शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता सहकार्यमा ओलीले मागे देउवाको सहयोग, काँग्रेस बैठकमा देउवाको ब्रिफिङ

आइतबार, २१ असार २०७७, १६ : ४९
आइतबार, २१ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । ओलीले असार १७ गतेले आफैले र आइतबार आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर काँग्रेसको साथ मागेका हुन् । पार्टीभित्र ओलीको राजीनामाको माग बढिरहेका बेला ओलीले काँग्रेससँग छलफल अघि बढाएको खुलेको हो । 

आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे समाचारहरुमा आएको विषयबारे प्रश्न गरेपछिदेउवाले ओलीसँग भएको भेटवारे ब्रिफिङ गरेका हुन् । आइतबार पार्टी कार्यालय सानेमामा दिउँसो ३ बजेदेखि सुरु भएको बैठकमा सुरुमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन कार्यतालिकाकाको बारेमा प्रस्ताव राखेका थिए । 

त्यसपछि नेकपाभित्रको आन्तरिक विवाद र काँग्रेससँग भएको छलफलबारे देउवाले पौडेलको जिज्ञासाअनुसार ब्रिफिङ थालेका थिए । 

सो क्रममा देउवाले नेम्वाङको छलफलबारे आफूलाई भन्दा बढी जानकारी नेता मिनेन्द्र रिजाललाई थाहा भएको भन्दै कुरा सुरु गरेका थिए । उनले बैठकमा भने, ‘मलाई भन्दा पनि बढी जानकारी मिनेन्द्रसँग छ । यसको वातावरण सबै मिनेन्द्रले मिलाउनु भएको हो ।’

उनले ओलीसँग संसद अधिवेशन अन्त्यअघि टेलिफोटमा कुराकानी भएको तथा बालुवाटारमा पनि भेटवार्ता भएको बैठकलाई जानकारी गराएका छन् । 

सो बैठकमा ओलीले पार्टीभित्र समस्या रहेको भन्दै यो अवस्थामा आफूलाई सघाउन देउवासँग आग्रह गरेका थिए । ‘कुराकानीका क्रममा प्रधानमन्त्रीले आफ्नो पार्टीको समस्या पनि राख्नुभयो । तपाईँले साथ दिनुपर्छ पनि भन्नुभएको हो । तर, गणतन्त्रलाई नै खतरामा पार्नेगरी जानुभयो भने त्यो स्वीकार्य हुँदैन भनेर मैले स्पष्ट भनेको छु’, देउवाको ब्रिफिङ उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । 


यस्तै आज पनि नेकपा नेता सुवासचन्द्र नेम्वाङसँग आफ्नो छलफल भएको भन्दै उनले सो छलफलमा पनि नेम्वाङले पार्टीभित्र समस्या देखिएकाले सहयोग मागेको जानकारी गराए । ओलीको निर्देशनअनुसार नेम्वाङले नेता रिजाललाई सम्पर्क गरेर देउवासँग छलफलको चाँजापाँचो मिलेको थियो । 

रिजालसमेत सहभागी सो बैठकमा एमसीसी, नागरिकता विधेयकलगायतको विषयमा पनि कुरा भएको देउवाको भनाइ थियो । एमसीसी पारित हुनुपर्छ भनेर काँग्रेसले निर्णय गरिसकेकाले यसमा अब सरकारले पहल लिनुपर्ने आफूले जवाफ दिएको देउवाको भनाइ थियो । 

केन्द्रीय समिति बैठकअघि सभापति देउवाले पार्टीको संसदीय दलसँग पनि परामर्श गरेको थिए । सिंहदरबार स्थिति काँग्रेस संसदीय दलको कार्यालयमा दलका नेतासँग छलफल गरेपछि देउवा पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकतिर लागेका थिए ।

बैठकमा भएको छलफल उदृत गर्दै देउवाले पार्टीलाई ब्रिफिङ गर्दै भनेका थिए, ‘नेम्वाङजीले पार्टीका नेताहरुले राष्ट्रपतिमाथि नै षड्यन्त्र हुन खोजेको छ भन्दै सहयोग माग्नु भएको थियो । मैले पनि ठट्टाको शैलीमा ओलीले गएको चुनावमा देउवा काँग्रेसबाट अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । ज्योतिषले ७ चोटी प्रधानमन्त्री बन्नुहुन्छ भन्नुभएको थियो । अहिले यस्तो कुरा गर्नुहुन्छ भनेँ ।’

सो क्रममा सत्ता सहकार्यको प्रस्ताव नेम्वाङबाट आएको जानकारी गराउँदै देउवाले यो विषयमा आफूले केही जवाफ नदिएको बताए । नेम्वाङले केन्द्रीय समिति बैठकमा संसद स्थगितको विषयलाई नचर्काइदिन समेत आफूसँग आग्रह गरेको देउवाको भनाइ थियो । 

देउवाको ब्रिफिङ पछि अहिले पार्टी कार्यालयमा काँग्रेस बैठक सत्तारुढ दलबाट आएको प्रस्ताव र महाधिवेशन कार्यतालिकाको विषयमा केन्द्रीत रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप