शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजबाट एकतर्फी रुपमा खुल्यो रसुवागढी नाका, आयातमा नेपालले चिनियाँ सर्त मान्नुपर्ने

सोमबार, २२ असार २०७७, १४ : ३१
सोमबार, २२ असार २०७७

चीनतर्फको रसुवागढी–केरुङ नाका सोमबारदेखि खुल्ला भएको छ । कोरोनाका कारण विगत ६ महिनादेखि बन्द रहको सो नाका खोल्न चिनियाँ पक्ष राजी भएसँगै सोमबारदेखि संचालनमा आएको हो । 

तर, उक्त नाका एकतर्फी रुपमा मात्र संचालनमा आएको हो । 

चिनियाँ पक्षको अवरोधका बाबजुद एकतर्फी मात्र नाका खोल्ने सहमति भएसँगै सोमबारदेखि रसुवागढी नाका संचालनमा आएको रसुवागढी नाका भन्सार प्रमुख पुण्य विक्रम खड्काले जानकारी दिए । 

‘कोरोनापछि झण्डै ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि खुल्ला भएको छ । तर एकतर्फी मात्र,’ भन्सार प्रमुख खड्काले भने, ‘त्यसमा पनि मालवस्तु आयातमा हामीले चिनियाँ पक्षको सर्त पालना गर्नुपर्छ ।’

खड्काका अनुसार नेपाली र चिनियाँ पक्षबीच भएको पछिल्लो समझदारी अनुसार नेपालले माल सामान आयात गर्दा नेपालीहरु बोर्डरसम्म मात्र जान पाउँछन् । उता बोडर पारीसम्म चिनियाँ पक्षले नै सामान ल्याइदिने र यताबाट गएका कन्टेनरहरुले बोर्डरमा गएर लोड गरेर फर्किनुपर्ने सर्त राखिएको छ । 

त्यसमा पनि कन्टेनर लोड अनलोड तथा कामदारको व्यवस्था समेत चिनियाँ पक्षले नै गर्ने सहमति भएको खड्काको भनाइ छ । 

नेपाली र चिनियाँ पक्षबीच यस खालको सहमति भएसँगै आजै ४ वटा कन्टेनर लोड भइ नेपाल प्रवेश गरेको छ । तर यस अघि नेपाली कन्टेनरहरु चिनियाँ बोडर पारी झण्डै २४ किलोमिटर पर केरुङसम्म जान पाउथे । 

गत माग १५ गतेदेखि बन्द रहेको रसुवागढी नाका यसअघिसम्म स्वास्थ्य सुरक्षाका कारण देखाउँदै चिनियाँ पक्षले बन्द गर्दै आएको थियो । नेपाली पक्षबाट नाका खुलाउन बारम्बार प्रयास भएपनि चिनियाँ पक्ष राजी नहुँदा आजसम्म खुल्न सकेको थिएन । तर पछिल्लो पटक जेठ १३, २२ र २८ गतेको पत्र पश्चात पछि मात्र चिनियाँ पक्ष वार्तामा वस्न राजी भएको थियो । दुई पक्षको बार्ता पछि असार १० गतेदेखि नाका खोल्ने सहमती भएको थियो ।

बन्द अघिनै लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन
कोरोनाका कारण गत माग १५ गतेदेखिनै बन्द रहेको रसुवागढी नाकाबाट भन्सार कार्यालयले चालु आर्थिक वर्षमा राखेको लक्ष्यको झढै ८५ प्रतिशत राजस्व उठाउन सफल भएको बताएको छ ।

 चालु आर्थिक वर्षको १२ महिनामा ९ अर्ब ३५ करोड राजस्वको लक्ष्य राखेको रसुवागढीले बन्द अगावै कुल ७ अर्ब ६८ करोड उठाइसकेको भन्सार प्रमुख खड्काले बताए ।

‘रसुवागढी भन्सार कार्यालको यस वर्षको राजस्व लक्ष्य ९ अर्ब ३५ करोडको हो । तर कोरोनाका कारण नाका नै बन्द हुँदा सोचे अनुरुप राजस्व संकलन हुन सकेन । र पनि हामीले लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गर्न सफल भइसकेका छौ,’ खड्काले भने, बाँकी १५ प्रतिशत पनि पुरा हुन्थ्यो तर अब हामी आर्थिक वर्षको अन्तअन्तमा हुँदा पुरा हुने देखिँदैन ।’

भन्सार प्रमुख खड्काका अनुसार गत वर्ष सोही समयमा रसुवागढी भन्सारले लक्ष्य भन्दा बढी झण्डै १० अर्ब माथि राजस्व संकलन गरेको थियो । जबकी लक्ष्य ९ अर्ब ३५ करोड मात्र राखिएको थियो । सुरुमा ९ अर्ब ५० करोडको लक्ष्य राखिएकोमा उता तातोपानी नाका खुलेसँगै रसुवागढीको लक्ष्यमा १५ करोड घटाई ९ अर्ब ३५ करोड राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप