शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘इपिसेन्टर’ मधेश : १७ तस्बिरमा हेर्नुहोस् वाढी-पीडितको दुःख

शनिबार, २४ भदौ २०७४, १३ : ५१
शनिबार, २४ भदौ २०७४

जलेश्वर (महोत्तरी)– गृहमन्त्रालयका अनुसार यस बर्षको बाढीले तराईका आठ जिल्ला मध्ये सर्लाहीमा १३, रौतहटमा १८, महोत्तरीमा ९, धनुषामा ३, बारामा तीन, पर्सामा ६ र सप्तरीमा ४ जनाको  ज्यान लियो । सिरहामा मानविय क्षति भएन, अन्य क्षतिबाट भने जोगिएन । 

बाढीसँगै आएको चुनावमा राजनीतिक दलको एजेण्डा र बाढी पीडित मतदाताको मनोवैज्ञानिक बुझ्न हामी बाढी ग्रस्त क्षेत्र जनकपुर उपमहानगरपालि–१ को  मुसहर वस्ती पुग्दा थाहा भयो–  जलाद नदीले बस्तीलाई तहस नहस गरेको रहेछ । मुसहर, मेस्तर, पासवानहरुको वस्ती रहेको सो ठाउँमा हामी पुग्ने वित्तिकै चारैतिरबाट ह्वारह्वारत्ति मान्छे जम्मा भए । 


उनीहरुलाई लाग्यो, राहत वितरणका लागि आएका छन् । जब हामीले राहत वितरणका लागि होइन, अवस्था  बुझ्नका लागि मात्र आएका हौं भन्दा उनीहरु निरास भए ।


उनीहरुले भने, ‘यसरी नाम लेखेर फोटो खिचेर धेरैले धेरै पटक लगि सके तर आजसम्म राहत दिन भने केही पनि आएको छैन ।’
 नदी किनारमा घर बनाएर बसेका विनोद मेसतरले आफ्नो भत्केको घर देखाउँदै भने, ‘हाम्रा लागि सरकार छैन जस्तो लाग्यो, अहिलेसम्म केहि पनि  सोधपुछ गर्न समेत आएका छैनन्, बाढी आएको बेलामा एकदुई जनाले च्युरा र चाउचाउ दिएर गएका थिए त्यसपछि कोही आएको छैन, तपाईहरु जस्तै नाम टिप्न र फोटो खिच्न धेरै आएर गए ।’


‘चुनाव आइसक्यो, नेताहरु पनि आउँछन् र नाम टिपेर जान्छन् तर फर्केर आउँदैनन्, ३५ वर्षीय महेश महराले भने, ‘हामी मतदाता मात्रै हौं, हाम्रो मत लिएर थुप्रै मन्त्री भए, सांसद भए, ठूला ठूला व्यक्ति भए तर मत लिएर गएपछि आजसम्म फर्केर आएका छैनन् ।’ 
यसपाली आफूहरुबाट यस्तो गल्ती नहुने बताउँदै महराले भने, ‘यसपाली हाम्रो वासको व्यवस्था जसले गर्छ त्यसलाई नै मत जान्छ ।’
बाढी पीडितहरु नदी किनारको एलानी जग्गामा जोखिमका साथ बसेका छन् । उनीहरुको वस्ती नसारिएसम्म बाढीको जोखिम  ज्यूकोत्यूँ रहन्छ । विनोद मेसतरले भने, ‘जमिन दिएर अर्कै ठाउँमा वस्ती सारे मात्र हामीले यसपाली कसैलाई मत दिन्छौ ।’ मुसहरको ४२ र मेसतरको ३० घर रहेको सो वस्तीबाट शम्भु पासवानले पनि एक नम्बर वडाको सदस्यमा एमालेबाट उम्मेदवारी दिएका छन् । 


‘ वस्तीको मत शम्भुलाई जाने निश्चित छ, २८ वर्षीय विरेन्द्रकुमार सदा भन्छन्, ‘शम्भुले हाम्रो दुःखसुखमा साथ दिन्छन्, यो बाढीमा पनि हामीले जेजति पाएका छौं उहाँकै मार्फत पाएका छौं, त्यसैले हाम्रो मत उहाँलाई नै जान्छ त्यसबाहेक जसले हाम्रो बस्ती ठडाई दिन्छ, उसैलाई  मत दिन्छौ ।’


महोत्तरीको खैरा वार्ड नम्बर ३ मा रहेको मुसहर बस्ती पनि अझै ठडिएको छैन । घर जसरी लडेको थियो, अहिले जस्ताको त्यस्तै छ । ती बस्तीमा बस्ने मुसहर समुदायका व्यक्तिहरु अझै घर फर्किन सकेका छैनन् । गाउँमा जहाँ बाढीले क्षति गरेको छैन, सोहि आफन्तको घरमा बस्दै आएको उनीहरु बताउँछन् । 


माटोहरु पन्छाउँदै, भत्केका घरहरु लिपपोच गर्दै गरेको अवस्थामा भेटिएका मुसहरहरु नेताहरुको नाम नै सुन्न चाहदैनन् । पटक पटक यहाँबाट हात जोड्दै मत लगेको तर एकपटक पनि फर्केर नआएको गुनासो गर्दै ४४ वर्षीया राजेन्द्र मुखियाले बाढीबाट आफूहरु पीडामा रहेको तर वितगमा आफूहरुको मत लिएर जितेकाहरुले हालसम्म हालचाल पनि सोध्न नआएको गुनासो गरे । 


संविधानसभा चुनावको समयमा मत माग्न आउँदा सडक बनाई दिने, विजुली ल्याइदिने जस्ता आश्वासन दिएर गएकाहरु आजसम्म नफर्किएको अर्का स्थानीय  जोगिन्द्र मुखियाले बताए । 


मतदाताको रुपमा प्रयोग मात्र गरेको तर दुःखको बेलामा एकपटक पनि नेताहरु नआएको दुखेसको पोख्दै अर्का स्थानीय ६५ वर्षीया मरन मुखियाले भने, ‘घर खसेको महिना वित्न लाग्यो, तर कहाँ बसेका छौ, के खाइरहेका छौं, के अवस्था छ त्यसको बारेमा कसैले सोधखोज गरेको छैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप