शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीको पानी सुरुङभित्र पठाइयो

आइतबार, २१ असार २०७७, १३ : ३५
आइतबार, २१ असार २०७७

काठमाडौं । मेलम्ची खोलाको पानी सुरुङभित्र पठाउन सुरु गरिएको छ ।  निर्माण सम्पन्न भएको सुरुङमार्ग विस्तृत परीक्षणका लागि खोलाबाट सुरुङभित्र पानी पठाउन थालिएको मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले रातोपाटीलाई जानकारी दिए । 

आइतबार बिहान साढे ९ बजे खोलामा बाँधिएको अस्थायी बाँधमार्फत सुरुङभित्र पानी पठाउन सुरु गरिएको हो ।  आयोजना प्रमुख  खत्रीका अनुसार सुरुङमा पानी हालेपछि परीक्षण गर्दै सुन्दरीजलसम्म पानी आइपुग्न १५ देखि २० दिन लाग्छ ।  खोलादेखि सुन्दरीजलसम्म सुरुङमा पानी पठाएर क्रमश: परीक्षण हुन्छ  ।

यसैगरी काठमाडौंमा पानी झार्नका लागि झन्डै २ महिनासम्म परीक्षण गर्न समय लाग्ने बताउँदै यो बीचमा सुरुङमा पानी भर्दै खाली गर्दै गर्नुपर्ने र विस्तृत रुपमा जाँच गर्नुपर्ने जानकारी दिए । 

आज सुरुमा खोलाबाट झन्डै १ किलोमिटर सुरुङमार्ग पानीले भरेर अडिट टनेलमार्फत पुन खोलामै पानी झारिँदै छ । खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो । भोलि अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सुरुङमार्गतर्फ पानी पठाइँदैछ । आउँदो पुससम्म खोलामा स्थायी बाँध बाधिसक्ने र त्यसअघि अस्थायी बाँधबाट पानी पठाइने खत्रीले बताए । 

सुरुङको गेट तथा सञ्चालन प्रविधि जडान सम्पन्न गरेपछि पानी पठाएर परीक्षण थालिएको हो । इटालियन ठेकेदार कम्पनीले बाँकी छोडेर गएको काम हाल चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । सो कम्पनीलाई आगामी पुसको दोस्रोसाता भित्र काम सम्पन्न गर्न अन्तिम समयसीमा दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप