शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अघि बढ्न सकेनन् प्रदेश गौरवका योजना

सोमबार, २२ असार २०७७, १५ : ००
सोमबार, २२ असार २०७७

बैतडी । बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक योजना अझै अगाडि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको सो योजना चालू आर्थिक वर्षमै निर्माण शुरु गर्ने गरेर बजेट विनियोजन भएको  थियो ।  स्तरोन्नतिका लागि बल्ल निर्माण कम्पनीको छनोट भएको छ ।

सतबाँझ श्रीभावर खण्डका पाँच किमी र श्रीभावर हाट खण्डमा आठ किमी कालोपत्र गर्न सम्झौता तयारी भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए । ती दुवै प्याकेजमा चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनी छनोट भइसकेको र केही दिनभित्रै सम्झौता भएर काम अघि बढ्ने छ उनले भने– ‘तीन वर्षभित्र कामसक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता हुन लागेको हो ।’ 

सतबाँझदेखि श्रीभावर खण्डमा १० करोडमा श्रीभावरदेखि हाट खण्डमा १४ करोडमा ठेक्का सम्झौता हुन लागेको हो । गत माघदेखि सो सडक कालोपत्र गर्नका लागि प्रक्रिया शुरु भए पनि लकडाउन र अन्य कारणले काममा ढिलाइ भएको उनले बताए । उनले भने– ‘ठेक्का सम्झौता भएपछि यस महिनाको अन्तिमबाट काम शुरु हुन्छ ।’ 

तत्कालीन जिल्ला विकास समितिले २०५५ सालमा ट्र्याक ओपन गरेको सो सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको छ । अब सडक निर्माणले तीव्रता पाउने जिल्ला विकास समितिका पूर्वसभापति परमानन्द भट्टले जानकारी दिए । सो सडक जिल्लाको सामरिक महत्वको रहेको उनको भनाइ छ । जिल्लाका तीन स्थानीय तह एकआपसमा सडक सञ्जालमा जोडिने छन् भने दार्चुलासँग पनि जोडिनेछ । अहिले सतबाँझदेखि सुर्नया गाउँपालिका वडा नं ६ सम्म यातायात सञ्चालनमा रहेको छ । यसैगरी श्रीभावरदेखि हाटसम्म पनि यातायात सञ्चालनमा छ ।

यस्तै पूर्वाधार विकास कार्यालयमार्फत दार्चुलामा पनि प्रदेश गौरवको योजनाका रुपमा रहेको खलङ्गा–खार–पारीबगर—खण्डेश्वरी सडक निर्माण भइरहेको छ । सो सडकमा  अहिले १८ किमी कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भइसकेको छ । खलङ्गादेखि खार खण्डमा नौ किमी पारीबगरदेखि खण्डेश्वरी खण्डमा नौ किमी कालोपत्रका लागि ठेक्का सम्झौता भएर काम अघि बढ्ने तयारी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख जोशीले भने, ‘यो सडकमा पनि ढिलोगरी नै काम शुरु भएको छ । गत माघदेखि मात्रै प्रदेशका गौरवका योजनामा प्रक्रियाको काम शुरु भएको हो ।’  

बैतडीको तल्लोसोराड जोड्ने मुख्य सडकका रुपमा रहेको पाटन–पञ्चेश्वर सडकमा कालोपत्र गर्न रोकिएको छ । लकडाउनका कारण स्याडीगाडदेखि लामालेकसम्मको कालोपत्र गर्न रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

पाटन–पञ्चेश्वर सडक कालोपत्र गरिरहेको सिएबी जेभी ग्वाल्लेकका प्रबन्ध निर्देशक सुरेश चन्दले कालोपत्र गर्ने समयमा लकडाउन भएका कारण कालोपत्रको काम अघि बढ्न नसकेको जानकारी दिए । चैतदेखि जेठ महिनासम्म कालोपत्रका लागि उपयुक्त समय भए पनि सो समयमा लकडाउनका कारण काम गर्न नपाएको हो । उनले भने– ‘लकडाउनकै कारण सडकमा काम गरिरहेका कामदारलाई फिर्ता पठाउनु प¥यो ।’  

यस वर्ष २० किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेको भए पनि  काम अब एक वर्षपछि धकेलिएको छ । पाटन पञ्चेश्वर सडकलाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत मेलौलीदेखि कुलाउसम्म पनि कालोपत्र गर्नका लागि टेण्डर आह्वान हुने तयारी भएको  कार्यालयका प्रमुख जोशीले बताए । लकडाउनका कारण केही ढिलो भए पनि सो कार्य अघि बढ्ने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप