केन्द्रीय संस्करण

किन बरालिएको छ हाम्रो राष्ट्रियताको बहस ?

person explore access_timeअसार २२, २०७७ chat_bubble_outline0

राष्ट्रियताको बिषयमा बेलाबखत राष्ट्र नै पग्लिने गरी तातो बहस चल्ने गर्छ, बिस्तारै चिसिँदै जान्छ र बिर्सने अवस्थामा पुग्छ । चुनावको बेला असाध्यै बिक्री हुने ललिपप जस्तो हुन्छ राष्ट्रियताको बिषय । चुनाव नभएपनि केही समय यता देशमा फेरि राष्ट्रियताको मौसमी बाजा बज्न थालेको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक गत वैशाख २६ गते उद्घाटन गरेपछि हाम्रो सत्तापक्ष, प्रतिपक्ष सबैले सडक तताए । सरकारले जेठ ७ गते लिपुलेक, लिम्पियाधुरासहितको नेपालको संशोधित नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्यो । त्यसपछि जताततै सरकारको गुणगान गाइयो । झन्डै उलटपलट नै हुनलागेको स्थितिबाट सरकारको एउटा खड्को ट-यो । आजभोलि एमसीसीको विषयमा गर्मागरम बहस भइरहेको छ । तर, बहस कहिलेसम्म र कुन टुङ्गोमा पुग्दासम्म चल्छ, कुनै टुङ्गो छैन l  

राष्ट्रियताको पृष्ठभूमि:

राष्ट्रियता बुझ्नुअघि यसको ऐतिहासिक पृष्ठभूमिलाई बुझ्न जरुरी हुन्छ । राष्ट्र शब्दलाई अङ्ग्रेजीमा नेसन भनिन्छ । यो शब्दको उत्पत्ति फेन्स नासिकोन शब्दबाट भएको र त्यसको अर्थ जन्मिएको ठाउँ भन्ने जनाउँछ । आजभोलि यसलाई राज्य शब्दको पर्यायवाचीका रुपमा पनि हेर्ने गरिएको छ । एउटै नश्लबाट आएका एउटै धर्म, वर्ग, भाषा र संस्कृतिमा आबद्ध ठूलो समूहमा रहेका मानिसहरुको झुन्डलाई नै राष्ट्र भनिन्छ ।

युरोपमा ३० वर्ष लामो धार्मिक युद्धलाई समाप्त गर्न १६४८ मा बनेको वयस्टफेलिया सन्धिले राष्ट्र राज्यको अवधारणा अगाडि सारेको हो । विश्वको बढ्दो पुँजीका कारण व्यापारिक प्रवर्ध्दन र व्यापारिक प्रतिस्पर्धाका निमित्त युरोपमा रहेका ससाना सिटी राज्यहरुले निश्चित भाषा, धर्म र जन्मजात नश्लका आधारमा विभिन्न राष्ट्र राज्यको निर्माण गरे ।

औद्योगिक क्रान्तिसँगै युरोपियन राजनीतिमा राष्ट्रवादको साहित्य भित्रियो । राष्ट्रवादको साहित्यले १९औँ र २०औँ शताब्दीतिर परिपक्वता पाएको देख्न सकिन्छ । यीमध्ये दुईवटा फ्रेन्च र ब्रिटेनको राष्ट्रियताले महत्त्वपूर्ण स्थान ओगटेको पाइन्छ ।

भारतीय इतिहासकार रामचन्द्र गुहाका अनुसार तत्कालीन समयमा फ्रान्स र ब्रिटेनको राष्ट्रवाद एक धर्म, एक भाषा, एक शत्रु पहिचानका आधारमा बनेको थियो । फ्रान्समा बस्ने हरकोहीले फ्रेन्च बोल्नै पर्थ्यो क्याथोलिक धर्म मान्नै पर्थ्यो, अनि देशप्रेमस्वरुप शत्रु राष्ट्रप्रति घृणा प्रकट गर्नै पर्थ्यो l त्यहाँ रहेका तमाम अन्य भाषी र धर्मावलम्बीहरुलाई दबाइन्थ्यो । ब्रिटेनमा पनि यस्तै थियो, ब्रिटिस बन्नका लागि अङ्ग्रेजी बोल्नैपर्ने, प्रोटेस्टेन्ड धर्ममा आस्था राख्नै पर्ने l त्यहाँका तमाम अल्पसङ्ख्यक भाषाभाषी धर्मावलम्बीहरु उपेक्षित हुन्थ्ये ।

एकल पहिचानका आधारमा युरोपियन राष्ट्रियताको निर्माण भयो । एक धर्म, एक भाषा एवम् एकल पहिचानको प्रक्रियाबाट फक्रिएको युरोपेली राष्ट्रवाद विश्वका कुनाकाप्चासम्म पुग्न सफल भयो । ठ्याकै यही मोडलमा अहिलेसम्म तमाम राष्ट्रहरु अडिएका छन् । मुख्यतया मुस्लिम राज्यमा यसको प्रभाव बढी देख्न सकिन्छ । त्यसको मारमा परेको राज्य पाकिस्तान पनि हो । त्यही सिध्दान्तका आधारमा बंगला भाषी पूर्वी पाकिस्तान, उर्दु भाषी पश्चिम पाकिस्तानसँग छुट्टिएर नयाँ देश बङ्गलादेश बन्यो, जबकी धर्म दुवैको मुस्लिम नै थियो ।

भारतमा भने महात्मा गान्धीले प्रतिपादन गरेको राष्ट्रवाद ठ्याकै युरोपको भन्दा उल्टो भेटिन्छ । गान्धीले एक भाषा, एक धर्ममा आधारित नभएर समानतामा आधारित राष्ट्रियताको जग बसाल्न खोजे । गान्धीले आफ्ना कतिपय भाषणमा प्रत्येक मुख्य भाषिकाको आधारमा विभिन्न गणराज्य हुने घोषणासमेत गरेका थिए । हिन्दु र मुसलमानबीच धार्मिक सहिष्णुता कायम र छुवाछूत उन्मूलनका आधारमा राष्ट्र निर्माण गर्ने परिकल्पना गरेका थिए गान्धीले । हामी देख्न सक्छौ, भारतका केही राज्यका आफ्नै झण्डा पनि छन् भने केही प्रदेश भाषाको आधारमा नामकरण गरिएका पनि छन् । जहाँ विविधतायुक्त समाज हुन्छ त्यहाँ विविधतालाई झल्काउने राष्ट्रवादको निर्माण हुनु सराहनीय हो ।

नेपाली राष्ट्रियताको जरो:

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे । त्यसपछि आफूले बोल्ने भाषालाई नै देशको कामकाजको भाषा बनाए । आफूले अपनाउँदै आएको धर्म हिन्दु धर्मलाई नै देशभर लादे, जातपातको व्यवस्था यथावत राखे । समाजको सम्पूर्ण संरचना हिन्दु दर्शनका आधारमा गरियो ।

तत्कालीन नेपाली समाजमा विभिन्न सभ्यता अस्तित्वमा थिए । खस आर्य सभ्यता, वैदिक सभ्यता, खस मस्टो पुजक सभ्यता, इस्लाम र मङ्गोल सभ्यता । यहाँभित्र विभिन्न धर्म थिए । सयौँ भाषा थिए, आआफ्नै संस्कृति थिए । आआफ्नै रीतिरिवाज थिए । ती सबै राष्ट्रियता उपेक्षित भए l विभिन्न सभ्यताबाट बनेको नेपाली समाजको राष्ट्रियता विविधतामा आधारित हुनुपर्ने थियो । अफसोच, शासक र निश्चित वर्गले अपनाएका धर्म संस्कृतिका आडमा नेपाली राष्ट्रवादको विकास गरियो । नेपाली राष्ट्रियताको मूल जरो नै यही बन्न पुग्यो ।

जङ्गबहादुर राणाले सन् १८५०/५१ मा गरेको युरोप भ्रमणबाट फर्केपछि ५ भाग १६३ अध्याय र १४०० पेज भएको मुलुकको पहिलो ऐन मुलुकी ऐन जारी गरे । सो ऐनमार्फत पृथ्वीनारायण शाहद्वारा निर्माण गरिएको राष्ट्रियताको भाष्यलाई कानुनी मान्यता दिलाए । कानुनी मान्यता दिनलाई ऐनमै लिपिबद्ध गरेर जात व्यवस्थाका आधारमा विभिन्न दण्ड सजाय र कानुनको निर्माण गरे । कथित उपल्लो जातलाई गम्भीर अपराधमा पनि छुट्कारा दिइने र कथित तल्लो जातकालाई सामान्य कसुरमा पनि हदैसम्मको सजाय दिइने प्रावधान राखियो ।

महेन्द्रको चक्रव्यूह:

विभेदको जगमा जन्मेहुर्केको नेपाली राष्ट्रियताले राजा महेन्द्रको पालामा आउँदा भरपुर मलजल पायो र झांगियो । महेन्द्रको राष्ट्रवाद तत्कालीन युरोपियन राष्ट्रवादको फोटोकपी थियो ।

भन्न र लेख्न ‘विविधतामा एकता’ तर व्यवहारमा विविधताबीच एकरूपता कहिल्यै भेटिएन, भेटियो त एक केन्द्रमा अरू सबै किनारामा । पहाडिया क्षेत्रीबाहुनको संस्कृतिलाई नै नेपाली राष्ट्रवादको केन्द्र बनाइयो र बहुसङ्ख्यक नेपाली संस्कृतिलाई किनारा लगाइयो ।

एउटै भाषा, एउटै धर्म एउटै संस्कृतिमा आधारित तत्कालीन युरोपियन राष्ट्रवादी ढाँचामा पहाडिया संस्कृतिले मात्र प्रोत्साहन पायो l पहाडिया क्षेत्री बाहुनले बोल्ने नेपाली भाषा, उनीहरुले मान्ने हिन्दु धर्म, उनीहरुले नै लगाउने दौरा सुरुवाल मात्र राष्ट्रिय भाषा, राष्ट्रिय धर्म र राष्ट्रिय पोसाक बनाइयो । अन्य भाषा, धर्म, पोशाक, संस्कृति सबै नै उपेक्षामा परे । राष्ट्रियताका प्रतीक पनि पहाडी संस्कृतिभित्रका चयन गरिएका थिए- लालिगुँरास, डाँफे, गाई, दौरा सुरुवाल, टोपी आदि । यी सबै पहाडिया राष्ट्रवादको परिणाम थिए ।

यद्यपी, पहाडमा पनि निश्चित जात मात्र राष्ट्रियतामा अटे । पहाडिया क्षेत्री बाहुन समुदाय उच्च र श्रेष्ठ ठहरिए, अन्य समुदायका मानिसलाई आत्मसम्मान गुमेको महसुस भइरह्यो । यसले उनीहरुप्रति दोस्रो दर्जाको दृष्टिकोण स्थापित हुनपुग्यो ।  पहाडका नेवार, राई, लिम्बु, गुरुङ, मगर, तामाङका कुनै पनि भेषभुषा, भाषा, संस्कृतिले राष्ट्रियताको स्थान पाएनन् । तराई मधेशका नेपाली रैथाने थारु, मैथिली, भोजपुरी, अवधी भाषा, संस्कृतिले त झन् के स्थान पाउनु !

हिन्दु राष्ट्र नेपाल बनेपछि नेपालभित्रका तमाम धर्म बौद्व, किराँत, बोन, मुस्लिम उस्सै पिछडिए ।  यो राष्ट्रवादले दलितलाई समाजको पिँधमा राख्यो भने आदिवासी जनजाति, मधेसी र पिछडिएका वर्गलाई झनै पछि पा-यो । यो राष्ट्रवादले नागरिकमाथिको विभेद स्थापित गर्न भूमिका खेल्यो । यो बहुसङ्ख्यक नेपालीको प्रगति र विकासमा बाधक बन्यो । तर के गर्नु ? राजा महेन्द्रद्वारा मलजल गरिएको त्यही राष्ट्रवादको भाष्यमा  आजसम्म पनि तात्विक अन्तर आउन सकेको छैन ।

राष्ट्रवाद र देशभक्ति:

राष्ट्रलाई देशको पर्यायवाची शब्द मान्दा राष्ट्रियता देशभक्तिमा परिणत हुने गर्दछ । राष्ट्रियताको प्रादुर्भाव मानव समाज र सभ्यताको थालनीसँगै भएको हो । आफ्नो जन्मभूमिप्रतिको आस्था नै देशभक्ति हो ।

राष्ट्रियता एवम् देशभक्तिले प्रेम, समन्वय र समझदारीमा विश्वास राख्दछ । राष्ट्रियता एवम् देशभक्तिले आफ्नो देशप्रति माया र अरुको देशप्रति सम्मान गर्दछ । देशभित्रका हरेक समुदायका भाषा, धर्म, संस्कृति, रीतिरिवाजको अस्तित्व स्वीकार्नु राष्ट्रियता र देशभक्ति हो । आलोचना सहनु र आत्मालोचना गर्नु असल राष्ट्रियता एवम् देशभक्तिका गुण हुन् ।

हाम्रो देश विविधतामा आधारित छ । त्यसैले हाम्रो राष्ट्रियता १९औँ शताब्दीमा उत्पत्ति भएको युरोपको जस्तो एकल पहिचानभन्दा निकै भिन्न छ ।

हरेक देशको संविधानको प्रस्तावनाले त्यो मुलुकको मूल मर्मलाई समेटेको हुन्छ । हाम्रो संविधानको प्रस्तावनामा लेखिएको पहिलो पङ्क्ति छ, ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ । यस पङ्क्तिभित्र ३ करोड नेपाली अटेका छन् । यहाँ मानिस मात्र हैन, ती मानिसका धर्म, भाषा, संस्कृति अटेका छन् । ती सबै सार्वभौम र स्वतन्त्र छन् र हरेकको स्थान समान छ । कोही राष्ट्रियताको किनार र कोही राष्ट्रियताको केन्द्रमा पनि हुँदैनन् । कदाचित यस्तो चेतना बीजारोपण गरिएको छ भने त्यो नश्लीय चिन्तनको उपज मात्र हो ।

राष्ट्रले परिभाषित गरेको परिभाषाभित्र त्यो राष्ट्रका सम्पूर्ण नागरिकलाई आफू परिभाषित भएको अनुभूति हुनुपर्दछ । हरेक व्यक्तिले आत्मसम्मानका साथ आफ्नो धर्म, भाषा, संस्कृति, रीतिरिवाज स्वतन्त्र र सार्वभौम रुपले अपनाउन पाउनु पर्दछ । त्यो अधिकारको संरक्षण राष्ट्रको मूल कानुन संविधानले गर्दछ । राष्ट्रियताको छानोमुनि दबाब र बलपूर्वक लादिएका सांस्कृतिक चेतनाबाट मुक्त भई स्वतन्त्रताको अनुभूति हुनुपर्दछ ।

खेतमा काम गर्ने किसान होस् या देशको सीमा रक्षा गर्ने सिपाही, कोही कसैलाई राष्ट्रियताको तुलामा मापन गर्न हुँदैन । हरेक नागरिकको राष्ट्र निर्माणमा उत्तिकै भूमिका रहन्छ । राष्ट्रियता निश्चित धर्म, जात, भाषा वा वर्गको मुठ्ठीभित्र केन्द्रीकृत नभई अनेकौँमा विकेन्द्रीकृत हुनुपर्दछ । अद्यपि अन्तर्राष्ट्रिय जगतमा देशलाई चिनाउनका निमित्त सबै समुदायलाई अपनत्व हुनेगरी राष्ट्रिय निसानहरुको निर्माण गर्नु भने फरक सन्दर्भ हो ।

माटोको राष्ट्रियता:

माटोप्रति मानिसको भावनात्मक सम्बन्ध हुन्छ । आफ्नो माटोका हरेक कणमा व्यक्तिको वर्तमान मिसिएको हुन्छ । शासकहरु भने जबजब आफ्नो औचित्य सकिएको चित्कार सुन्छन् तबतब उनीहरु माटोलाई असाध्यै प्रेम प्रकट गरेजस्तो गर्छन् । शासकहरु जबजब भ्रष्टाचारमा चुर्लुम्म डुब्छन्, अनेकौँ काण्ड मुछिन्छन् अनि  ती कर्तुत छोप्न पनि देशको माटोप्रति भावनात्मक अत्याचार गर्दछन् ।

राष्ट्रियताको केन्द्र कुन हो ? माटो हो कि मानिस या यी दुवै हुन् ? खास प्रश्न यो हो । यस प्रश्नको उत्तर खोज्नु पर्ने हो तर हाम्रोमा खोजिँदैन । बरु नौला नौला राष्ट्रवादी नारा घन्किरहेका छन् भने त्यही दुर्गन्धमा मदहोस छन् नेपाली नागरिक पनि ।

हाम्रो राष्ट्रियताभित्र सोलुखुम्बुदेखि पौताला खियाएर बर्दिया पुग्न विवश मजदुरहरुले आफुलाई कहाँ पाउँछन् ? त्यस्तै, रोग र भोकले आक्रान्त भई महाकालीमा हेलिएर नेपाल भित्रिने सुदुर पश्चिमबासीले आफूलाई कहाँ पाउँछन् ? खाडीमा हड्डी घोटेर जवानी साटिरहेको लक्काजवानले या युगौंदेखि समाजमा दलिएका दलितले हाम्रो राष्ट्रियताभित्र आफूलाई कहाँ भेट्छन ? जबसम्म यी प्रश्नहरु मौन बस्छन्, तबसम्म राष्ट्र र राष्ट्रियता पनि जीवन्त हुन सक्दैन ।

अन्धराष्ट्रवाद र अराष्ट्रियता:

अन्धराष्ट्रवाद र अराष्ट्रियता घमण्ड, घृणा र बदलाको भावले बनेको हुन्छ । आफ्नो मात्र राम्रो, आफू मात्र ठीक र अरुका सबै गलत भन्ने धारणामा अडिएको हुन्छ अन्धराष्ट्रवाद । आफूलाई प्रश्न गर्ने जो कोहीलाई अराष्ट्रिय ठान्दछ । आलोचनालाई सहन नसक्नु र आत्मालोचना नगर्नु अन्धराष्ट्रवादका प्रमुख अवगुण हुन् ।

एउटै समुदायको धर्म राष्ट्रिय धर्म, एउटै समुदायको भाषा राष्ट्रिय भाषा, एउटै समुदायको रहनसहन, भेषभुषा, रीतिरिवाज मात्र राष्ट्रिय ठान्नु र अरू समुदायका भाषा, धर्म र रीतिरिवाजलाई अराष्ट्रिय ठान्नु अन्धराष्ट्रवाद र अराष्ट्रियताका उदाहरण हुन् ।

हाम्रो पहाडिया अन्धराष्ट्रवादले दलित परिवारमा हुर्केर मुगुबाट प्रतिनिधित्व गर्ने माननीय झोवा विकले संसदमा नेपाली भाषा फरर्र बोल्न नसक्दा असभ्य देख्छ । रातदिन भारतीय सीमारक्षकको लाठी खाएर देशको रक्षा गरेका निहत्था मधेसी जनतालाई उसको धोती पहिरन र बोलीको हिन्दी लवजका आधारमै देशद्रोही वा भारतीय ठान्छ । दलितलाई मानव नै ठान्दैन, अछुत ठान्छ । जनजातिलाई बुद्धिहीन ठान्छ । केवल पहाडिया क्षेत्री बाहुनलाई र तिनैको भाषा, धर्म, संस्कार र रीतिरिवाजलाई मात्र नेपाली ठान्छ ।

राष्ट्रियता सापेक्ष हुने गर्दछ । यसको भाष्य समय र परिस्थितिअनुसार बदलिनु पर्दछ । सुरुवाती दिनहरुमा राष्ट्रियताको भाष्य निश्चित नश्लमा केन्द्रित रह्यो भने बिस्तारै राज्य नियन्त्रित क्षेत्रको अवधारणासँगै यसको दायरा फराकिलो हुँदै आएको पाइन्छ ।

वर्तमानमा आइपुग्दा केही मुद्दा र घटनाले विश्व मानव समाज एक हो भन्ने प्रमाणित गरेको छ । आज पर्यावरण, प्रविधि र महामारीले समुद्र नभनी, शिखर नभनी, देशको सीमा नभनी समग्र विश्व जगतलाई एक बिन्दुमा उभ्याइदिएको छ । आज हामी एकअर्काप्रतिको साथ, सहयोग र समन्वयमा अडिएका छौँ । त्यसैले मानव सभ्यताको प्रगतिसँगै राष्ट्रियताको परिधि बढाएर जानुपर्ने खाँचो अहिले झन् टड्कारो भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.