शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा ८१ वर्षीया वृद्धाले जितिन् कोरोना

आइतबार, २१ असार २०७७, १९ : २४
आइतबार, २१ असार २०७७

सिरहा । सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छिन् । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आज घर फर्किएकी हुन् । उनीसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् । 

कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किंदा खुशी भएकी उनले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेशनमा बसेकाले कोरोनालाई जितेको बताइन् । घरका सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मण्डललाई पनि सिरहा क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । दुई साता क्वारेन्टिन बसाइका क्रममा गरिएको पिसिआर परीक्षणमा उनमा पनि कोरोना सङ्क्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा राखिएको थियो । 

करिब २० दिनमा दुईपटक स्वाब सङ्कलन गरी गरिएको कोरोना परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई घर पठाइएको आइसोलेशन इञ्चार्ज अरविन्द मण्डलले जानकारी दिए । उनीसँगै सिरहाको चन्द्र माध्यमिक विद्यालय ४९ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेशनबाट १४ जना गरी कूल ६३ जना उपचारपश्चात् निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अब महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेशनमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा २४ जना गरी ४९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप