘खसआर्य’ ठहर गरेको संविधानले पहाडी मूलका दलित जनताको आन्तरिक राट्रियता बलात खोस्ने उच्च जातवादी अपराध गरेको छ, भनिरहनु पर्दैन । तसर्थ संविधानमा जहाँनिर “देश” विस्थापित गरिएको छ र देशको ठाउँमा जबरजस्त “राष्ट्र्र” प्रयोग गरिएको छ, त्यहीँनेर नेपाली जनतावीच राष्ट्र सम्बन्धी जटिल अन्तर्विरोध थोपरिएको छ । यस प्रकारको कुटिल वैधानिक उत्पीडनले यहाँका सबै जातीय, भाषिक, सांस्कृतिक तथा भूगोल अर्थात राष्ट्रहरुको समुदायलाई स्वतन्त्रतापूर्वक देशप्रति एकताको सुत्रमा किमार्थ “आवद्ध” गर्न सक्दैन । राष्ट्र सम्बन्धी आन्तरिक अन्तर्विरोध अथवा आन्तरिक गृहयुद्धको घाउ यथावत राख्दछ ।

नेपाली राज्यको प्रश्नमा सर्वहारा कम्युनिस्टहरु श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माण तथा समाजवादी निर्वाचन प्रणालीको माग गर्दछन् । पुजीवादीहरु र बुर्जुवा (पुजीपति) कम्युनिस्टहरु देशलाई सके प्रतिगमनतिर धकेल्न, नसके यथास्थितिमा राख्न तल्लीन देखिन्छन् । मूलतः यी दुई वर्ग दृष्टिकोणवीच अन्तर्विरोध नै नेपालमा जटिल अन्तर्विरोध हो । जसले, अन्ततः बाह्य र आन्तरिक उत्पीडन विरुद्ध भीषण वर्गसंघर्षकै माग गर्दछ ।

उपरोक्त विश्लेषणका आधारमा यहाँ जनसमुदायवीच राष्ट्र र राज्यको प्रश्नमा अन्तर्विरोध जटिल छ, अर्थात देशको प्रकृति अनुकुल राष्ट्र र राज्यवारे न्यायपूर्ण वैज्ञानिक समाधान गरिएकै छैन । परन्तु, देशको सम्बन्धमा भने सबै समुदायका नेपालीको मतऐकता रहनु राष्ट्रिय स्वधीनता रक्षार्थ लौह किल्ला एवं उर्जाशील शक्ति हुन आएको छ ।

सर्वहारा दृष्टिकोणमा पृथ्वीनारायण शाह

हरेक वस्तु र घटनालाई एकको दुईमा विभाजन गरेर हेर्नु माओवादी मान्यता हुन्छ । यस अनुसार पृथ्वीनारायण शाहको मूल्याङ्कन गर्दा भूगोल केन्द्रीकरणमा उनको भूमिकालाई बिना हिच्किचाहट समर्थन गर्नुपर्छ । सामन्तवाद त्यस हदमा प्रगतिशील थियो, जसले छरिएको भूमि केन्द्रीकरण गर्‍यो । अतः अनेक राज्यहरुमा छरिएको भूगोल केन्द्रीकरण पृथ्वीनारायण शाहको प्रगतिशील कदम थियो, जसले क्रमशः सार्वभौम नेपाली जनताको सार्वभौम भौगोलिक इकाई निर्माण गर्‍यो अथवा देश निर्माण गरियो ।

परन्तु, राष्ट्र र राज्यको प्रश्नमा भने पृथ्वीनारायण शाहको समर्थन गर्न सकिदैन । राष्ट्रको सम्बन्धमा उनले “असली हिन्दुस्तान” र “चारबर्ण” को जुन कार्यदिशा लिए, त्यसले नेपालमा मुख्यतः दलित, मुस्लिम र आदिवासी जनजाति समुदायलाई अपुरणीय ऐतिहासिक क्षेति गर्‍यो । त्यस कार्यदिशाले स्वभाविक तथा अनिवार्य रुपमा उच्चजात तथा खसआर्यको हातमा राज्यसत्ता केन्द्रित गर्‍यो, जुन मूलतः पहाडिया थिए, जसले मधेसीलाई ऐतिहासिक क्षेति गर्‍यो । भाषाको प्रश्नमा पनि “मगरातको राजा हुँ” भन्ने पृथ्वीनारायण शाहले मगर भाषा बोलेनन्, अथवा मगर भाषालाई किञ्चित प्रोत्साहित गरेनन् ।

अतः भूगोल केन्द्रीकरणद्वारा देश निर्माणको प्रश्नमा पृथ्वीनारायण शाहको कदमलाई दृढ समर्थन गर्दै, तर उनका अन्यायपूर्ण आन्तरिक राज्यप्रणाली, जुन गोर्खाली अन्धराष्ट्रवादमा पतीत छ , को भने बृहत्तर वैज्ञानिक पुनः संरचना अपरिहार्य आवश्यक छ । त्यस निमित्त राष्ट्रको वस्तुगत परिभाषामा आधारित रहेर राज्य तथा देशवीच नयाँ राष्ट्रिय एकीकरणको अग्रगामी व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

राष्ट्रहरुको राष्ट्रिय भावना देशभक्तिमा अभिव्यक्त हुने गर्छ । पुनर्लेखनद्वारा सम्विधानको जघन्य कम्जोरी सच्याउँदै सम्पूर्ण विशिष्टताका नेपाली जनसमुदायवीच देश रक्षा तथा सुदृढीकरणको वैज्ञानिक सुत्र स्थापित गर्नु पर्दछ । बाह्य हस्तक्षेप प्रधान बनेको बेला आन्तरिक राष्ट्रवादको पूर्ण जनवाद  सुनिश्चित गर्ने ठोस प्रतिबद्धतासहित नेपालमा देशभक्तिपूर्ण जनप्रतिरोध आन्दोलन स्वतः प्रधान बन्ने हुन्छ । त्यस निमित्त आगामी सय वर्षको लडाई लड्ने जनसंस्कृति निर्माण आजको ऐतिहासिक एवं वस्तुगत आवश्यकता हो ।

 अन्त्यमा, गौरव र खुसीको कुरा हो कि लिपुलेक नक्सावारे नेपाल देश एक ढिक्का बनेको छ । ईन्डो–प्यासिफिक सैन्य रणनीति र एमसीसी सम्झौता खारेज आन्दोलनमा वृहत्तर नेपाली जनमत सुदृढ भएको छ । आशा छ, देशभक्त जनसंस्कृति निर्माण अभियानले अमेरिकी साम्राज्यवाद तथा विस्तारवाद विरुद्घ गणतन्त्र नेपाललाई नयाँ शताब्दीको भियतनाम अथवा ह्यूगो चावेजकालीन भेनेजुयला बनाउने सामथ्र्य प्रदर्शन गर्नेछ, देशभक्त जनप्रतिरोध क्रान्ति उठाउँदै टिष्टा–काँगडा फिर्ता आन्दोलन सफल गर्नेछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.