शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रानीपोखरी पुनर्निर्माणको काम धमाधम

सोमबार, २२ असार २०७७, १७ : २९
सोमबार, २२ असार २०७७

काठमाडौं । भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ ।  आगामी तिहारसम्म खुल्ला गर्ने योजनाका साथ पुनर्निर्माणको काम तिव्र गतिमा भइरहेको छ । पोखरीको पिँधमा कालो माटो र ईंटा ओच्छ्याउने काम सकिएको छ । पोखरीभित्र पानी रहने भागको पर्खाल निर्माणको काम पनि सकिएको छ । २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालको काम गरेको हो । पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि ईंटा ओच्छ्याएको छ । २०७७ बैशाख १२ गते अघि नै काम सक्ने गरी सुरु भएपनि लकडाउनका कारण केही प्रभावित भएको छ ।

पानी रहने पर्खाल र पिंधको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । पुनर्निर्माण प्राधिकरणको तर्फबाट रानीपोखरी र धरहरा हेरिरहेका सम्पदा विज्ञ राजुमान मानन्धरले पुनर्निर्माणको काम सम्पन्न हुने करिब ३ महिना लाग्ने बताए । पोखरीको काम सकिएपनि धेरै मिहेनत गरेर गर्नुपर्ने काम बाँकी भएकाले केही समय लाग्ने उनले बताए । उपभोक्ता समितिमार्फत भएको काम सम्पन्न भएको र ठेक्कापट्टाबाट गरिएको बालगोपालेश्वर मन्दिर निर्माण, पुलको काम भइरहेको उनले बताए ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम अहिले भइरहेको छ । सौन्दरर्यीकरण, बिजुली र मन्दिर निर्माणको ३५ प्रतिशत काम बाँकी रहेको उनले बताए । मन्दिरको दोस्रो तला सम्पन्न हुने अवस्थामा रहेको मानन्धरको भनाई छ ।

पोखरीमा आकासे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कूल क्षेत्रको आकासे पानी संकलन एवं प्रशोधन गरी पोखरीमा पानी राख्ने प्राधिकरणले व्यवस्था गरेको छ । सुरुमा पिँध निर्माणका लागि भक्तपुरबाट कालिगढ ल्याइएपनि सीप हस्तान्तरण गरी काठमाडौंका कालिगड समेत अहिले निर्माण कार्यमा सहभागी रहेका छन् । लकडाउन केही खुलुलो भएसँगै अहिले कामदार मन्दिर बनाउन व्यस्त छन् । रानीपोखरीमा पानी अड्याउनका लागि महानगरपालिकाले पिंधमा कंक्रिट ढलान गरेपछि त्यसको विरोध भएको थियो अहिले पानी अड्याउनका लागि परम्परागत तरिका– कालो माटोको तह र पुरानो इँटा विच्छ्याइएको छ ।

शिलान्यास भएको ३ वर्षसम्म अलपत्र रहेको रानीपोखरी निर्माणको काम अहिले पूनर्निर्माण प्राधिकरण मार्फत उभोक्ता समितिले बनाइरहेको छ । विनाशकारी भूकम्पले क्षति पु¥याएको रानीपोखरी निर्माणका लागि काठमाडौं महानगरले जिम्मा पाएपनि पोखरी भित्रको मन्दिरलाई कुन शैलीमा बनाउने भन्ने विषयमा विवाद भएपछि लामो समय काम रोकिएको थियो ।

अहिले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको निर्माण भइरहेको छ । पर्खालको जगमा चुना सुर्की लगाएर परम्परागत शैलीलाई कामय राखिएको छ । वि.सं. १९९० सालमा आएको भूकम्पपछि क्षति पुगेको रानीपोखरी जुद्धशमशेरले गुम्बज शैलीमा निर्माण गरेका थिए । लामो समय कुन शैलीमा बनाउने भन्ने विवाद रहेपनि पुनर्निर्माण प्राधिकरणले विज्ञ समूह गठन गरेर मौलिक शैलीमै निर्माण गर्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप