मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन बनाइयो ?

सोमबार, २२ असार २०७७, १७ : ५०
सोमबार, २२ असार २०७७

काठमाडौँ । आइतबार नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रमुख भ्रातृ संस्थालाई ‘अपूरो र बबुरो’ किन बनाइएको भन्ने प्रश्न उठेको छ । यस्तै प्रश्नसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को एउटा समूह पार्टी कार्यालयको मूल ढोकामा प्लेकार्ड देखाउँदै आएको छ ।

असार १६ गतेबाट केन्द्रीय समिति बैठक बसेको दिन नेविसङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल नेतृत्वको समूह सङ्घको वर्तमान कार्यसमितिलाई पूर्णता दिन र महाधिवेशनको सुनिश्चताको माग राखिरहेको छ ।   गत माघ १६ गते करिब एव वर्षपछि नेतृत्व पाएको नेविसङ्घले ५ महिना ५ दिनसम्म पूर्ण पदाधिकारी समेत पाएको छैन ।

०७५ माग २८ मा नैनसिंह महर नेतृत्वको कार्यसमितिले राजीनामा दिए पनि पार्टी नेताहरुबीच भागबण्डा नमिल्दा नेविसङ्घले नेतृत्व पाउने ०७६ माग १६ को साइत कुर्नुपरेको थियो । नेतृत्व पाएको ५ महिना भइसक्दा पनि नेविसङ्घको कार्यासमिति सात महामन्त्री र दुई उपाध्यक्षमै सीमित छ । 


नेविसङ्घमा अध्यक्षसहित ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ४० जना सदस्य पार्टी सभापति शेरबहादुर देउवा पक्षका रहने भनिएको छ । देउवाले अहिलेसम्म अध्यक्ष र दुई महामन्त्री मात्र जिम्मेवारी दिएका छन् । यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३५ सदस्यको नाम दिन भनिएको थियो ।

पौडेल पक्षले पनि अहिलेसम्म तीन जना महामन्त्री बाहेक नाम दिन सकेको छैन । यस्तै नेता कृष्णप्रसाद सिटौला पक्षबाट २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य वर्तमान कार्यसमितिमा समेटिने सहमति भएको थियो ।
सिटौला पक्षले पनि दुई महामन्त्री र दुई उपाध्यक्षको नाम दिएको छैन ।

यता, उपसभापति विजय गच्छदारको समूहलाई समेट्ने कुरामा पनि कुनै तदारुकता छैन । तरुण दलको हरिबिजोग नेविसङ्घको भन्दा कारुणिक छ । महाधिवेशनको म्यान्डेटसहित नियमित कार्यकालमाथि थपिएको ६ महिनाको म्याद पनि आसारबाट सकिएको छ ।

थपिएको समयमा महाधिवेशन त परको कुरा तरुण दलको ९५ सदस्यीय कार्यसमिति ४ जना पदाधिकारीबाट विस्तार हुन सकेन । त्यसमा पनि अध्यक्ष र महासचिवको लफडा कम्ता रोकच छैन । अरु भ्रातृ संस्थाको पनि हालत यस्तै छ । 

देउवाले विद्यार्थीको प्रतिप्रश्न

यहीबीच सभापति देउवाले असार १९ गते सङ्गठन खै भनेर नेसविसङ्घका नेता कार्यकर्तालाई प्रश्न तेस्र्याए । काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवा नेविसङ्घले सङ्गठन विस्तारमा काम नगरेको भन्दै आक्रोश पोखे ।

अहिले कतै पनि नेविसङ्घ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसङ्घसँग नभएको देउवा भनाइ थियो । उनले भने, ‘राम्रोसँग गर्नुस्, नेविसङ्घलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हा¥यै छ नेविसङ्घ लाज पनि छैन ।’

२०२७ मा नेविसङ्घ अध्यक्षको जिम्मेवारी सम्हालेका देउवाले आफ्नो पालामा देशैभरि नेविसङ्घ रहेको र त्यसले पार्टीलाई बलियो बजाएको सुनाए ।  उनले भने, ‘हामीले सबै ठाउँमा जितेका थियौँ । नेविसङ्घ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसङ्घ देखिँदैन । गाउँ स्कुलमा जबसम्म नेविसङ्घ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन । त्यही नेविसङ्घ त हो नि पार्टी भन्ने । कहाँ छ नेविसङ्घ ? कतिपल्ट भन्ने ।’

नेविसङ्घले सङ्गठन विस्तारमा ध्यान नदिएकै कारणले कम्युनिस्टहरुले चुनाव जितेको दाबी थियो ।  देउवाले भने, ‘स्कुलमा नेविसङ्घ बनाउँदै बनाउँदैनन्, अनि हारेको हा¥यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिस्टले जित्यो यहाँ ? कसरी जिते कम्युनिस्टहरु ? उनीहरुले गाउँगाउँमा सङ्गठन बनाए । काठमाडौँमा आएर बढ्ता–बढ्ता भाषण गरेर केही हुनेवाला छैन । गाउँमा जाउँ, गाउँमा । गाउँमा बनाऊँ, गाउँको स्कुलमा बनाऊँ नेविसङ्घ अनि मात्र झगडा गर्न आऊ । केही नगर्ने, मसित कुरा गर्ने ?’

विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको उनको भनाइ थियो । उनले भने ‘अहिलेको कुरा केही होइन, सबैकुरा मिल्छ । नेविसङ्घको पूर्णता हुन्छ । नेपाली काँग्रेसको अधिवेशनको काम भइरहको हुन्छ । त्यस कारणले दुई साइडको कुरा हुँदैगर्छ । हाम्रा केही समस्या छन्, बहिर जाँदैन । विद्यार्थीहरु आपसमा मिल्या भए समस्यै हुन्थेन नि । आफूहरु झगडा ग¥याग¥यै छन् ।’

अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको देउवाले भनाइ थियो । ‘म पनि नेविसङ्घको सभापति भएको हुँ । चार पटक प्रधानमन्त्री भइसकेँ । तपाईंहरु कोही हुन सक्नुहुन्छ भोलि ? यस्तै हिसाबले लाज पनि छैन यहाँ ?,’ देउवाले यसरी आक्रोश पोखेका थिए । 

देउवाको  यही भाषणमाथि प्रश्न उठाउँदै रिमाल नेतृत्वको समूह आइतबार पार्टी कार्यालयको मूलढोकामा प्लेकार्ड बोकेर उभियो । उनीहरुको त्यहाँको उस्थिति देउवाका लागि रुचिकर हुने कुनै थिएन । अक्रोशित हुँदै देउवाले उनीहरुलाई ‘तिमीहरु कोही बन्दैनौँ, कराएर हुन्छ ?’ भन्दै पार्टी कार्यालयभित्र छिरे । 

रिमाल समूहले ‘नेविसङ्घ खल्तीमा थन्क्याउन पाइँदैन, नेविसङ्घको पूर्ण विस्तार गरियोस्, नेविसङ्घ १० जनामा सीमित राखेर स्कुल, गाउँमा कसरी भेटिन्छ सभापति ज्यू ?, सभापति ज्यू ! नेविसङ्घ टर्च बालेर खोज्नुपर्ने अवस्था किन आयो ?’ जस्ता प्लेकार्ड अन्य नेताहरुलाई पनि देखाए । साथै बैठकमा कुरा राखिदिन अनुरोध पनि गरे । अधिकांश केन्द्रीय सदस्य ‘ठीक छ ठीक छ’ भन्दै कार्यालयभित्र छिरे ।

बलायरसँगको भनाभनपछि नाराबाजी

अन्तिम समयतिर आएका केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई उनीहरुले प्लेकार्ड देखाउँदै सोही कुरा सुनाए । तर बलायर जङ्गिए । बलायरले भने, ‘यहाँ कुराएर काम छैन । तिमीहरु कैका कैका गुटका होओ ? भागबण्डा गरिसकिएको छ । उनीहरुसँग कराऊ ।’ त्यसपछि विद्यार्थी र बलायरबीच भनाभन सुरु भयो । 

‘स्ववियु सभापति भएकाहरुले पनि काठमाडौँमा घर बनाएका छन् । हामीले बनाएको नेविसङ्घ तपाईंहरुले सकिसक्नुभयो । ठूला कुरा गरे हुन्छ ?,’ भन्दै बलायर थप जङ्गिए । बलायरसँगको चर्काचर्कीसँग उनीहरु नाराबाजीमा उत्रिए । महोल शान्त पार्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा लागिपरे ।

उनीहरुको नाराबाजी रोकिएन । त्यसपछि लम्जुङका रिमाललाई सम्झाउन तनहुँका शङ्कर भण्डारी आइपुगे । उनले केही शान्त पारे । अनि रिमाल समूह नेताहरुको सम्पत्ति छानबिन गर भन्दै नारा अगाउन थाल्यो । केही समयको नाराबाजी पछि उनीहरु पार्टी कार्यालयबाट निस्किए । सोही कुराले केन्द्रीय समिति बैठकमा पनि प्रवेश पायो ।

बलायर, भण्डारीलगायतका केन्द्रीय सदस्यले नेविसङ्घको कार्यसमितिलाई पूर्णता दिन केले रोक्यो भन्दै प्रश्न उठाएका थिए ।  बलायरले भने, ‘नेविसङ्घलाई अपूरो र तरुणदललाई बबुरा कहिलेसम्म बनाइराख्ने ? यहाँ पार्टी महाधिवेशन गर्ने कुरा छ, पहिले नेविसङ्घ र तरुण दलको त महाधिवेशन गर्नुहोस् ? कोरोनाले महाधिवेशनको कुरा रोकियो भन्नुहोला । पार्टीको गर्छु भन्दै कस्सिनुभएको छ । भ्रातृ संस्थाको गर्न सकिँदैन र ?’ यस्तै प्रश्न अन्य केन्द्रीय सदस्यको पनि रहेको थियो । तर उनीहरुले नेतृत्वबाट त्यसको जवाफ पाएनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप