शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कसरी हुँदैछ पर्यटन उद्योग सुचारु गर्ने तयारी ?

व्यवसायीहरु भन्छन्, ‘अहिले नै हामी हौसिने अवस्थामा छैनौँ'
सोमबार, २२ असार २०७७, ०९ : १८
सोमबार, २२ असार २०७७

काठमाडौँ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो पर्यटन । सन् २०१९ को डिसेम्बरमै चीनको उहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै प्रभावित हुँदै आएको नेपाली पर्यटन क्षेत्रले आजको दिनसम्म आइपुग्दा अर्बौंको क्षति बेहोरिसकेको छ ।

गत शुक्रबार मात्र पर्यटन मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा कोरोनाका बीच पर्यटन क्षेत्रले करिब ३४ अर्ब बराबरको नोक्सान बेहोरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ । पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत संयुक्त पहलमा गठित एक अध्ययन समितिले कोरोनापछिको लकडाउनकै बीच पर्यटन उद्योगले कुल ३४ अर्ब रुपैयाँकोे क्षति बेहोरेको प्रतिवेदन पेश गरेको हो ।

लकडाउनका बीच शून्यतामा परिणत भएको पर्यटन क्षेत्रले हरेक  महिना १० अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबारको प्रत्यक्ष क्षति बेहोर्दै आएको समेत समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

निरन्तरको लकडाउनका बाबजुद अझ साउन ७ गतेसम्म लम्बिँदा पर्यटन क्षेत्रले थप ७ अर्ब सहित कुल ४१ अर्बको कारोबार गुमाउने समितिको भनाइ छ ।

पर्यटन तथा हवाई क्षेत्रमा भएको नोक्सानीको विवरण बनाई बजेटको नीति तथा कार्यक्रम तर्जुका लागि तयार गरिएको उक्त प्रतिवेदन समितिले अर्थमन्त्रालयमा पठाइसकेको छ ।

तर यता यति लामो समयसम्म बन्द व्यवसायले पर्यटन उद्योग नै धराशायी भएको भन्दै अब विस्तारै उद्योग सुचारुको पहल कदम उठाउनुपर्ने माग व्यवसायीहरुले उठाउन थालेका छन् । हवाई सेवा प्रदाय कम्पनी, होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बन्धी व्यवसायीहरुले अब पर्यटन क्षेत्र सुचारुको विकल्प नभएको भन्दै आवश्यक प्रवन्ध गरिदिन सरकारसँग माग गरेका छन् ।

त्यसो त गत शुक्रबार नै पर्यटन मन्त्री योगेश भट्टराईले अब पर्यटन क्षेत्र सुचारु गरिने र त्यसका लागि आवश्यक गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘अब पर्यटन क्षेत्र सुचारु गर्नुको विकल्प छैन  । व्यवसाय सुचारुको पूर्वतयारी करिब अन्तिम अन्तिम चरणमा पुगिसकेको छ ।’

मन्त्री भट्टराईले भने, ‘कोभिड–१९ को महामारीको चुनौती स्वास्थ्य सुरक्षा भएकाले पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि स्वास्थ्य सुरक्षाको प्रोटोकल सार्वजनिक गरिसकेका छौँ । सो प्रोटोकलले व्यवस्था गरेको नियम सबैलाई पालना गर्न पनि निर्देशन गरिसकेका छौँ । सम्भवतः अब छिटै नै उक्त योजना कार्यान्वयनमा आउनेछ ।’

यता मन्त्रालयले भने पर्यटन क्षेत्र सुचारु गर्नका लागि आवश्यक पूर्वतयारी सुरु गरिसकेको छ ।

मन्त्रालयद्वारा पहिलो चरणमा तयार भएको हवाई सेवा सुचारुसम्बन्धी प्रोटोकल स्वीकृत भइसकेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण गरी सुरक्षित हवाई सेवा सञ्चालन सम्बन्धी प्रोटोकल स्वीकृत भएको हो । यसै प्रोटोकल अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका प्रमुख विमानस्थलहरुमा निश्चित दूरी कायम गरी हवाई सेवा सञ्चालनका लागि एयरपोर्टहरुको मार्किङसहित स्वास्थ्य सुरक्षात्मक उपायहरुको समेत प्रबन्ध गरिसकेको छ ।

जतिसक्दो चाँडो उडान भर्न तयार छौँ

निजी वायुसेवा सञ्चालकहरु आफूहरु जतिसक्दो चाँडो उडान भर्न तयार रहेको बताएका छन् । उडान भर्न सम्पूर्ण तयारी पूरा गरेर बसेको तर सरकारको निर्देशन पर्खिरहेको नेपाल वायुसेवा सञ्चालनक सङ्घका महासचिव तथा समिट एअरका एमडी मनोज कार्की बताउँछन् ।

‘हवाई सेवा सुचारु गर्न हामी तयार नै छौँ । गत एक डेढ महिनादेखि नै हामीले सेवा सुचारु गर्न सरकारलाई आग्रह गरिरहेका हौँ । तर आजसम्म सरकारले निर्देशन गरेको छैन ।’ महासचिव कार्कीले भने निर्देशन भए भोलिबाटै उडाउन भर्ने तयारीमा लाग्छौँ ।

हामी वायुसेवा सञ्चालकहरु हवाई सेवा सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीहरु पूरा गरेर बसेका छौँ । कोभिड–१९ का बीच अपनाउनुपर्ने स्वास्थ्य सुरक्षादेखि अन्य प्राविधिक विषयहरुवको समेत व्यवस्था मिलाइसकेका छौँ । अब केवल सरकारको निर्देशन आवश्यक छ ।

कार्कीका अनुसार गत दुई महिनाअघि नै नागरिक उड्डयन प्राधिकरणबाट हवाई उडाउनसम्बन्धी सुरक्षाका प्रोटोकल तयार गरी हवाई कम्पनीहरुलाई आवश्यक तयारी गर्न निर्देशन गरिएको थियो । उक्त प्रोटोकलअनुसार हवाई कम्पनीहरुले सबै तयारी पूरा गरी अहिले उडाउन गर्न पाउने निर्देशनको पर्खाइमा छन् ।

घोषणाभन्दा व्यावहारिकतामा हेर्नुपर्छ

यता निजी व्यावसायिक क्षेत्रकै अर्को पर्यटन क्षेत्र होटल क्षेत्रले भने व्यवसाय सुरुवातको घोषणाभन्दा पनि व्यावहारिकतामा भर पर्ने बताएको छ । व्यावसायिक वातावरण बन्दा नबन्दै तथा आवश्यक तयारी र सम्भावना नभई व्यवसाय खोल्दा झन् समस्या निम्तिन सक्ने खतरा रहने होटल व्यवसायी सङ्घ (हान)का अध्यक्ष सृजना राणा बताउँछिन् ।

‘पर्यटन व्यवसाय सुचारु गर्न सरकारले जुन खालको तयारी थालेको छ, त्यो सराहनीय छ । पहिलो कुरा व्यवसाय सुचारुको प्रोटोकल ल्याउनु नै ठूलो कुरा हो । यसमा पर्यटन बोर्डलाई धन्यवाद दिनैपर्छ । तर  दोस्रो कुरा के हो भने, प्रोटोकल ल्याउँदैमा र व्यवसाय सुचारु गर्छु भनेर घोषणा गर्दैमा व्यवसायले सफलता पाउँदै । सफलता त वास्तविक व्यावहारमा भर पर्छ । त्यसका लागि अहिले नै आवश्यक तयारी पूरा भएका छन् कि छैनन् त ? यता ध्यान दिनुपर्ने हुन्छ । नत्र त थप समस्या निम्तिने खतरा हुन्छ ।’

अध्यक्ष राणाले भनिन्, ‘अहिले नै हामी हौसिने अवस्थामा छैनौँ । केही समय हेरेर आधारहरु तयार भएपछि मात्र व्यवसायमा फर्कन्छौँ ।’

यता टुर तथा ट्राभल एजेन्सिस्, ट्रेकिङ एजेन्सिस् लगायतका एसोसिएसन तथा सङ्घ संस्थाहरुले भने व्यवसाय सुचारुको योजनाको प्रशंसा गरेका छन् । पर्यटन व्यवसाय सुचारुका लागि सरकारको जुन खालको तयारी गरेको यसलाई स्वागत गर्दै व्यावसायिक तयारीमा आफूहरु जुटिसकेको नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसन (टान)का अध्यक्ष खुम सुवेदीले जानकारी दिए ।

‘हामी पर्यटन व्यवसाय सुचारु गर्नुपर्छ भन्ने पक्षमै थियौैँ र छौँ । यति लामो समयसम्म पर्यटन क्षेत्र बन्द हुँदा अर्बौंको व्यवसाय चौपट भएको छ भने व्यवसाय नचल्दा लाखौँले रोजगारी गुमाएको अवस्था छ । अब पनि व्यवसाय सुचारु नभए धेरैको विचल्ली हुने अवस्था आइसकेको छ । त्यसैले अब कोरोनासँग लडेर भए पनि व्यवसाय खोल्नुको विकल्प छैन ।’ आध्यक्ष सुवेदीले भने, ‘अहिले हामी व्यवसाय सुचारुको तयारीमै छौँ । मन्त्रालयगत रूपमा व्यवयासय सुचारुको प्रोटोकल तयार भएको छ । यसैअनुसार व्यवसाय अघि बढाछौँ ।’

यता मन्त्रालयले भने, कोभिड–१९ ले सबैभन्दा बढी प्रभाव पर्यटन र हवाई क्षेत्रमा परेको भन्दै सो क्षेत्रमा तत्कालै ४ हजार रोजागरी सिर्जना हुनेगरी व्यवसाय सुरुवातको आवश्यक तयारी गरेको छ । यस्तो रोजगारी कम्तीमा पनि ३० दिनको हुनेगरी व्यवस्था गर्न लागिएको मन्त्रालयका सहसचिव रुद्रबहादुर तामाङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप