बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सीमा विवाद रहेको भन्दै हुलाकी सडक निर्माणमा भारतको अवरोध

सोमबार, २२ असार २०७७, १८ : ४९
सोमबार, २२ असार २०७७

कञ्चनपुर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय सुरक्षा निकायले सीमा विवाद रहेको भन्दै अवरोध पु¥याएको छ । आइतबार बेलौरी नगरपालिका–८ पचुँई क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा भारतीय सुरक्षाकर्मी आएर उक्त क्षेत्र भारतको भू–भागमा पर्ने दाबीसहित अवरोध पु¥याएको वडाध्यक्ष नन्दकुमार रानाले बताए ।

“आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक झमेला गरेर सडक अवरोध गरे”, वडाध्यक्ष रानाले भने– “यसअघि पनि उक्त क्षेत्रमा भारतीय थिचोमिचो रहँदै आएको छ ।” उक्त क्षेत्रको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अवरोधका कारण दुई दिनदेखि सडक निर्माण अघि बढ्न नसकेको जनाएको छ ।

“जीपीएस नक्साबाट सडक निर्माणस्थल भारतको भूमिमा पर्ने दाबी भारतीय पक्षको छ”, रानाले भने, “यहाँ धेरै ठाउँमा भारतले नेपाली भूमि कब्जा गरेको अवस्था छ ।” शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सडक अवरोधका विषयमा मङ्गलबार छलफल गरेर समाधान खोजिने बताए ।

कञ्चनपुरको डोकेबजार–बेलौरी, बेलौरी बेल्डडाँडी र बेल्डाँडी दैजी खण्डमा विभाजन गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ । हुलाकी सडक योजना कार्यालय धनगढीका इञ्जिनीयर पद्मबहादुर मडैले उक्त क्षेत्रमा यसअघि पनि सडक निर्माणका क्रममा भारतीय पक्षले अवरोध गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप