शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यका असुरक्षित, कोरोना संक्रमितको संख्या कसरी बढ्यो ?

बाहिरबाट आउने चापले गर्दा उपत्यका कोरोनाको जोखिममा : डा. पुन
मङ्गलबार, २३ असार २०७७, ०९ : २०
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । सरकारले असार १ गतेबाट लकडाउनको मोडालिटी फेरेपछि पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाभित्र कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबारमात्रै भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भयो । 

त्यसको अघिल्लो दिन अर्थात आइतबार उपत्यकामा ३० जनामा कोरोना पोजेटिभ देखियो । त्यस्तै बिहीबार पनि एकैपटक उपत्यकामा ३२ जनामा कोरोना संक्रमण देखिएको थियो । उपत्यकाका ३५ भन्दाबढी ठाउँमा संक्रमित भेटिएका छन् भने उपत्यकामा संक्रमितको कूल संख्या २३९ पुगेको छ । 

लकडाउन खुकुलो बनेसँगै उपत्यकाको चोक–चोकमा मानिसहरुको चहलपहल बढेको छ । मानिसको चहलपल बढेसँगै उपत्यकामा कोरोना संक्रमणको जोखिम पनि उतिकै बढेको संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोला बताउँछन् । 

‘काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिसको संख्या धेरै छ । भिडभाड छ । त्यसैले अन्य जिल्लाको तुलनामा काठमाडौँमा जोखिम बढी हुन्छ,’ बास्तोलाको भनाइ छ । 

यसरी कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि काठमाडौँ उपत्यकालाई असुरक्षित महसुस गर्न थालिएको छ । उपत्यका छिर्ने नाकामा प्रहरीको चेकजाँच हुन्छ । हवाई उडानहरु पनि बन्द छन् । 

तर, पनि उपत्यकामा कोरोना संक्रमतिको संख्या कसरी बढिरहेको छ ? सबैको चासोको विषय बनेको छ । के समुदायस्तरमा नै कोरोना फैलिएको हो त ? वा छिटफुट मात्र हो भन्ने भन्न गाह्रो हुन्छ ।

मुख्तयः काठमाडौँ उपत्यकाको स्वास्थ्य संस्थाहरुमा कोरोनाको खतरा धेरै रहेको बास्तोलाले बताए । ‘खुकुलो लकडाउनको कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने गरेको छ,’ बास्तोलाले भने । 

थानकोट, फर्पिङ, जगातीलगायतका उपत्यका प्रवेश गर्ने नाकाबाट मानिसहरु छिर्ने क्रम बढेपछि उपत्यकावासीमा त्रास फैलिएको हो । तुलनात्मक सुरक्षित ठानिएको उपत्यका संक्रमणको चपेटामा परेकाले सजग हुनुपर्ने बास्तोलाले बताए । 

अधिकांश कोरोना संक्रमित मानिस विदेशबाट आएको दावी गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत र अन्य मुलुकबाट आएका मानिसमा कोरोना संक्रमण देखिएको हो । 

‘पछिल्लो समय उपत्यकामा संक्रमित मानिस धेरै विदेशबाट आएका छन् । ७५ प्रतिशत संक्रमित विदेशबाट नै आएका हुन्,’ गौतमले भने । अन्य जिल्लाको तुलनामा काठमाडौँ उपत्यकाभित्र कोरोनाको जोखिम सबैभन्दा धेरै देखिएको गौतमले पनि बताए । 

सरकारले विदेशमा अलपत्र परेका र नेपाल फर्कन चाहेका मानिसलाई धमाधम नेपाल ल्याइरहेको छ । यसरी नेपाल ल्याइएका मानिसलाई होटल तथा होल्डिङ सेन्टरमा राखेर सम्बन्धित जिल्ला पुर्याइएको छ । तर, प्रभावकारी परीक्षण हुन नसकेको गुनासो छ । 

उपत्यकामा किन कोरोनाको खतरा बढ्यो ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बाहिरबाट आउने चापले गर्दा काठमाडौँ उपत्यका कोरोनाको जोखिममा परेको बताए । बाहिरबाट आएपनि सामाजिक दूरीको पालना नहुने पुनको बुझाइ छ । 

धेरै मानिसको आवतजावत हुने भएकाले काठमाडौँ उपत्यकामा सतर्कता अपनाउन आवश्यक रहेको पुनको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नै संसारभर सतर्कता अपनाउन जरुरी रहेको उदाहरण दिँदै पुनले उपत्यकामा मात्र नभएर नेपालभर सतर्कता अपनाउन जरुरी रहेको बताए । 

पुनकै भनाइ जस्ताको तस्तैः–
काठमाडौँ उपत्यकामा जनघनत्व बढी छ । त्यतिमात्र नभएर व्यापारी केन्द्र, मुख्य–मुख्य कार्यालयहरु पनि उपत्यकामा छ । बाहिरबाट आउने व्यक्तिलाई नाकामा रोक्न नसके काठमाडौँ उपत्यका डेन्जर जोनमा पर्छ । व्यापार विजनेसको कारण देखाउँदै काठमाडौँ आउन खोज्ने व्यक्तिहरुलाई नाकामै रोक्नुपर्छ । धेरै भन्दा धेरै नेपालीहरुलाई घुम्न पर्छ । मास्क पनि घाँटी मुनि लगाउँछन् । त्यसैले नियम अनिवार्य पालना गराउनुपर्छ । सामाजिक दूरी कायम गर्न नसक्नु मुख्य चुनौती हो । यसको बारेमा धेरै कुरा पत्ता लाग्न बाँकी नै छ । तर पनि प्रत्येक व्यक्ति सजक हुन आवश्यक छ ।

प्रभावकारी परीक्षणको अभाव
भारतसँग नेपालका प्रदेशहरु १, २, बागमती, ५ र सुदूरपश्चिमको सीमाना जोडिएका छ । यी चार प्रदेशका विभिन्न २६ जिल्ला भारतसँग जोडिएको छ । भारतबाट फर्किएका मानिसहरुमा नै देखिएको हो कोरोना । 

कोरोना संक्रमण सुरु भएपछि विदेशबाट नेपाल भित्रिएकाहरुको पहिचान र परीक्षण प्रभावकारी हुन सकेको छैन । विदेशबाट नेपाल फर्किएका नेपालीको स्वास्थ्य परीक्षण राम्रोसँग गर्नुपर्ने डाक्टर बास्तालाको भनाइ छ । 

नेपालसँग खुला सीमाना भएको र आवातजावात पनि सहजै हुनसक्ने छिमेकी देश भएका कारण भारतमा बढ्दै गएको कोरोना संक्रमणको दरले नेपाललाई पनि जोखिममा पार्ने थाहा हुँदाहुँदै सरकार मौन बस्यो । 

भारतबाट थुप्रै मानिस नेपाल फर्किरहेका छन् । नाकामा कडाइ गरिएको प्रहरीले दावी गरेपनि उनीहरु विभिन्न वहानामा विभिन्न नाका हुँदै काठमाडौँ छिर्ने गरेका छन् । यसरी काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढेको बुझ्न सकिन्छ । 

तराईबाट काठमाडौँ आएका व्यक्तिहरुको निगरानी गर्नुपर्ने डाक्टर बास्तोलाले बताए । बास्तोला भन्छन्, ‘तराईबाट आएका मानिसहरु मेरै अस्पतालमा धेरैको संख्यामा छन् । उनीहरुको कसले निरगानी गरेको छ ?’

स्थानीय तहले पनि कोरोना संक्रमित ठाउँका मानिसहरुलाई अन्यत्र जान रोक लगाउनुपर्ने बास्तोलाको भनाइ छ । ‘उनीहरुलाई व्यवस्तिव क्वारेन्टिन बनाएर सहज वातावरणमा राख्नुपर्छ,’ बास्तोलाले बताए ।

के नाकामा कडाइ छ ?
कोरोना भाइरसको संक्रमति भेटिएपछि नाकामा थप सुुरक्षा व्यवस्था कडाइ पारिएको प्रहरी दावी गर्छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवालीले पनि नाकामा कडाइ गरिएको बताए । 

अत्यावश्यक कारण देखाउँदै मानिसहरु सहजै नाकाबाट आवतजावत गरिरहेका छन् । पैसा लिएर अथवा आफ्नो मानिसकलाई प्रहरीले काठमाडौँ छिर्न दिएको गुनासाहरु पनि नआएका होइनन् । 

उपत्यका छिर्दा सीमा नाकामा तापक्रम अनिवार्य नापेर मात्र आवागमन गराउन आवश्यक रहेको बताइएको छ । गृह मन्त्रालयले दिएको पास देखाएर मानिसहरु धमाधम काठमाडौँ उपत्यकामा प्रवेश गर्छन् ।  

गृह मन्त्रालयको पास देखाएपछि प्रहरीले पनि कुनै रोकावट गर्दैन । 

पूर्वसचिव भीम उपाध्यायले उपत्यका छिर्ने नाकामा मानिसहरूको ज्वरो नाप्नका लागि व्यवस्था मिलाउनुपर्ने बताए । उपत्यका आउने मानिसहरूलाई अनिवार्य तापक्रम नाप्न लगाउन प्रहरी खटाउनुपर्ने उपाध्यायको माग छ । 

सजकता अपनाउन आग्रह

उपत्यकामा दिनानुदिन कोरोना संक्रमित बढ्दो अवस्थामा भेटिएपछि थप सजकता अपनाउनुपर्ने स्वास्थ्य प्रवक्ता गौतमले बताए । ‘हात धुने र सामाजिक दुरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय हो,’ डा. गौतमले भने । 

अहिले सडकदेखि पसलमा मानिसको भीड देखिन्छ । कतिपयले मास्कसमेत नलगाई हिँड्ने गरेका छन् । ‘भीडबाट नै हो रोग सर्ने, त्यसैले भीडमा सकेसम्म नजाने, गए पनि मास्कको प्रयोग गर्नुपर्छ,’ गौतमको बुझाइ छ । 

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा भारतबाट हुनसक्ने आवातजावतलाई रोक्नु मुख्य चुनौती देखिन्छ । अवैध प्रवेश हुने सम्भावना बढी र जोखिमयुक्त हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप