मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ उद्योग वाणिज्य महासंघको निर्वाचन, उम्मेदवार बन्न ३ लाखसम्म शुल्क !

आइतबार, २१ असार २०७७, १६ : २९
आइतबार, २१ असार २०७७

काठमाडौं । उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन यही साउन २६ र २७ गते काठमाडौंमा हुने भएको छ । यसअघि चैत २८ र २९ गतेको लागि बोलाइएको साधारणसभा कोभिड–१९ का कारण स्थगित भएकोमा साउन २६ र २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेका लागि बोलाइएको हो । असार ८ गते बसेको महासंघ कार्यकारिणी समितिको निर्णयअनुसार महासंघले आइतबार निर्वाचन सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरेको हो । 

उक्त विवरणअनुसार उद्घाटनको दिन अध्यक्षको सम्बोधन गर्ने, वार्षिक प्रतिवेदन प्रस्तुत र अनुमोदन गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्र्तिवेदन स्वीकृत गर्ने तथा आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षण नियुक्त गर्ने र अन्य प्रस्ताव उपर छलफल गर्ने कार्यक्रम रहेको राखिएको छ भने २७ गते वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी सदस्यहरुको निर्वाचनको कार्यतालिका बनाइएको छ । 

त्यस्तो निर्वाचनको लागि मनोनयन दर्ता गर्ने अवधि भने साउन १८ गते बेलुकी ५ बजेसम्मको लागि तोकिएको छ । यसअघि मनोनयन दर्ता गराइसकेकाहरुको हकमा भने नयाँ मनोनयन दर्ता गराउनुपर्ने छैन ।  उक्त साधारणसभामा भाग लिनका लागि प्रतिनिधि शुल्क ४ हजार रुपैंया तोकिएको छ । तर एकै संघका दुई वा सोभन्दा बढी प्रतिनिधि सहभागी भएमा रु १५ सयका दरले प्रतिव्यक्ति थप शुल्क लिइने जनाइएको छ ।

महासंघमा उम्मेदवार हुनेको हकमा भने वरिष्ठ उपाध्यक्षका लागि प्रतिव्यक्ति ३ लाख रुपैंया,उपाध्यक्षका लागि प्रति उम्मेदवार १ लाख ५० हजार रुपैंया र कार्यकारिणी सदस्यका लागि प्रतिव्यक्ति ५० हजार रुपैंया शुल्क तोकिएको छ । उम्मेदवारी फिर्ता लिएपनि सो शुल्क फिर्ता नहुने जनाइएको छ ।

हाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दिएका छन् । चन्द्र ढकालको प्यानलबाट एशोसिएट्सतर्फ रामचन्द्र सांघाई वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला÷नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारीले उम्मेदवारी घोषणा गरेका छन् ।  

किशोर प्रधानको प्यानलका उपाध्यक्षहरुमा एशोसिएट्सतर्फ सौरभ ज्योति, वस्तुगततर्फ अञ्जन श्रेष्ठ र जिल्ला/नगरतर्फ दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप