शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलबाट २२ किलो चरेस बरामद, दुईजना पक्राउ

सोमबार, २२ असार २०७७, १३ : २९
सोमबार, २२ असार २०७७

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ हरियाटोलबाट खानतलासीको क्रममा प्रहरीले २२ केजी ५०० ग्राम प्रतिबन्धित लागूऔषध चरेस बरामद गरेको छ । 

५ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले सोमबार हरियाटोलमा बस्ने धन बहादुर दमाईको खाली घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको उक्त परिणामको लागूऔषध बरामद गरेको हो । 

लागूऔषध चरेससहित गुल्मी मदानेका २९ वर्षीय मेघराज गिरी र रुकुम सिस्नेका ३५ वर्षीय रतिभान दमाईलाई पक्राउ गरी हिरासतमा लिइएको प्रदेश ५ का प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए ।  बरामद चरेसको बजार मुल्य अन्दाजी ८ करोड रहेको उनले बताए । 

तस्करीका लागि लुकाएर राखिएको चरेस बरामद गरेसँगै तस्करीमा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको धानुकले बताए । उनले भने, ‘उनीहरुको खोजीकार्य भइरहेको छ ।’

रुकुम, रोल्पाहुँदै बुटवल भित्रिएको लागूऔषध नेपालगञ्ज हुँदै भारतसम्म कारोबार हुने गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी राजकुमार वैदवार बताउँछन् । 

‘झुक्याउँदै भारतसम्म ओसारपसार हुने गरेको हामीले पाएका छौं,’ एसएसपी बैदवारले भने, ‘लागूऔषधको अवस्था डरलाग्दो छ ।’ उनका अनुसार लागूऔषध कारोवारीका रूपमा समातिएकाहरू विपन्न र श्रमिक छन् । 

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । 

यस्तै आइतबार ५ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले टाटे बाघको छाला र हड्डी समेत बरामद गरेको छ । बाँके राप्तीसोनाका ४६ वर्षीय नवराज घर्तीमगरले मकैबारीमा लुकाएर राखेको बाघको छाला र हड्डी बरामद गरेको एसएसपी बैदवारले जानकारी दिए । 

५ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोली र इलाका प्रहरी कार्यालय कुसुमको टोलीले मगरलाई टाटेपाटे बाघको छाला र हड्डिसहित नियन्त्रणमा लिएको वैदवारले बताए । मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप